लुम्बिनीमा नाटकीय राजनीतिक घटनाक्रम, अविश्वास प्रस्ताव ल्याउने ४ जना मन्त्री बने

डिसी नेपाल
६ वैशाख २०७८ १७:१५

काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जना सांसद मन्त्री बनेका छन्। माओवादी केन्द्र र काँग्रेसको अगुवाइमा सोमबार नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो। सो अविश्वास प्रस्तवमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी मन्त्री बनेका छन्। जसपाकी कल्पना पाण्डे पनि मन्त्री बनेकी छन्। उनले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन्।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले शथप ग्रहण गराएका छन्।

अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शंकर पोखरेलको सरकार संकटमा पर्ने अनुमान गरिएको थियो। तर, एकाएक भएको नाटकीय राजनीतिक घटनाक्रमले उनको सरकार हाललाई जोगिएको छ। दिउँसो अचानक समीकरण बदलिएपछि जनता समाजवादी पार्टी मुख्यमन्त्रीको पक्षमा पुग्यो। प्रदेशमा जनता समाजवादी पार्टीका ६ जना सांसद छन्।

अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीका २ मन्त्रीले सोमबार नै राजीनामा दिएका थिए। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए। कुलप्रसाद केसी मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री बन्ने दौडमा होमिएका थिए। अविश्वासको प्रस्तावमा केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशसभामा कूल ८७ सदस्य हुन्छन् तर माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका दुई सांसद निलम्बित भएकोले ८५ सदस्य कायम छन्। यहाँ नयाँ सरकार बनाउन बहुमतको लागि ४३ प्रदेशसभा सदस्य चाहिन्छ। सबैभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *