ललितकला लेखन पत्रकारिताको सौन्दर्य

डिसी नेपाल
१२ वैशाख २०७८ १७:३३

काठमाडाैं । ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणापत्र प्रस्तुत गरिएको थियो। नक्सालस्थित प्रतिष्ठान परिसरमा शनिबार भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए।

उनले भने, “हरेक वर्ष प्रतिष्ठानले गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीको चाहेजसरी प्रचारप्रसार हुननसकेको छैन।” उनले कलालेखन सञ्चारमाध्यमका लागि महत्वपूर्ण विधा भएकाले जनमानसमा कलाको चेतना जगाउनको लागि यसलाई पनि प्राथमिकतामा राख्न जिकिर गरे।

कार्यक्रमको पहिलो सत्रमा वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले सही ढङ्गले कलालेखन भएमा मात्रै कलाको चर्चा परिचर्चा आममानिससम्म पुग्न सक्ने भनाइ राखे।

नेपाली कलाको ऐतिहासिकता निकै वैभवशाली रहेको जनाउँदै हस्तकला विभागका प्रमुख प्राज्ञ धर्मराज शाक्यले भने, “कला र संस्कृतिको विकाससँगै मानिस समृद्ध बनेको हो ।” उनले ललितकलालाई कसरी हेर्ने, बुझने, पढ्ने र कसरी लेख्ने भन्ने विषयमा केन्द्रित रहेर कार्यशाला गरिएको बताए। ‘एक दिवसीय कला लेखन कार्यशाला–२०७८’ मा पाँच जना विज्ञले अवधारणापत्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा समालोचक उपप्राध्यापक तेजविलास अधिकारीले ‘समाज र ललितकला’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै मानिसले दैनिक जीवनलाई सहज बनाउन हस्तकलाका सामान बनाउँदै आएको बताए।

‘कला पत्रकारिताको अन्तर्य’ विषयमा कलाकार तथा कलालेखक केशवराज खनालले कार्यपत्र प्रस्तुत गर्दै लेखनले मात्रै कला र कलाकारलाई समाजमा परिचित बनाउन सहयोग पुग्ने जिकिर गरे। उनले नेपालमा कला पत्रकारिताको इतिहासदेखि वर्तमान अवस्था, कला पत्रकारिताका चूनौती, निराकरणका प्रयास र अबको गन्तव्यका बारेमा परिचर्चा गरे।

त्यस्तै कार्यशालामा ‘कलाकृतिः कलालेखन’ विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्दै कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीले कलाका शैलीगत विकास तथा विषयगत पक्षमाथि चर्चा गरे। उनले कला लेखनमा कलाका आधारभूत सिद्धान्त तथा तत्वका विषयमा चर्चा गर्दै लेखकले माध्यम तथा सामग्रीका बारेमा जानकार हुनुपर्ने बताए।

त्यसैगरी मिथिला कलाकार एससी सुमनले ‘नेपाली हस्तकलाको विविध स्वरूप’का बारेमा कार्यपत्र प्रस्तुत लोकहस्तकलाको सामाजिक तथा सांस्कृतिक पक्षमाथि परिचर्चा गरे। उनले मैथिली कला, सुजनी लोकहस्तकला, लोकमूर्ति, भित्तिचित्र, थारु हस्तकलाका साथै नेपालका विभिन्न स्थानमा बनाइने लोकहस्तकला तथा जातीय गरगहनाले सांस्कृतिक वैभवलाई चिनाउन र फराकिलो बनाउन मद्दत गरेको सुनाए।

कार्यक्रममा प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ मिथिलादेवी, मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले आमसञ्चारमाध्यमले कलालेखनलाई उचित स्थान दिनुपर्नेमा जोड दिए। उक्त कार्यशालालाई नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले संयोजन गरेको महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *