स्थानीय तहमा आधारभूत अस्पताल: हात्ती आयो, हात्ती आयो फुस्सा !

उपेन्द्र शाही
१६ वैशाख २०७८ ६:२०

काठमाडौं। सरकारले तामझामका साथ शिलान्यास गरेका आधारभूत अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन। स्थानीय तहमा शिलान्यास गरेका आधारभूत अस्पतालहरुको निर्माण कार्य शिलान्यासमै अड्किएको छ।

सबै स्थानीय तहमा स्वास्थ्यसेवा पुर्याउने लक्षसहित सरकारले गत मंसिर १५ गते देशैभर एकैपटक ३ सय ९९ वटा आधारभुत अस्पतालको शिलान्यास गरेको थियो। तर शिलान्यास भएका आधारभूत अस्पतालको काम निर्माणका लागि टेण्डर प्रकृयामा मै अल्झिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कतिपय स्थानमा त टेण्डरको प्रकृया नै शुरु भएको छैन।

कोरोना महामारी बढ्ने खतरा अनुमान गरेर विपदको समयमा आधारभुत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो। तर शिलान्यासको पाँच महिना वित्दा पनि अस्पताल निर्माणकार्यमा आशाजनक प्रगति भएको छैन।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म करिव २ सय अस्पतालको टेन्डर प्रकृया पूरा भएको छ। १ सय ६० अस्पताल टेण्डरको चरणमा रहे पनि ३३ वटा अस्पतालमा भने विवादका कारण निर्माण प्रक्रिया नै सुरु भएको छैन।

करिव २ सय अस्पतालको टेन्डर प्रकृया पूरा भएको छ। १ सय ६० अस्पताल टेण्डरको चरणमा रहे पनि ३३ वटा अस्पतालमा भने विवादका कारण निर्माण प्रक्रिया नै सुरु भएको छैन।

तर स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरमणि अधिकारी भने आधारभुत अस्पताल बनाउने कार्य द्रुत रुपमा भइरहेको दावी गर्छन्। अधिकारीले डिसी नेपाललाइ भने ‘अस्पताल निर्माण धमाधम भइरहेको छ। गत पुषसम्म टेण्डर आह्वानका लागि भनेका थियौँ। तर, धेरै ठाउँमा प्रक्रिया पूरा नभएकोले प्रकृया लम्बीएको छ।’

अधिकारीका अनुसार शिलान्यास भएका अस्पतालहरु दुई वर्षभित्र पूरा गर्ने लक्ष्यसाथ काम भैरहेको छ। तर आगामी आर्थिक बर्षको अन्त्यसम्म पनि आवश्यक कार्य पूरा नगरे टेण्डर प्रकृया नै रद्द हुने छ।

कुन प्रदेशमा कति अस्पताल?

दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने भनिएका करिव ४ सयवटा आधारभूत अस्पतालहरुमध्ये सबैभन्दा धेरै प्रदेश १ मा ८६ वटा रहेका छन्। सबैभन्दा कम भने कर्णली प्रदेशमा ४२ वटा अस्पताल निर्माण गर्न लागिएको छ।

त्यस्तै प्रदेश २ मा ५३, बागमती प्रदेशमा ५१, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ५४ वटा अस्पताल निर्माण गरिने छ। जसमध्ये ५ शैय्याका ५२ वटा, १० शैय्याका १ सय ९ वटा, र १५ शैय्याका २ सय ३५ वटा अस्पताल छन्। निणर्माण हुन लागेका ३ सय ९६ वटा अस्पताल निर्माण सम्पन्न भएपछि देशभर ४ हजार ८ सय ७५ शैय्या थपिने छन्।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना संक्रमण फैलिएपछी नेपालमा पनि यसको असर देखियो। संक्रमितको उपचारका लागि स्वास्थ्य उपकरण, स्वास्थ्यक्रमी र स्वास्थ्य संस्था अप्रर्याप्त भए।

सरकारहरुले स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण मानेर अगाडि बढ्नु पर्ने महशुस गरेपछि नै गत वर्ष सरकारले नीति तथा कार्यक्रम मार्फत स्वास्थ्य क्षेत्रमा बजेटको सीमा बढायो। गाउँगाउँमा आधारभूत अस्पतालको शिलान्यास गर्यो। तर अस्पताल स्थापनाका लागि आवश्यक कार्यन्वयनको पाटो निकै फितलो छ।

तथापि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको उपलब्धीको रुपमा लिने आधारभूत अस्पताल निर्माण कार्य भनेजसरी अगाडि बढ्न सकिरहेको छैन। कोरोना संक्रमणको दोश्रो लहरले अहिले सबै तहका सरकारलाई हायलकायल बनाएको छ।

भएका अस्पतालहरुले कोरोना संक्रमणको चाप धान्न सक्ने अबस्था छैन। तत्कालका लागि हरेक स्थानीय तहमा पर्याप्त अक्सिजन सहित नयाँ आइसोलेशन सेन्टरको स्थापनासँगै शिल्यान्यास भएका आधारभुत अस्पतालको निर्माण समयमै सक्नेगरी काम गर्ने हो भने साँच्चिकै गाउँगाउँमा पुग्नेछ स्वास्थ्य सेवाको सहज पहुँच।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *