कोरोना कालमा मे डे, राज्यको दायित्व बढ्यो

उपेन्द्र शाही
१८ वैशाख २०७८ १३:३६

काठमाडौं। आज मे १ अर्थात १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। नेपालसहित विभिन्न देशहरुले श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाउँदै आएका छन्। यही समयमा विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) ले अहिले मानव समुदायलाई जीवन र मरणको चुनौती दिइरहेको छ।

मजदुरको हक अधिकार सुनिश्चित गर्न हर्षोल्लासका साथ मनाइने मे डेका दिन पनि हाम्रा मनमा कोरोनाको सन्त्रास छ। बढ्दो आप्रवासनका बीच मजदुरको हक अधिकार सुनिश्चित गर्न केन्द्रित हुने मजदुर दिवसलाई भाइरसको प्रभावले फिक्का बनाईदिएको छ।

विकसित समय परिस्थितिमा मजदुर दिवसले पनि नयाँ बाटो लिएको छ। मजदुर र रोजगारी प्रदान गर्ने संस्था मात्रै होइन अब सरकारको दायित्व बढेर गएको छ।

सन् २०२० को आगमनदेखि नै भाइरसको महामारीका कारण विश्वमा कहाली लाग्दो अवस्था आयो। यस भाइरसले देश र विदेशमा छरिएर रहेका लाखौँ नेपाली मजदुरको रोजगारी खोसिएको छ। युरोप अमेरिका र खाडीका मुलुकमा सयौंको संख्यामा युवाहरुले ज्यान गुमाउनु पर्यो।

कोरोना भाइरसको संक्रमण कम हुँदै गएको र खोप कार्यक्रम सञ्चालनको सुरुवात भएपछि नेपालको अर्थतन्त्र एक किसिमले नयाँ ढंगले अगाडि बढिरहेको थियो। यसले मजदुरहरु पनि केही आशातित बनेका थिए। अहिले भाइरसको नयाँ लहर आएर संक्रमण तिव्र भइरहँदा देश फेरि कोरोना कहरमा भासिएको छ। यसले मजदुरवर्गलाई सबैभन्दा धेरै चोट पुर्याइरहेको छ।

भाइरस संक्रमण तिव्र हुँदै जाँदा सरकारले विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ। उद्योग, कलकारखाना, व्यापार व्यवसायमा भोटे ताला लागेका छन्। यसले पुनः लाखौँ मजदुरहरुलाई प्रत्यक्ष अप्रत्यक्ष असर पारेको छ। लाखौँको संख्यामा रोजगारको लागि विदेश गएका मजदुर जागिर गुमाएर स्वदेश फर्किएका छन् भने स्वदेशमै पनि लाखौँ मानिसहरुले रोजगारी गुमाएका छन्।

उनीहरुलाई विहान बेलुका छाक टार्ने समस्याले पिरोल्न थालेको छ। बजारमा महंगी बढ्दो छ। जीवनको उर्वर उमेरमा पुगेका युवा अनावश्यक मानसिक समस्याको शिकार बनिरहेका छन्।

रोजगारदाताले जागिरबाट निकालिदिएका कथा व्यथा अब सरकारले बुझ्दिनु पर्ने छ। उनीहरुलाई नीति तथा कार्यक्रममा व्यवस्था मात्रै गरेर हुँदैन्, उनीहरुले महशुस गर्ने गरी खान पाउने गरी, आफ्नै हात खुट्टामा उभिन सक्ने गरी ताते गरिदिनु पर्ने समय आएको छ।

यो संकटको घडीलाई अवसरको रुपमा लिएर स्वदेशमै काम गरेर खाने वातावरण निर्माण गर्न सके देशकै कायापलट हुन सक्छ।  सरोकारवालाहरुले सम्झिने पानी छम्किने मात्रै होइन, मजदुरका समस्यालाई केन्द्रमा राखेर जिम्मा लिनु पर्ने आवश्यक्ता खड्किएको छ। उनीहरुको गास, बास र कपास खोसिएको समस्यालाई यथाशिघ्र समाधान गर्न जरुरी छ।

भाइरसको संक्रमण त्रास र रोजगारी गुमाए पछि कामदारहरू कुम्ला कुटुरा बोकेर विदेशबाट स्वदेश र ठूला शहरहरूबाट घर फर्कन लर्को लागेका छन्। ती समस्यालाई ध्यानमा राख्दै सरकारले मजदुरका सहयोगको लागि हात दिन आवश्यक छ। सामाजिक संगठनहरूले पनि मे डेमा मजदुरहरूको लागि बोल्नकै लागि बोल्ने होइन समस्या समाधानका लागि केहि गर्ने वाचा गर्नुपर्छ। यसले श्रमिक र तिनीहरूको परिवारलाई फाइदा पुग्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *