गैरआवासीय नेपाली ऐन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डिसी नेपाल
३१ चैत २०७७ १५:०१

काठमाडौं । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैर आवासीय नेपाली ऐनको सम्बन्धमा प्रवासी नेपाली एकता मञ्च बेलायतले नेपाल सरकारका आधिकारिक व्यक्तित्वहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल सरकारले गैर आवासीय नागरिकता ऐन तयार गरी सम्बन्धनका लागि संसदमा दर्ता भइसकेको अवस्थामा प्रवासी नेपाली एकता मञ्च बेलायतले नेपाल सरकारका आधिकारिक व्यक्तित्वसंग आइतबार अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोख्रेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव हेमराज शर्मा तथा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ प्रमुख अतिथी एवं विशेष अतिथीका रूपमा उपस्थित थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली ऐन बनाउन सुरुदेखि नै खटिरहेका पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले गैर आवासीय नेपालीप्रति सम्मान व्यक्त गर्दै ऐनका लागि कुनै पनि बाधा नभएको बताए । उनले कहीं कतै बाधा भए सुझाव दिन अनुरोधसमेत गरे ।
पछिल्लो समयमा सरकारकै तर्फबाट ऐन बनाउने काममा लागेका कानूनबिद कृष्ण भक्त पोख्रेलले पनि गैर आवासीय नागरिकलाई आर्थिक, सांस्कृतिक एवं सामाजिक अधिकारसहितको नागरिकता दिइएको स्मरण गरेका थिए भने एनआरएनए केन्द्रिय महासचिव हेमराज शर्माले सांसदमा दर्ता भएको ऐनबारे बुंदागत रूपमा ब्याख्या गर्दै आफ्नो सुझाव दिए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पूर्जा र नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी गौरिका सिंहलाई सम्झंदै नेपालले पाठ सिक्नु पर्ने बताइन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाल सरकारले आगामी बजेट भाषणका बेला उक्त ऐन पारित गर्ने भएकाले गैर आवासीय नेपालीलाई आफ्ना धारणा तथा असन्तुष्टि भए शेरबहादुर तामाङ तथा कृष्ण भक्त पोख्रेललाई जानकारी दिन अनुरोध गर्दै सबै गैर आवासीयलाई ढुक्क रहन आग्रह गरे ।

कार्यक्रममा अमेरिका, जापान, हङकङ, इजरायल, अष्ट्रेलिया, यूएई, बेल्जियम, पोर्चुगल, अष्ट्रिया, डेन्मार्क, पोल्यान्ड, चेक रिपब्लिक आदि देशबाट पनि एनआरएनए राष्ट्रिय समिति अध्यक्ष एवम् प्रवासी नेपाली एकता मञ्चका प्रमुखहरु सहभागी थिए ।

कार्यक्रममा बेलायतमा रहेका सामाजिक अगुवाहरुको पनि उपस्थिति थियो । प्रवासी एकता मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो कार्यक्रमका लागि महासचिव सुरेश जङ्ग साहले कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *