घमाइलो मौसममा रमाइलो दसैँ

डिसी नेपाल
६ कार्तिक २०८३ १४:२८
4
Shares

काठमाडौं। दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला रु दसैँ आउनुअघिका सातामा लगातार परेको पानीले उनको मनमा आशङ्का उब्जाएको थियो।

कतै बाटो बिग्रिने हो कि, कतै यात्रा नै कष्टकर हुने हो कि १ विगतका दसैँमा झरीले दिएको सास्ती सम्झँदा यसपालि पनि घर जाने यात्रा सहज होला भन्नेमा उहाँ ढुक्क हुन सकेकी थिइनन्

दसैँ नजिकिँदै जाँदा मौसम खुल्यो। आकाशमा घाम लाग्यो। दिन उज्यालो हुँदै गए। दसैँ मा घर जाने बाटो सहज हुने भएपछि राईको मन फुरुङ्ग भयो। ‘प्रायः दसैँ मा र दसैँको अघिपछि वर्षा हुँदा जानआउन नै सास्ती खेप्नुपथ्र्यो। यस पटक त त्यस्तो भएन, रमाइलो लागिरहेको छ,’ उनी भन्छिन्, ‘दसैँमा खुलेको मौसमले मन रमाउनुका साथै आवतजावतका लागि बाटो सहज हुने रहेछ।’

चाडपर्व घर फर्किने बहाना पनि हुन्। आफन्त र प्रियजन भेट्ने मौका पनि हो। त्यसमाथि घमाइलो मौसममा रमाइलो गरी यात्रा गर्नुको मज्जा बेग्लै हुन्छ। दसैँमा घाम लाग्नु र पानी पर्नु सामान्य मौसमी घटना जस्तो देखिए पनि घर जाने तयारीमा रहेका मानिसका लागि यसको अर्थ बेग्लै हुन्छ। मौसमले कयौँका चाडपर्व मनाउने उत्साह र योजनालाई प्रभावित पार्छ।

सिन्धुलीका अमित तिमिल्सिनाले भने यसपटकको दसैँ उपत्यकामै बिताए। अघिल्लो वर्षको दसैँमा परेको झरीले दिएको सास्ती उहाँको मनमा ताजै थियो। त्यसैले यसवर्ष पनि त्यस्तै अवस्था दोहोरिनसक्ने अनुमान गर्दै उहाँले घर जाने योजना बनाएनन्।

‘यसवर्ष पनि झरी पर्‍यो भने सास्ती खेप्नुपर्ला कि भनेर उपत्यकामै बस्ने योजना बनाएँ तर अहिले दसैँको मौसम राम्रो भएपछि घर जानुपर्ने रहेछ भन्ने लागिरहेको छ,’ उनी भन्छन्।

तिमिल्सिना जस्तै घर जाने इच्छा हुँदाहुँदै पनि बाटोको अवस्था र वर्षाको सम्भावनाले निर्णय लिन कठिन हुने अन्य थुप्रै पात्र छन्। जो उपत्यकामा अध्ययन र जागिरेको सिलसिलामा बस्न बाध्य छन्। उनीहरूलाई यसपटकको दसैँमा आकाश खुलेर र मौसम घमाइलो भएपछि उपत्यका नबाहिरिएकोमा पछुतो छ।

ललितपुरको गोदावारीकी कृतिका घिमिरेलाई भने यसपटक उपत्यका बाहिरको यात्रा गर्नुपर्ने थिएन। उनका लागि दसैँमा मौसम खुल्नुको अर्थ केही फरक थियो।

उपत्यकाभित्रै आवतजावत गर्न पनि वर्षाले असहज बनाउने अनुभव उनीसँग छ। झरी परेका बेला बाटो हिलो हुने, सवारीसाधनमा यात्रा गर्न कठिन हुने र दैनिक कामकाजसमेत प्रभावित हुने भएकाले मौसम सफा हुँदा सहज महसुस हुने घिमिरे बताउँछिन्।

यसरी हेर्दा दसैँको मौसमले उपत्यका छाडेर घर जाने यात्रुलाई मात्र होइन, यहीँ बसेर चाडपर्व मनाउनेलाई पनि प्रभाव पार्छ। घाम लाग्दा बाहिर निस्कन, आफन्त कहाँ जान र दसैँको चहलपहलमा सहभागी हुन सहज हुन्छ। मौसम अनुकूल हुँदा सहरको दैनिकीसमेत केही सहज र उल्लासमय बन्छ।

गोदावरीकै कर्ण घिमिरेको अनुभवमा भने दसैँ र मौसमबीचको सम्बन्ध लामो समयदेखि देखिँदै आएको छ। उमेरले आठ दशक पार गरिसकेका उनले जीवनमा धेरै दसैँ मनाए। घिमिरेको सम्झनामा ढिलो गरी आउने दसैँमा प्रायः मौसम राम्रो हुने र छिटो आउने दसैँमा झरी पर्ने गरेको छ।

‘पहिलापहिलाका अग्रजले पनि छिटोभन्दा दसैँ त ढिला आएको जाति हुन्थ्यो, बर्खे दसैँ त रमाइलो नै हुन्न भन्नुहुन्थ्यो। मेरो पनि सोही अनुभव छ,’ उनी भन्छन्।

दसैँको मौसम सधैँ एउटै हुँदैन। गतवर्ष दसैँको रमझम सकिनै बाँकी थियो। हजारौँ सर्वसाधारण दसैँ मनाउन आफ्नै गाउँ फर्किएका थिए। निधारमा रातो टिका, जमरा लगाएर ओहोरदाहोर गर्ने क्रम जारी नै थियो। आफन्तको टिका थाप्न जानै बाँकी नै थियो।

यही चाडपर्वको उल्लासमय समयमा आएको एउटा सूचनाले आम सर्वसाधारणलाई झस्कायो। नेपाल मौसम विज्ञान विभागले गत वर्ष असोज १७ देखि २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने, बाढी–पहिरोको समेत जोखिम रहेको भन्दै जो जहाँ छ, उही सुरक्षित रहन सन्देश जारी गर्‍यो ।

त्यसपछि अन्य अन्तरसरकारी निकायले विभागको सूचनालाई अनुसरण गर्दै विपद् व्यवस्थापनको पूर्वतयारीका लागि जुट्न थाले। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले लामो दूरीका तथा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधन आवागमन आगामी तीन दिनसम्म रोक्ने निर्णय गर्‍यो।

उक्त निर्णयपछि उपत्यका छाडी गाउँ जाने बिचल्लीमा परे। सवारी साधन आवागमन बन्द हुँदा कैयौँ सर्वसाधारणले आफन्तजनको हातबाट टिका लगाउन पाएनन्।

यसवर्षको दसैँकै अवधिमा वर्षाजन्य कुनै पनि विपद् नभएकोमा खुसी हुनुहुन्छ, प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती।

‘गतवर्ष जस्तो वर्षा नभएकाले आवातजावतमा खासै समस्या भएन, वर्षाकै कारण कुनै विपद् भाग्नुपरेन,’ उनी भन्छन् , ‘यद्यपि गत भदौ १० को रसुवा भोटेकोशी र असोज २५ को गोरखा बुढिगण्डकी बाढीले दिएको विपद्को पीडा भने बाँकी नै छ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता नरेशराज सुवेदीले यस वर्ष दसैँमा वर्षा नभएका कारण सडक अवरुद्ध हुने, ट्राफिक चापको समस्या हुने, बाटो हिलो भएर सवारी साधन आवतजावतमा समस्या हुने जस्ता चुनौती नभएको बताए।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले यस वर्ष घमाइलो मौसमका कारण सोचेभन्दा बढी सर्वसाधारण उपत्यका बाहिरिएको जानकारी दिए।

‘यस वर्ष भोटेकोशी र बुढिगण्डकी बाढीको विपद्ले दिएको पिडा, सडकको अवस्थाले मानिस उपत्यका छाडेर बाहिरिनेको सङ्ख्या सात लाख हाराहारीमा होला भन्ने सोचेका थियौँ तर ११ लाख हाराहारी बाहिरएका छन्,’ उनले भने।

मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभाव नहुँदा अनुकुल मौसम

यसवर्ष पनि दसैँअघि नै सर्वसाधारणले दसैँको मौसम कस्तो हुन्छ भनेर फोन गर्ने गरेको बताउँछन्, नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकाल।

‘दसैँमा मौसम कस्तो रहला भन्ने चासो सर्वसाधारणमा हरेक वर्ष हन्छ। यसवर्ष पनि दसैँको मौसम कस्तो होला ? भनेर सर्वसाधारणको फोन आउथ्यो,’ उनी भन्छन्, ‘यसवर्ष भने दसैँको अवधिमा मौसम अनुकूल रह्यो। अधिकांश स्थानमा वर्षा नहुँदा घर जाने र फर्किने यात्रुले विगतका वर्षमा जस्तो झरीको सास्ती खेप्नुपरेन।’

ढकालका अनुसार फूलपातीको अघिल्लो दिन सङ्खुवासभा, झापा, लमजुङ, कास्की र स्याङ्जाका केही स्थानमा हल्का वर्षा भए पनि त्यसले जनजीवन र सडक यातायातमा उल्लेख्य प्रभाव परेन।

‘यस वर्ष दसैँका बेला मनसुन बाहिरिसकेको र पश्चिमी वायुको प्रभावसमेत नरहेकाले वर्षा भएन। दसैँ छिटो पर्दा भने मनसुन पूर्णरूपमा बाहिरिइसकेको नहुन सक्छ,’ उनले भने, ‘मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु सक्रिय भयो भने वर्षा हुनसक्ने भएकाले दसैँको मौसम सधैँ एउटै हुँदैन।’

साता दिनपछि वर्षा हुन सक्छ, सतर्क रहन तर त्रसित नहुन अनुरोध

नेपाल मौसम विज्ञान विभागले आगामी साता मङ्गलवारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ। यसले भने दसैँका लागि उपत्यका फर्कनेलाई भने केही असहजता हुनसक्ने सम्भावना छ। विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् राजन महर्जन वर्षा हुनसक्ने सम्भावना भए पनि क्रसित हुन आवश्यक नरहेको बताए।

‘अर्को साता मङ्गलबार वर्षा हुनसक्ने सम्भावना देखिएको छ तर कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुनसक्छ निश्चित छैन,’ उनले भने, ‘अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाएको खबरले किसान त्रसित देखिन्छन्। प्रणाली परिवर्तन भइरहने भएकाले अहिल्यै नै त्रसित हुनुपर्दैन।’

महर्जनका अनुसार तीन दिनसम्म मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको पूर्वानुमान सधैँ मिल्दैन।

‘केही दिनपछि मात्रै हामी आगामी साता हुने वर्षाको बारेमा सूचना सम्प्रेषण गर्नेछौँ। वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै ग्रहण हुन आग्रह गर्दछु,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *