एनआरएनए अमेरिकाको चुनाव फेरि विवादमा, साहले टेरेनन् पन्तको निर्देशन

डिसी नेपाल
२७ चैत २०७७ १३:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय कार्यसमिति अमेरिका फेरि अप्रमाणित मतदाता तयार गरी जवर्जस्ती चुनाव गराउन खोजेको विवादमा फसेको छ ।

मतदाता सदस्यहरु बनाउदा आफूखुुसी बनाइएको र सन् २०१९ का दुई हजार ९३ जना फर्जी मतदाता भनी विभिन्न छानविन समितिहरुले किटानी रिपोर्ट दिइएका भए पनि ती सबै फर्जी मतदाता यसपल्ट पनि सदस्य बनाइएकाले सदस्यता प्रमाणीकरण गरेर फर्जी मतदातालाई हटाएर मात्र चुनाव गर्ने दवावमा एनआरएनए अमेरिका छ ।

तर, यस्तो दवावलाई वेवास्ता गर्दै यही मे महिनाको अन्तिम साताका लागि चुनाव गराउने कार्यतालिका प्रकाशन गरेपछि अप्रमाणित सदस्यहरुबाट हुने चुनावको मान्यताबारे प्रश्न पनि उठेको छ ।

जवर्जस्ती चुनाव गराउन खोजेको भन्दै एनआरएनए अमेरिकाकी महिला संयोजक उमा कार्की थापा, आईसीसीका सदस्यहरु प्रमोद सिटौला, होम गौतम, डा.विष्णुमाया परियार, स्वराज खाती, यमुना भट्टराई, डा.हरि दाहाल र पुरुषोत्तम बोहराले एनआरएनए अन्तर्राष्ट्रिय समितिसमक्ष निर्वाचन प्रक्रिया तत्काल रोक्न निर्देशन दिनु हुन भन्दै निवेदन दिएका थिए ।

निवेदकहरुले मतदाता नामावली प्रकाशन गर्नुपर्नेमा प्रमाणीकरण नै नभई निर्वाचन आयोगले निर्वाचनको प्रयास गर्नु दुरासयपूर्ण रहेको, आईसीसीका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा बनेको प्रमाणीकरण कमिटीले काम पूरा नगर्दै निर्वाचनमा जाने गरी अटेर गरेको, आईसीसीको निर्देशनविपरीत निर्वाचन कार्यतालिका प्रकाशन गरेको, अघिल्लो निर्वाचनमै पद र प्रविधिको दुरुपयोग गरेकोमा अमेरिकाको अदालतमै मुद्धा खेपिरहेका प्रमुख निर्वाचन आयुक्तले गराएको निर्वाचन मान्य नहुने जस्ता आधारहरु दिए तत्काल निर्वाचनको प्रक्रिया रोक्न आईसीसीका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका थिए ।

त्यसपछि आईसीसीका महासचिव हेमराज शर्माले हस्ताक्षर गरी एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक निर्देशनात्मक पत्र लेख्दै आईसीसीका निर्णयहरु लागू गर्न र वेवास्ता गरी निर्वाचनमा गए आईसीसीले मान्यता नदिन सक्ने उल्लेख गरे ।

त्यसपछि फेरि आईसीसीका अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा अमेरिकाको सदस्यता प्रमाणीकरणका लागि आईसीसीले बनाएको टोलीका संयोजक सोनाम लामाले अर्को निर्देशनात्मक पत्र लेखेर आईसीसीको प्रमाणीकरण टोलीका संयोजक लामालाई हालसम्म बनाएका सदस्यहरुको विवरण प्रमाणीकरणका लागि तत्काल उपलब्ध गराउन, दर्ता भइसकेका सदस्यहरु पनि आईसीसीको एमआईएस सिष्टममा अनिवार्य दर्ता हुनुपर्ने र सन् २०२१—२०२३ को नयां कार्यसमितिका लागि हुनुपर्ने चुनाव जुलाईभन्दा अगाडि नगर्न भनेका छन् ।

अध्यक्ष कुमार पन्त र महासचिव हेमराज शर्मासमेतले आधिकारिक पत्र लेखेर निर्वाचन जुलाईभन्दा अगाडि नगर्न निर्देशन दिंदादिंदै आईसीसी अमेरिकाको चुनाव भने यही मे २७ तारिकमा गर्ने गरी निर्वाचन कार्यतालिका नै प्रकाशित गरिएको छ । केन्द्रको निर्देशन अटेर गरेपछि आईसीसीको अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले समेत एनसीसी, अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक पत्र लेख्दै अध्यक्ष पन्तको हस्ताक्षरमा अप्रिल ५ तारिक लेखिएको पत्रको कार्यान्वयन गरेर सदस्यता प्रमाणीकरण गर्न र जुलाईमा मात्र चुनाव गराउन भनेका छन् ।

यी सबै निर्देशन, निवदेनहरुलाई बेवास्ता गर्दै एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले चुनाव मे मै हुने र आईसीसीले भनेजस्तो तत्काल साधारणसभा बोलाएर त्यसलाई अमेरिकी कानुनअनुसार प्रमाणित गराई जुलाईमा चुनाव गराउन नसकिने बरु अहिलेकै प्रक्रियाअनुसार गई चुनाव गराएर जुलाईमा हुने साधारणसभामा आईसीसीको निर्देशनअनुसारको प्रस्ताव साधारणसभामा लैजान सकिने जवाफ फर्काएका छन् ।

केन्द्रले विधिविपरीत फेरि धांधली गरेर चुनाव गराउन लागेको भन्दै तत्काल निर्वाचनको काम रोक्न निर्देशन दिने र एनआरएन अमेरिकाले केन्द्रको निर्देशनको पूरै वेवास्ता गर्दै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र मे महिनामै चुनाव गराउने अडान राख्दै काम अघि बढाउने गरेकाले केन्द्र र एनसीसी अमेरिकाबीच तीब्र विवाद देखिएको छ ।

२०९३ जना फर्जी मतदाता तयार गरी चुनाव जितेको आरोप लागेका अध्यक्ष सुनील साहले फेरि पनि ती सदस्यहरु प्रमाणीकरण नगराई चुनाव गराउन खोज्नुको रहस्य के हुन सक्छ ? साह दोहोर्याएर अध्यक्षमा चुनाव लड्दै छैनन् तर उनले आफ्नो समूह बनाएर त्यो समूहबाट अध्यक्षका लागि उमेद्वार उठाएका छन् ।

अध्यक्ष कुमार पन्त ज्यु,
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति ।
बिषयः तत्काल निर्वाचन प्रक्रिया रोक्न निर्देशन गर्न हुन।
अध्यक्ष ज्यु,

संघको जनवरी २३–२४ मा सम्पन्न विशेष महाधिवेशनले संघको मौजूदा विधानलाई संसोधन गरि सर्वसम्मतिले पारित गरेको छ र त्यो लागू हुने अन्तिम चरणमा रहेकै अवस्थालाई जानीबुझी तथा सो अवस्था को बारेमा महासचिव ज्यु ले मार्च २९,२०२१ का दिन आधिकारिक सर्कुलर मार्फत सचेत गराउँदा गराउँदै अटेर गरी एनआरएनए एसीसी अफ यूएसएले निर्वाचनको मिति घोषणा गरेको ले हामी यूएसएबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरु आश्चर्य चकित भएको छौ, हामी हाम्रो विधानलाई सर्वोपरि ठान्दै तत्काल एनआरएनए एसीसी अफ यूएसएको निर्वाचन तत्काल गर्नु पर्ने निम्न कार्यहरु सम्पन्न नहुँदा सम्म निर्वाचनको सम्पुर्ण प्रकृया रोक्न हार्दिक अनुरोध गर्दछौ ।

(क) निर्वाचनका लागि सर्वप्रथम मतादाता नामावली सार्वजनिक गर्नु पर्नेमा अहिले सम्म भेरीफाईकै प्रकृयामा रहेको मतदाता सूची भेरीफाई नभै सक्दा सम्म प्रकशित गर्न मिल्दैन। सुचि प्रकाशित नगरिकनै निर्वाचन आयोगले मनोमानी ढंगले निर्वाचन गराउने प्रयास गर्नुमा बिल्कुलै दुरासय देखिन्छ यस्तो हतारो किन ?

(ख) आईसिसिले लामो समय देखि अमेरिकामा सदस्यता वितरण र त्यसको पारदर्शिताको विषयमा जनमानस र अभियंताहरुले प्रश्न खडा गरेका कारण थप पारदर्शि बनाउन र बनेका सदस्यहरुलाई आईसिसिको केन्द्रीय प्रणालीमा समायोजन गर्न संघका उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा गठित आईसिसि पदाधिकारीहरुनै रहेको समिति घोषणा गरि सकेको परिपेक्षमा सदस्यता भेरिफिकेसन कार्य सम्पन्न नहुँदै कसरी निर्वाचन प्रक्रिया शुरु हुन्छ ? आईसीसी संग अटेर किन ? त्यसको जानकारी सम्पुर्ण एनआरएन मतदाताको थाहा पाउने अधिकारको सुनिश्चित हुन जरुरी छ कि छैन ?

(ग) एनआरएन अमेरिकाले आईसिसिको विशेष महाधिवेसनबाट पारित विधानको दफा २४(१) अनुसार राष्ट्रिय महाधिवेशन जुलाई महिनाको १ देखि ३१ तरिखसम्म सम्पन्न गर्ने भन्दै संसारभरको एनसिसिलाई दिइएको निर्देशन पालाना नगरेकोले यसरी गर्न लागिएको निर्वाचन आईसिसिबाट मान्य नहुने हुँदा हुँदै पनि के को आधारमा निर्वाचन तालिका सार्वजनिक गरिएको हो ?

(घ) अमेरिका जस्तो देशमा रहेर पनि अघिल्लो राष्ट्रीय निर्वाचन पारदर्शि नगरिएको ,प्रविधिको तथा पदको दुरुपयोग गरिएका कारण अदालतमा मुद्दा खेपिरहनु भएका प्रमुख निर्वाचन आयूक्तको नेतृत्वमा हुन लागेको निर्वाचन कसरी कानुनत मान्य हुन सक्दछ ?

त्यसैले यी माथी उल्लेखित कुराहरु स्पष्ट रुपमा निराकरण नगरिय सम्म निर्वाचन गर्ने कुरा आफैमा हास्यास्पद छ।यि कुराहरु छिटो भन्दा छिटो निराकरण गर्न र गराउन हामी जोडदार माग गर्दछौ ।

१. उमा कार्की थापा – महिला संयोजक
आइसीसी सदस्यहरु :
२. प्रमोद सिटौला
३. होम गौतम
४. डा. विष्णुमाया परियार
५. स्वराज खाती
६. यमुना भट्टराई
७. डा. हरी दाहाल
८. पुरुषोत्तम बोहरा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *