सैनिक कमाण्ड तथा स्टाफ तालीममा नेपालसहित ११ देशका सैनिक अधिकृत शिक्षार्थी

डिसी नेपाल
६ वैशाख २०७८ २३:४५

काठमाडौं। सैनिक सेवामा उच्च तहमा पुग्न अनिवार्य मानिएको २८औं समूहको कमाण्ड तथा स्टाफ तालीम शुरुभएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबार आयोजित कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले तालीम शुभारम्भ गर्दै सफलताका लागि शुभकामनाा व्यक्त गरे। सो अवसरमा तालीममा सहभागी विदेशी शिक्षार्थीबाट कलेज परिसरमा आआफ्नो देशको झण्डोत्तोलन गरिएको थियो।

मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालीममा नेपाली सेनाका ५ महिलासहित ५९ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका एक÷एक शिक्षार्थी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विसं २०४९ पुसमा स्थापना भएको उक्त कलेजबाट हालसम्म सेनाका ९८१, विदेशी ८९, नेपाल प्रहरीका १२, सशस्त्र प्रहरी बलका २४, राष्ट्रिय अनुसन्धान विभागका १५ र रक्षा मन्त्रालयका एक गरी एक हजार १२२ शिक्षार्थी अधिकृत दीक्षित भइसकेको जानकारी दिइएको छ। कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले कोभिड–१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *