लुम्बिनीमा उल्टियो समीकरण, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद मन्त्री बन्दै

डिसी नेपाल
६ वैशाख २०७८ १६:३३

काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद मन्त्री बन्ने भएका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी मन्त्री बन्ने भएका छन् । यससँगै सोही पार्टीकी कल्पना पाण्डेलाई पनि मुख्यमन्त्री पोखरेलले मन्त्री बनाउने तयारी गरेका छन् ।

कल्पना पाण्डेले भने यसअघि पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् । माओवादी केन्द्र, कांग्रेस र जसपाका ४१ जना सांसदले हस्ताक्षर गरेर आजै बिहान अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । दिउँसो अचानक समीकरण बदलिएपछि जनता समाजवादी पार्टी मुख्यमन्त्रीको पक्षमा पुग्यो । प्रदेशमा जनता समाजवादी पार्टीका ६ जना सांसद छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीका २ मन्त्रीले आजै राजीनामा दिएका थिए । सोही मन्त्रालयमा २ जनालाई मन्त्री बनाउने । एउटा मन्त्रालय टुक्र्याएर एक जनालाई व्यवस्थापन गर्ने र एक जनालाई राज्यमन्त्री बनाउने तयारी छ । यी चारैजना मन्त्रीलाई सोमबार नै शपथ खुवाउने तयारी गरिएको छ ।

यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए । कुलप्रसाद केसी मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने दौडमा होमिएका थिए । अविश्वासको प्रस्तावमा केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन् । यहाँ नयाँ सरकार बनाउन बहुमतको लागि ४३ प्रदेशसभा सदस्य चाहिन्छ । सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *