कुमार पन्तको काइते पत्रपछि एनआरएनए अमेरिकामा चुनावी रन्को

डिसी नेपाल
४ वैशाख २०७८ १०:४९

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको चुनावको रन्कोले अमेरिकावासी नेपाली समाजलाई तताउन थालेको छ । एनआरएनए अन्तर्राष्टिय समितिले विशेष अधिवेशन बोलाएर विधान संशोधन गरेरमात्रै चुनाव गराउन पटक पटक निर्देशन दिदै आएकाले अलमलमा परेका एनआरएनए अमेरिकाका नेताहरु अन्तर्राष्टिय समितिका अध्यक्ष कुमार पन्तको एउटा काइते पत्रपछि निर्वाचनमा होमिएका छन् ।

पन्तले एनआरएनएको विधानबमोजिम ५ प्रतिशतभन्दा बढी साधारण सदस्यले विशेष अधिवेशन माग गरेमा कार्यसमितिले विशेष अधिवेशन बोलाउने छ भन्ने प्रावधानअनुसार, ८ प्रतिशतभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गरेकै अवस्थामा घुमाउरो पाराले जुलाईमा नियमित अधिवेशन गर्दा केन्द्रका निर्देशनहरु कार्यान्वयन गर्न भन्दै एनआरएनएका अध्यक्ष सुनील साहलाई पत्र लेखेका छन् । अप्रिल १३, २०२१ का दिन लेखेको सो पत्रको बुंदा नै ४ ले यसअघि आफैंले दिंदै आएको निर्देशनलाई काटिदिएको छ ।

सयौंले माग गरिसकेको अवस्थामा विशेष अधिवेशन बोलाएर विवादित विषयहरु टुंगो लगाएपछि जुलाईमा निर्वाचन गर्ने केही हप्ताअघिको उनको आफ्नै निर्देशनलाई काट्दै १३ अप्रिलको पत्रमा जुलाईको पहिलो साता हुन गइरहेको एनआरएनए अमेरिकाको साधारणसभामा केन्द्रले पारित गरेका विधानका विषयलाई एनआरएनए अमेरिकाको नियमावलीमा समावेश गर्न भनिएको छ ।

यसअधिका तीनवटा बुंदामा सदस्यता एमआईएस सिष्टममा चुनावअधि नै लैजानु पर्ने, डेलिगेटको छनौट र आईसीसी सदस्यको चुनाव एनआरएनए केन्द्रले पारित गरेको विधानअनुसार हुनैपर्ने कुरा उल्लेख गरिएका छन् । तर, चौथो बुंदाले यी कुराहरु नियममा दर्ज गर्न अनिवार्य हुनुपर्ने साधारणसभा भने जुलाईमा गर्न स्वीकृति दिइएको छ । फर्जी मतदाताजस्तो गम्भीर विषयमा प्रमाणीकरण गर्न केन्द्रबाट गठित समितिले काम पनि शुरु गर्न नसकेको अवस्थामा फर्जी भनिएका मतदाता नै लिएर एनआएएनए अमेरिकाको मे महिनाको अन्तिम साताका लागि निर्वाचन घोषणा भइसकेको छ ।

निर्वाचन रोकेर विशेष साधारणसभा गर्नै पर्ने निर्देशनबाट अध्यक्ष पन्त यसरी काइते पाराले वाहिरिएपछि एनआरएनए अमेरिकाको नेतृत्व गर्न तयार भएका समूहहरु ऋाआफ्नो चुनावी दौडाहामा सक्रिय हुन थालेका छन् ।

निर्वाचनको रन्कोले प्यानल प्यानल नै घोषणा गरेर अमेरिकाका ठूला शहरहरुमा नेपाली समुदायसामु अध्यक्षका उमेद्वारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । जसअनुसार, अध्यक्षका प्रत्यासी कृष्ण लामिछाने र बरिष्ठ उपाध्यक्षका प्रत्याक्षी कृष्णजीवी पन्थको समुहले अमेरिकाको राजधानी क्षेत्रका राज्यहरु भर्जिनिया र मेरिल्याण्डको बाल्टिमोर शहरमा उम्मेद्वार घोषणा सभा गर्ने भएका छन् । लामिछाने र पन्थ समूहले भर्जिनियामा अप्रिल १७ तारिक र मेरिल्याण्डको बाल्टिमोरमा अप्रिल १८ तारिकका दिन उम्मेद्वारी घोषणा सभा गर्ने भएका छन् ।

यी दुबै सभामा अध्यक्षका उम्मेद्वार लामिछाने, बरिष्ठ उपाध्यक्षका उम्मेद्वार पन्थ, महासचिवका प्रत्यासी विनोद भट्ट र बोर्डअफ डाइरेक्टरका प्रत्यासीहरु अशोक केसी तथा पूर्णसिंह बराइलीलगायतले आ आफ्ना धारणा राख्ने भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *