काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सहमतिबारे के भन्छन् नुवाकोटका नेताहरु ?

डिसी नेपाल
२२ चैत २०७७ २०:४१

काठमाडौं । नुवाकोटका जनप्रतिनिधि र सरोकारवालाले काठमाडौंको फोहोरमैलाको दिर्घकालिन व्यवस्थापन गर्नको लागि अपिल गरेका छन् । उनीहरुले राज्यले दिर्घकालिन नीति अपनाएर उक्त समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । हिजो भएको सहमतिले दिर्घकालिन समाधान नगर्ने भन्दै उनीहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हितबहादुर तामाङले काठमाडौं उपत्यकाका ४० लाखलाई प्रभावित पार्ने फोहोर मैलाको व्यवस्थापन गर्ने कुरा सानो कुरा नभएको स्पष्ट पारेका छन् । उनले सरकार र सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिबीच भएको सहमति सकारात्मक भएपनि उक्त सहमति आंशिक मात्रै भएको प्रतिक्रिया दिए ।

फोहोरमैला व्यवस्थापन गर्न दिईएवापत स्थानीयले राज्यबाट पर्याप्त राहतसमेत नपाएको उनको गुनासो छ । फोहोरको दुर्गन्धबाट स्थानीयहरुमा रोगसमेत लाग्ने गरेको उनको भनाई छ । समस्याको दिर्घकालिन समाधानको लागि ठोस कदम चाल्नुपर्ने तामाङको भनाई छ । उनले त्यसको लागि विज्ञ सम्मिलित टोली गठन गर्नुपर्नेपनि सुझाए । उनले भने,‘त्यहाँ स्थानीय विकाससम्बन्धी अन्य थुप्रै खालका समस्याहरु छन् ।’

तत्कालका लागि काठमाडौं महानगरपालिकाले गर्नुपर्ने दायित्व वहन पनि गर्नुपर्ने उनले सुनाए । उनले अहिले सबै समस्या समाधान वा हल भईनसकेको पनि जिकिर गरे । उनले हालै भएको सहमति र विगतका सम्झौताहरु अक्षरंश पालना हुने विश्वास दिलाए ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले २०६२ सालमा सरकार र स्थानीयबीच जे सहमति भएको कुरा अहिलेको सहमतिमा उल्लेख नगरिएको गुनासो पोखे । उनले भने,‘हामीले त स्पष्टसँग भनेका थियौं, आन्दोलन गरेका जनतामाथि छारो हाल्ने काम हो भनेर । तर, यसले दिर्घकालिन समाधानको बाटो लिँदैन् । हामीले त्यो दिन निचोड गरेर निस्किएका हौं । तर, भोलिपल्ट त्यही सहमति गरिएछ । ओखरपौवा ल्याण्डफिल्ड साईटका लागि ८ बुँदे सहमति भएको थियो । पहिलो बुँदामा ओखरपौवाबाट गल्छीसम्म कालोपत्रे गर्ने सहमति भयो, १६ वर्ष भयो, आजसम्म त्यो काम हुन सकेको छैन् । तर, आज हामीले केही सम्झौता गरेका छौं । फेरि यो पनि उही पूरानै सम्झौताजस्तै हो ।’

उनले स्थानीय पीडितले पैसा नखोजेको पनि सुनाए । उनले फोहोरको राम्रोसँग व्यवस्थापन नभएको पनि गुनासो पोखे । विगत १६ वर्षदेखि निरन्तर फोहोर फाल्ने काम भएको तर अहिलेसम्म सम्झौता भने कार्यान्वयन नभएको पनि केसीले गुनासो पोखे । उनले स्थानीय जनताले जे चाहन्छन् त्यसमा आफूहरुको साथ रहने विश्वास दिलाए । उनले आफू सडकमा सुत्न तयार रहेको पनि प्रतिबद्धता जनाए ।

सिस्डोल बञ्चरे डाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुंगानाले आफूहरु विगत लामो समयदेखि एउटै समस्याको लागि काठमाडौंका विभिन्न सरोकारवाला निकाय धाएको स्मरण गराए । उनले उक्त समस्याको दिर्घकालिन समाधानको लागि धेरै पहल गरेको पनि सुनाए ।

उनले फोहोरमैलाको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने धारणा राखे । उनले भने,‘अहिले फोहोरको पहाडबाट दुर्गन्ध फैलिएको छ । चिल, गिद्धले गन्ध वस्तु स्थानीयको घरमा लैजाने गरेको छ, यसले मान्छेहरुको रोग लाग्ने खतरा छ । यसमा हामीले ध्यानाकार्षण गराएका छौं । बास्तवमा फोहोरमैलालाई व्यवस्थापन गर्ने समिति नै राज्यमा छैन् ।’ उनले काठमाडौं उपत्यकाको १८ वटा नगरपालिका धाउँदाखेरि एकले अर्कोलाई देखाउने गरेको पनि गुनासो पोखे । र, समस्या अहिले पनि जस्तोको त्यस्तै नै रहेको उनको भनाई छ ।

यसअघि आफूहरुले फोहोर फाल्न रोक लगाएको भएपनि काठमाडौं उपत्यकामा फोहोर बढेपछि र समय पनि चैत्र मास भएकोले संयमतता अपनाएको र पूनः फोहोर व्यवस्थापनको लागि सुचारु गरिदिएको उनले स्पष्ट पारे ।

उनले गत चैत्र २० गते सरकार र आफूहरुबीच सहमति भएको जनाए । प्रभावित क्षेत्रका विद्यालयहरुमा शिक्षकसम्बन्धी तहगत, विषयगत ५१ शिक्षक दिने, त्यसमा पनि नेपाल सरकारले २० वटा दिने, अरु महानगरपालिकाले म्यानेज गरिदिने रहेको छ । त्यस्तै, स्वास्थ्यसम्बन्धी दश दिनभित्र उक्त क्षेत्रमा पन्ध्र बेडको अस्पताल बनाउनेबारे टुँगो लगाउनेपनि रहेको छ । र, अर्को अधिकरणसम्बन्धी ९० दिनभित्र जग्गा नाँपजाँच गर्ने र जग्गाको क्षेत्रफल एकिन गरेर राज्यले खरिद गर्न महानगरले सिफारिश गर्ने पनि अर्को सहमति रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *