सेतो मच्छेन्द्रनाथको रथ लगनमा

डिसी नेपाल
९ वैशाख २०७८ २३:४९

काठमाडौं। वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी हनुमानढोकाबाट लगनटोल पुर्याइएको छ । चैत्र शुक्ल नवमीका दिन बुधबार असनबाट हनुमानढोका पुर्याइएको रथ बिहीबार दिउँसो त्यहाँबाट जैसीदेवल हुँदै लगनटोलसम्म यात्रा गराइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन आज हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइएको हो । जात्राको तेस्रो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइन्छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको समितिका सचिव सुजीव बज्राचार्यले बताए। बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरिएको छ ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर जात्रा

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको पनि उनले सुनाए। जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो । जसले गर्दा रथयात्रा सुरक्षितरुपमा गर्न सकिने विश्वास गरिएको छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गरी गर्ने निर्णय गरेको समितिका संयोजक नीलकाजी शाक्यले राससलाई जानकारी दिए।

एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो । यो नमूना उपत्यकाका अन्य स्थानमा हुने जात्राका लागि पनि काम लाग्ने आशा गरिएको छ ।

रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गरेको शाखा काठमाडौँका प्रमुख हरिप्रसाद सुवेदीले बताए। पहिलो दिन रथ असन लगी पूजा आराधना सकिएपछि असनमा मङ्गलबार राति नौ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गरेकी थिइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *