भुईंचालोले जिर्ण बनेको होराइजन अपार्टमेन्टको डरले रातभर निदाउँदैनन् छिमेकी

रिता बस्नेत
१२ वैशाख २०७८ ११:१४

काठमाडौं। अझैपनि ठिङ्ग उभिएको छ, २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले जिर्ण बनेको धापासी हाइटको पार्क भ्यू होराइजन अपार्टमेन्ट। भूकम्पले क्षतिग्रस्त बनेपछि हरियो जालीले छोपेको अपार्टमेन्टको अवस्था अहिले पनि जस्ताको तस्तै छ। भूकम्प गएको ६ वर्ष पूरा हुन लाग्यो तर होराइजन अपार्टमेन्ट भत्काउने हो या बनाउने, कसैलाई थाहा छैन।

जिर्ण अपार्टमेन्टले गर्दा अलि ठूलो हावाहुरी आउँदा समेत अपार्टमेन्ट छेउछाउका बासिन्दा डरले सुत्न सक्दैनन्। जिर्ण बन्दै गएको अपार्टमेन्टबाट हावाहुरी चल्दा सिमेन्ट, ईंटा, सिसा लगायतका टुक्राटुक्री छिमेकीको घर आगनमा खस्ने गर्छ।

होराइजन अपार्टमेन्ट बरुण डेभलपर्स प्रालिले निर्माण गरेको हो। स्थानीयसँग पाँच वटा ‘टावर’सहितको ११ तलाको मात्रै बिल्डिङ बनाउने सहमति गरेको होराइजन अपार्टमेन्टको निर्माण कम्पनी बरुण डेभलपर्सले सरकारी पक्षसँग साँठगाँठ गरी १७ तलाको भवन निर्माण गरेको हो।

हाल बरुण डभलपर्सको कार्यालय भने २७ रोपनी १५ आना दुई पैसा एक दाम क्षेत्रफलमा रहेको सोही अपार्टमेन्टको एक नम्बर गेट भित्र रहेको छ। तर, सो गेटमा जतिबेलै ताला लगाइएको हुन्छ। एकजना गार्ड भने त्यहाँ जतिबेलै हुन्छन्।

जीर्ण बनेको भवनलाई के गर्न खोजिँदैछ भनि सोही बरुण डेभलपर्समा गएर बुझ्न असम्भव हुन्छ। डेभलपर्सका कर्मचारीको गाडी एक नम्बर गेटभित्र पस्नासाथ कोही मान्छे नै हुँदैनन् झैं जस्तो गरी गार्डले बाहिरबाट सो गेटमा चाबी लगाइदिँदा रहेछन्।

निरन्तरको प्रयासपछि डिसी नेपालका प्रतिनिधिले एक दिन गेट बाहिरबाट बरुणका कर्मचारीलाई देखेर हातको इसाराले बोलाउँदा ती कर्मचारी गेटमा आएर बिनाप्रतिक्रिया कुरा सुनेर भित्र मुख्य मान्छे हुनुहुन्छ बोलाइदिन्छु भन्दै जान्छन्। तर, भित्र गएको केहीबेरमै गेट बाहिर उभिएका गार्डलाई उनले फोन गरी हुनुहुन्न भन्न लगाए।

निक्कै प्रयासका बाबजुद पनि उक्त अपार्टमेन्टसँग सम्बन्धित मानिसहरुसँग कुराकानी गर्न नसकिएपछि त्यहाँका स्थानीय अर्थात् अपार्टमेन्टको असर सहेर बसेका छिमेकीहरुसँगको कुराकानीलाई मात्र प्रस्तुत गर्न डिसी नेपाल बाध्य भयो।

अपार्टमेन्टको एक नम्बर गेट नजिकै दुईतले घरमा दुई जना बुढाबुढी मात्रै बस्छन्। उनीहरुका छोरा बुहारीहरु विदेशमा भएकाले हाल उनीहरु मात्र त्यस घरमा बस्दै आएका छन्। उनीहरु ठूलो हावाहुरी चल्दासमेत डराउँछन्। त्यही दुई तले घरकी घरमूली मनकुमारी थापा भन्छिन्, ‘कति मान्छे आएर हेरे, कति ठाउँमा अन्तर्वार्ता दिइयो। छ वर्ष बित्न लागिसक्यो जसलाई भने पनि केही भएन।’

यही बैशाखमा दुईपटक ठूलो हावाहुरी चलेको बेला डरले सातो गएको बताउने थापा भन्छिन्, ‘अस्ति राति ठूला हावा चल्दाखेरी मेरो आगनमा ईंटा, सिमेन्ट, सिसाका टुक्राहरु आएको थियो। घरै उडाउला जस्तै गरी आएको हावाले यो अपार्टमेन्ट त यतै हल्लिएर आए जस्तो गर्यो।

अपार्टमेन्टलाई छोपेको हरियो पर्दाहरु हावाले हल्लिएर फ्याटफ्याट गरेर रातभरि सुत्न दिएन। त्यतिबेला बुढालाई राति नै यहाँबाट भागौं भने तर उहाँले रातिको १० बजे कहाँ जाने, होस मरे मरिन्छ बाचे बाचिन्छ भन्नु भयो।’

थापाको घर छेउमै रहेको अर्को घरमा प्रोफेस्नल म्यानपावर सर्भिस प्रालि रहेको छ। उक्त म्यानपावरमा राति भने एक जना गार्ड मात्र बस्दा रहेछन्। म्यानपावर भएको भवनलाई देखाउँदै थापाले भनिन्, ‘हामीलाई एकदमै टेन्सन छ। त्यो दिनको हुरीले त हामी सबै छिमेकी डराएका थियौं। बिचरा त्यो भाइले दिदी मरिने भइयो, काहीँ जाऔं न भनेर चिच्याइ राखे। र, अलि परका कुमारी होटलका लामा भाई पनि कराईराखेका थिए, मरिने भइयो भनेर।’

अपार्टमेन्टलाई ढाकेको हरियो जालीसमेत फाटेर छेउछाउका घरहरुमा सिसा, ईंटा, सिमेन्टका टुक्राहरु झर्ने गर्छ। त्यही जाली पनि राम्रो लगाए भने आफूहरुको घरमा टुक्राटुक्री झर्ने थिएन भन्दै उनी दुखेसो गर्दै भन्छिन्, ‘अफिसमा बस्ने भाइहरुलाई बोलाएर अपार्टमेन्टबाट खसेका टुक्राटुक्री सबै देखाए। हामीलाई अशान्ति छ, तपाईँहरुले हाम्रो यस्तो अशान्तिलाई किन देखिदिनु भएन, जाली राम्रो लगाउनु भनेर यहाँको कमाण्डर जितेन्द्र भाइलाई भनेको हो। उनलाई हाम्रो दुःख तिम्रो हाकिमलाई सुनाउ कि हामीलाई भेट्न देउ पनि भनेको तर जति भने पनि सुन्दैनन्।’

‘खासमा यो अपार्टमेन्टको वरिपरी एक सय ८६ वटा घरहरु छन् रे। अलि टाढाटाढाका घरहरुसहित तीन सय घरहरु छन्। तीन सय घरहरुलाई असर गरिराखेको छ, यो अपार्टमेन्टले,’ भन्दै उनी थप्छिन्, ‘मैले त कति मिडियालाई पनि भने, जो आए पनि कत्ति भन्छु, जाने ठाउँ त कही बाँकी छैन, वडा कार्यालयदेखि सबै ठाउँमा गएर भनिसकियो तर कसैले पनि केही गरेको छैन। अब त्यही एउटा राष्ट्रपति भएको ठाउँमा पुग्न बाँकी छ, अरु सबै ठाउँमा पुगिसक्यौ हामीहरु। धेरैजना मन्त्रीहरु यहाँ आएर हेरेर पनि कसैले केही गर्दैनन्।’

अपार्टमेन्टको दुई नम्बर गेट अगाडको कुमारी इन प्रालिकी घरमुली दुखेसो गर्दै भन्छिन्, ‘आफ्नो घर बोकेर अन्त लान सकिएन। यो अपार्टमेन्ट अहिलेसम्म बनेको छैन, बनाउने कुरा थाहा छैन। हामी छिमेकीहरुलाई मार्का त धेरै नै परेकै हो। भूकम्पपछि अहिलेसम्म यही हरियो कपडाले छोपेको छ, आजसम्म मर्मत गरेको छैन। हावाहुरी चल्दा डराउनु पर्ने हुन्छ, यहाँ। यसको विरोध गर्नु भनेको शिवपुरीलाई हिर्काए जस्तै हो। हिर्काउदा केही हुन्छ त? विदेशी पत्रकारदेखि नेपाली पत्रकार सबैले यससम्बन्धमा समाचार लेखेका छन् तर आजसम्म केही भएको छैन। कि त यो भत्किन फेरि ठूलै भुईंचालो आउनु पर्यो।’

उनी दुखेसो गर्दै थप्छिन्, ‘हामीलाई यत्रो अग्लो बनाउला भन्ने पनि थिएन। जम्म ११ तलाको नाप हो तर यो १७ तलाको छ। इन्जिनियरिङमा चाहीँ जम्मा ११ तला रे, ६ तला त त्यसै थपे। यो अपार्टमेन्ट इण्डियनको भएर सरकारले केही गर्न नसकेको हो रे। अब त हामी थाकिसक्यौं, कसैलाई भन्दा नि यसको समाधान कसैले गर्न सकेनन्। कि त हामीले सडक आन्दोलन, तोडफोड गर्नु पर्यो नत्र त सरकारले सुन्नेबाला छैन। अरुलाई चासो हुने कुरा भएन। खासमा चासो भनेको यही वरिवरीका बढी असर पर्ने १०–१२ वटा घरहरुलाई मात्र हो । अरु त को आउछ र, हाम्रो लागि?’

अपार्टमेन्टको तीन नम्बर गेटसँगै टासिएको घरको घरमूली दम्पती मोहनकुमार कुँवर र लक्ष्मी कुँवर पनि आफ्नो घर भएकै कारण सो ठाउँ छोडेर अन्त सर्न नसकेको गुनासो गर्छन्। त्यही गेट अगाडि भाडामा किराना पसल चलाएका उनीहरु दिनरात पसलबाट जिर्ण अवस्थाको अपार्टमेन्टलाई टोलाएर हेर्ने गर्छन्।

भुईंचालो गएको बेलाको कुरा सम्झना गर्दै मोहनकुमार भन्छन्, ‘त्यो बेलाको कानुन मन्त्री नरहरि आचार्य यहाँ आएर हेरेर भोलिदेखि यसलाई के गर्ने हो पहल गर्छौ, तपाईंहरु कुनै संकोच मान्नु पर्दैन हामी सदनमा कुरा राखौंला, उठाउँला, के भन्नु पर्छ, के गर्नु पर्छ गरौंला तपाईहरु धन्दा नमान्नु भनेको आजसम्म फर्केर आएका छैनन्। हामीलाई डरमर्दो छ। सिडियो, भवन विभागलगायत दुनियाँ दिवानालाई भनेर, चारेर हामी थाकेर बसेको हो।’

दम्पतीको चाहना पनि अरु छिमेकीको जस्तै कि अपार्टमेन्ट भत्काउनु पर्यो, कि आफ्नो जग्गा घरको मूल्यांकन गरी दिएर अन्त उठाउनु पर्यो भन्ने नै छ। लक्ष्मी भन्छिन्, ‘यो धरापमा बस्न सक्दैनौ त हामीले भनेको हो। अब कराउन कहाँ जाने ? राज्यको निकाय जति सबै धाइसक्यौं। समाजै मिलेर गएका हौं। न भत्काउछन्, न त मर्मत नै गर्छन्। मर्मत गरेर मान्छे बसेपनि त हामीलाई आधार हुन्थ्यो नि।’

मोहनकुमार थप्दै भन्छन्, ‘१७ तलामा दुई सय ७० वटा फ्लाटमध्ये दुई सय फ्लाट बिक्री भइसकेको थियो रे । ७० तला मात्रै बेच्न बाँकी थियो । फ्लाट किनेकाहरुसँगै कुरा नमिलेर यो बनाउन नपाएको भन्ने कुरा गर्छन्। यथार्थ कुरा भनेको सरकारले यसलाई चासै दिएको छैन। फेरि भुईंचालो आउदा यसले थिच्ला कि भन्ने डर छ, हामीलाई। यो हुनु भनेको हाम्रो हल्लिएको दाँत हुनु उस्तै हो, फेरि भुईंचालो आयो भने चाहीँ यो रहनेवाला छैन।’

‘जहाँ गएपनि पैसै खर्च गर्ने हो, अब त हामी थाकिसक्यौं। खासमा भन्ने हो भने अब त डर त्रास भन्ने कुरो पनि हराइसक्यो। जे त होला भन्ने भएको छ, आजकाल।’, भन्दै मोहनबहादुर सो अपार्टमेन्ट गाउँलेहरुलाई झुक्याएर तला थपेको गुनासो गर्छन्।

उनी थप्छन्, ‘यो अपार्टमेन्ट २०६४ सालदेखि बनाउन सुरु गरेको हो। बनाउन १० वर्ष नै लाग्यो होला । ११ तला बनाउने भनेर गाउलेलाई राखेर स्वीकृति गरेको हो तर १७ तला बनाइयो। त्यतिबेला ११ तला बनाएको भए यो घर केही हुँदैन थियो, राम्रै हुन्थ्यो। मान्छेलाई पैसाले पेलेपछि जे गरे नि हुँदो रहेछ। गरिबको बोली बिक्दैन, धनीले जे बोले पनि हुने रहेछ। राज्यका अभिभावकहरु त झैझगडा गरिराख्छन्, हामी राहत चाहने जनतालाई के सुख देलान र?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *