१५ वर्ष जागिर गर्दा केही कमाइ भएन, सडकमा चिया बेचेर मालामाल

रिता बस्नेत
१ वैशाख २०७८ १२:३२

काठमाडौं। ‘ए हजुर यहाँ बस्नु भएकाहरुलाई तपाईँको तर्फबाट चिया खुवाउनु हुन्छ ?’, भन्दै एक महिलालाई सोध्दै थिए न्यूरोडस्थित संकटा मन्दिरनेर भेटिएका एक चिया व्यापारी। ती महिलाले सहमति जनाएपछि उनी त्यहाँ भिख माग्न बसेका सबैलाई चिया दिँदै भन्न थाले, ‘उहाँले तपाईँहरुलाई चिया खुवाउनु भएको हो है।’

दुई वटा चिया राखेको थर्मस र एउटा झोला हातमा झुण्ड्याएका उनी प्रायलाई चिया खानु हुन्छ भन्दै चियाको थर्मस डुलाउँदै हिँडिरहेका देखिन्थे। सात वर्षदेखि काठमाडौंका मन्दिर–मन्दिरमा गएर चिया बेच्दै हिँड्ने उनी रहेछन् दोलखाको विदुर गाउँपालिकाका जंगबहादुर खड्का।

उनले गरिरहेको कामबारे डिसी नेपालले सोध्दा उनले भने, ‘अहिले मैले यो काम गरेको सात वर्ष भयो। यो व्यवसायबाट सन्तुष्ट छु, राम्रो छ। पाँच जनाको परिवार पालेको छु। श्रीमती पनि चिया बेच्ने काम गर्छिन्। मेरा दुई छोरा र एक छोरी छिन्। ठूला छोरा र छोरी सरकारी कलेजमा ११ मा पढ्छन्। कान्छो छोरा साइबाबा बोर्डिङ स्कुलमा पढ्छ।’

यसअघि हरेक किसिमका काम गरे पनि चिया बेचेजस्तो कमाइ नभएको बताउने उनी भन्छन्, ‘हरेक गरियो काहीँ केही उपाय भएन। भारतको सिक्किम गइयो। त्यहाँ दुई वर्षजति भारी बोक्ने काम पनि गरियो, धेरै दुःख पाइयो, तर पैसा कमाइ भएन।’

व्यवसायी खड्का २०५४ सालमा एसएलसी दिएर जन्मघर छोडी कमाउन हिडेका रहेछन्। त्यतिबेलादेखि नै सानोतिनो काम गर्दै हिँडेको बताउने उनले सुन्धराको एक गेष्टहाउसमा १५ वर्षसम्म खाना पकाउने काम गरेका रहेछन्। उनी भन्छन्, ‘अहिले १५ वर्षसम्म काम गरेको ठाउँको मान्छेलाई फोन गर्यो भने उठाउँदैनन्, वास्ता गर्दैनन्। अर्काको काम गर्नु बेकार रहेछ। सानै भए पनि आफ्नै काम गर्नु पर्ने रहेछ। अर्काको काम गर्यो भने अर्कैलाई हुने रहेछ। धेरै दुःख गर्यो, खाना पकाइयो, रातको १२ बजेसम्म पनि काम गरियो। अहिले आफूलाई दुःख परेको बेलामा कसैले हेर्दो रहेनछ।’

‘१५ वर्षसम्म एउटै होटलमा खाना पकाउने काम गरे, एकै रुपैयाँ कमाएर बचाउन सकिएन’,उनी भन्छन्, ‘जब एक आगनमा टेक, जब १० खेल्नमा रस, जब २० जवानीको रस, जब ३० दाजुभाइको रिस, जब ४० छोराछोरी पालिस, जब ५० कानमा पतास, जब ६० हातमा लाठ्ठी, जब ७० मजेरीमा तसरी, जब ८० ओछ्यानमै बसि, जब ९० हव्य न कव्य।’

मान्छेको जन्मदेखि मृत्युसम्मको चोलासम्बन्धमा गीत गाएर सुनाउने उनी थप्छन्, ‘भनेजस्तो मेरो त्यो बेलाको उमेर त्यत्तिकै खेर गयो, बैसमै गयो । त्यति बेला ओहो के के न होला भनेर रक्सी खाने, मासु खाने, साथीहरु बटुलेर हिड्ने गरेर बिग्रिए । अहिले त्यतिबेलाका साथीहरु कहाँ पुगे के भए पत्तो छैन। त्यतिबेला उनीहरुलाई नै खुवाउने, खाने गरेर आफ्नो जिन्दगी त्यतिकै बर्बाद भयो।’

४२ वर्षीय खड्का गएको आफ्नो उमेरको कमाइ, गराई आदिलाई लिएर विस्मात मान्दै भन्छन्, ‘त्यस्तो गर्नु हुँदैन थियो। मेरो बुद्धि फुस्कियो, आज मसँगैका साथीभाइहरु कार चढेर हिँड्छन्। मेरै घरमा १० रुपैयाँ लिएर कोदो बोक्ने काम गर्न आउनेहरु अहिले कार चढ्ने भएका छन्, काठमाडौंमा घर छ। आफू भने थर्मश बोकेर हिड्नु परेको छ, दुःख लाग्दो जिन्दगी छ। के गर्ने छोराछोरीको लागी गर्नै पर्यो।’

उनी गफिँदै गर्दा घरिघरि कुराकानीसँग मिल्दोजुल्दो गीत गाउन थालिहाल्थे। ‘सम्पत्तिमा सबैको हाइहाइ बिपत्तिमा हुँदैनन् दाजुभाइ …..’ गीत दुई पटक दोहोर्याएर गाएपछि उनी भन्छन्, ‘कार चढ्ने साथीहरु अहिले देखे पनि नदेखे जस्तो गर्छन्, बोल्दैनन्। सम्पत्ति भए सबैले गन्ने रहेछन्। मान्छेको लागि बाचुन्जेल सबैभन्दा ठूलो सम्पत्ति नै रहेछ।’

छिनमै चित्त बुझाउँदै उनी थप्छन्, ‘तर, मेरो विचारमा सबभन्दा ठूलो भनेको जन्म दिने बुबा आमा र जन्म दिने भूमि नै स्वर्गभन्दा पनि ठूलो हुन्छ जस्तो लाग्छ।’

बारम्बार १५ वर्ष होटलमा काम गरेको समय खेर गएको भन्दै विस्मात मान्दै उनी भन्छन्, ‘बुद्धि भने पछि आउछ, वैस भने अगाडि आउछ भन्छन्।’ उनले अहिले गरिरहेको चिया व्यापार भने काठमाडौंमै बस्ने एकजना दिदीले सानो व्यापार भए पनि आफ्नै गर्नुपर्छ भनेकाले गरेको बताउँछन्।

अहिले परिवारसहित हनुमान ढोका नजिकै १२ हजार रुपैयाँ तिरेर दुई वटा कोठा भाडामा लिएर बसेको बताउने उनी भन्छन्, ‘बिहान–बिहान सुन्धारा, न्यूरोड, भोटेवहाल, संकटा मन्दिरमा गएर चिया बेच्छु।’

कुन मन्दिरमा कुन बार बढी भिड हुन्छ त्यो दिन उनी त्यहाँ चिया बेच्न पुगिहाल्दा रहेछन्। उनी भन्छन्, ‘अहिले बिहान दुई थर्मश चिया बेच्छु । पहिला त पाँच–छ थर्मश बेचिन्थ्यो। अहिले त मान्छे धेरै भए, व्यापारी पनि धेरै भए। त्यसले गर्दा बिहान दुई भाडा बेच्छु, दिउँसो १० बजेपछि ताम्राकार हाउस, न्यूरोड, आरबी कम्प्लेक्स तिर जान्छु। बिहानदेखि बेलुका ७ बजेसम्म यो व्यापार गर्छु।’

अहिले उनले चिया बेचेर कम्तिमा पनि दिनको एक हजार रुपैयाँ बचाउदा रहेछन्। उनी भन्छन्, ‘दुई थर्मश चिया बेच्यो भने चार सय फाइदा हुन्छ। दुईवटा थर्मशमा २५–२५ गरी ५० कप चिया अट्छ। एउटामा कालो चिया र अर्कोमा दुध चिया हो। पहिला–पहिला त धेरै बेचिन्थ्यो, अहिले दिनको आठ थर्मस बेच्छु। खाना खाजा खाएर सबै कटाएर दिनको एक हजार फाइदा हुन्छ। श्रीमतीले पनि त्यत्तिनै कमाउछिन्।’
चिया बेचेर धेरै प्रगति भएको सुनाउँदै उनले चिया बेचेरै गाउँमा एउटा पक्की घर बनाएको सुनाए। उनी भन्छन्, ‘२० लाख खर्च गरेर घर बनाएको छु । छोराछोरी पढाइराखेका छौं, शेयरमा लगानी गरेका छौं । दोलखाको तामाकोशीलगायत चार ठाउँमा शेयर छ।’

आफ्नो परिवार सुखी र खुसी भएको बताउने उनी अहिले भने छोराछोरी ठूला भएकाले यसरी चिया बेच्नु भन्दा पसल खोलेर बस्न आग्रह गरेको बताउछन्। उनी भन्छन्, ‘छोराछोरीले त हामीलाई अचम्मै माया गर्छन्। तर उनीहरु यसरी चिया नबेच्नु, पसल खोल्नु पर्यो भन्छन्। साथीहरुले देख्दा लाज हुन्छ भन्छन्।’

पशुपतिमा मेला लागेको बेलामा, जात्रामा, जुलुसमा, आन्दोलनमा गरी विभिन्न भिडभाड भएको ठाउँमा गई चिया बेच्ने गरेको बताउने उनी भन्छन्, ‘यो भन्दा अगाडि काफल, बदाम हरेक बेचे तर केहीले पनि फाइदा भएन। चियाले मात्र मलाई फाप्पो।’

उबेला छेउमै आएर एक जना दाजु पर्नेले मेरो जस्तो ज्याकेट लगाउने कस्को हैसियत छ भन्दै हेपाहा प्रवृतिमा भनेको कुरा सम्झिने गरेको बताउने उनले उज्यालो अनुहार बनाउँदै गर्वका साथ भने, ‘अहिले त त्यसको भन्दा महङ्गो ज्याकेट लगाउने मेरो क्षमता छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *