सरकार लकडाउन गरेर नसुतोस् : निजी क्षेत्र

उपेन्द्र शाही
१९ वैशाख २०७८ ९:१३

काठमाडौं। कोभिड–१९ संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले काठमाडौं उपत्यकासहित संक्रमित संख्या बढी देखिएका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ।

लामो लकडाउन पछि प्रतिकुल अवस्थाबाट पुर्नउत्थानको दिशातिर गइरहेको अर्थतन्त्रलाई गम्भिर धक्का पुग्ने खतरा बढेको छ। उद्योग, कलकारखानामा भोटे ताला लागेका छन्। सार्वजनिक सवारीसाधन थन्किएका छन्, भने अत्याआवश्यक बाहेकका व्यापार व्यावसाय बन्द भएका छन्।

यसले पुनः लाखौँ मजदुरहरुलाई प्रत्यक्ष अप्रत्यक्ष असर पुगेको छ। रोजगारको लागि विदेश गएका मजदुर जागिर गुमाएर स्वदेश फर्किँदै छन्। स्वदेशमै पनि रोजगारी गुमाएर शहरबाट कुम्ला कुटिरा बोकी गाउँ फर्कनेको लर्को लागेको छ।

अत्यावश्यक सेवा बाहेकका व्यवसाय खुल्न नपाएपछि यो एक प्रकारको लकडाउन नै हो। भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएको अवस्थामा संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा गर्ने निर्णय लिनु आफैंमा अस्वाभाविक होइन। तर, केवल निषेधाज्ञा लगाएकै भरमा संक्रमण नरोकिने भन्दै प्रयाप्त तयारी गरी उचित कदम चाल्न नीजि क्षेत्र सम्बद्ध संघसस्थाहरुले अपिल गरेका छन्।

खोप कार्यक्रम तत्काल सुचारु हुनुपर्छ 

 राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कर्मश

कोभिडको दोस्रो लहर फैलिन थालेसँगै हामी सबैलाई त्रास र चिन्ता बढाएको छ। धन जनको क्षति हुन नदिन सुरक्षा र सावधानी अपनाउनु पर्छ। पक्कै पनि हाम्रो जिउ जयान जोगाउनु पहिलो प्राथामिकता हो।

त्यसको साथसाथै आर्थिक चक्रलाई सञ्चालन गर्न पनि एकदमै आवश्यक रहेको छ। नेपाल सरकार, विश्व स्वास्थ्य संगठनको मापदण्ड कडाईकासाथ पालना गर्दै आर्थिक गतिबिधि सञ्चालन गर्न पनि आवश्यक छ।

राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कर्मश

लकडाउन गरेर मात्रै हुँदैन्। पहिले पनि लामो समय सरकारले लकडाउन गरेको थियो, लकडाउन गरेर सरकार सुत्नु हुँदैन। यो समय धेरै काम गर्नु पर्ने हुन्छ। कोरोना भाइरसको खोप सरकारले पुर्याउन नसकेर बन्द गरेको अवस्था छ। अहिले पैसा तिरेर खोप लगाउन चाहने मान्छेहरुले पनि खोप पाएका छैनन्। खोप कार्यक्रम तत्काल सूचारु हुनुपर्छ यदि सरकार सक्दैन भने हामी काम गर्न तयार छौँ।

यसमा निजी क्षेत्रलाई टाढा राखेर सरकारले निशुल्क खोप उपलब्ध त गराएको छ तर, त्यो प्रयाप्त छैन्। चाँडो भन्दा चाँडो सरकारले निश्चित नीति नियम बनाएर निजी क्षेत्रले खोप ल्याउन सकेमा खोप कार्यक्रम प्रभावकारी हुन्छ।

हाम्रो जस्तो सानो त्यो पनि परनिर्भरमुखी अर्थतन्त्र भएको मुलुकले लामो समय निषेधाज्ञा अथवा लकडाउन थेग्न सक्दैन। कोभिडको असरले हाम्रो जिडिपीमा नै धेरै ठूलो धक्का पुगिसकेको छ। एकदिनको बन्दा बन्दीले हाम्रो देशलाई करिव १० अर्बको क्षति हुन्छ।

त्यसैले सानो अर्थतन्त्र भएको देशमा लामो समय लकडाउन भयो भने ठूलो क्षति हुन्छ। यो अवधिमा हुनुपर्ने कामहरु नभएको खण्डमा यसको असर निकै नै खतरनाक हुन सक्छ। यता तिर ध्यान दिएर काम गर्न जरुरी छ।

देशभर हामी जस्ता थुप्रै संघ संस्था छन्। देशभर हाम्रा सदस्यहरु छन्। यस्तो महामरीको अवस्थामा हामी पनि जनतालाई, सरकारलाई साथ दिन चाहान्छौँ, सेवा दिन चाहन्छौँ। यत्रो सेना, प्रहरी छ यो जनशक्तिलाई परिचालन गर्न सक्नु पर्यो यो लकडाउन गरेर सुतेर बस्ने अवस्था होइन।

जनता र निजी क्षेत्रको  मनोवल गिर्न दिनु हुँदैन

शेखर गोल्छा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

लकडाउन त्यति सस्तो विकल्प होइन। यसबाट साना र मझौला व्यवसायीहरुलाई मर्का पर्छ। यस्तै अनौपचारिक क्षेत्रमा कार्यरत मजदुर पनि यसबाट नराम्रै तरिकाले प्रभावित हुन्छन्। उनीहरुको व्यवस्थापन हुन जरुरी छ।

गत वर्षको लकडाउनबाट पनि हामीले धेरै कुरा सिकेका छौँ। त्यो सिकाइलाई हामीले सदुपयोग गर्न सकिन्छ। त्यसैले अहिलेको मुख्य कुरो सबैभन्दा धेरै प्रभावित पेशा, व्यवसायी र मजदुरलाई केन्द्रमा राखेर सरकारले राहतका प्याकेज ल्याउनु पर्छ।

व्यवसायीहरुले यसलाई कुनै अवसरको रुपमा हेर्नु हुँदैन्। कुनै पनि वस्तु तथा सेवामा कृत्रिम तरिकाले अभाव सिर्जना गरी मूल्यवृद्धि गर्नु हुँदैन। कोभिड संक्रमणलाई मध्यनजर गर्दै सरकारले बनाएको मापदण्ड भित्र रहेर काम गर्नु पर्ने हुन्छ। यो कुनै व्यवसायिक लाभको समय नभएर आपूर्ति व्यवस्था सुदृढ बनाउनमा केन्द्रित हुनुपर्छ।

शेखर गोल्छा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

लकडाउनको औचित्य तवमात्रै सिद्ध हुन्छ जब हामी यसलाई पूर्ण रुपमा सदुपयोग गर्छौँ। स्वास्थ्य क्षेत्रको क्षमता बढाउनेमा केन्द्रीत हुनुपर्यो। कोरोना विरुद्ध लड्नको लागि सम्भावित संकटको सामना गर्न आवश्यक स्वास्थ्य उपकरण, औषधिको क्षमता मजबुत बनाउनु पर्छ।

अर्को महत्वपूर्ण कुरा दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई ध्यान दिएर काम गर्न जरुरी छ। जनता र निजी क्षेत्रको मनोबल कुनै पनि हालतमा खस्किन नदिएर सरकारले काम गर्न आवश्यक छ।

यसपालीको बजेट निकै चुनैतीपूर्ण समयमा आउँदै छ। त्यसैअनुसार महासंघले आफ्नो सल्लाहा सुझाव पनि दिएको छ। खासगरि यो बेलामा उत्पादनशील क्षेत्रमा लगानी गरेर कसरी रोजगारी सिर्जना गर्ने भन्ने कुरा तिर केन्द्रित हुनुपर्छ।

किनभने अर्थतन्त्रको दिगो र गुणस्तरीय वृद्धि विकासका लागि उत्पादनशील क्षेत्रमा केन्द्रित हुन आवश्यक छ। अहिलेको कोभिडको प्रभावले संकुचित अर्थतन्त्रलाई कसरी पुर्नउत्थान गर्ने यो कुरालाई विषेश ध्यान दिएर बजेट ल्याइनु पर्छ।

सरकारले घोषण गरेका राहतका कार्यक्रम नपाइने चिन्ता बढेर गएको छ

श्याम गिरी केन्द्रीय अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

उद्योग कसरी सुचारु गर्ने भन्ने विषयमा सरकारसँग छलफल त भयो। तर, व्यवहारिक निर्णय भएन। अतिआवश्यक उद्योगहरुलाई कार्यक्षेत्रमा मजदुरहरु राखेर उद्योग सञ्चालन गरेर आपूर्ति व्यवस्था सहज बनाउने कुरा भएको छ। तर, धेरै साना तथा घरेलु उद्योगहरुको हकमा यो व्यवस्था सहज छैन।

लघु घरेलु तथा साना उद्योगहरुमा मजदुरहरुलाई कलकारखानामा र कार्यस्थलमा राख्न सक्ने अवस्था छैन। त्यो स्वास्थ्यको दृष्टिले पनि सहज छैन भने आर्थिक हिसाबले पनि असहज छ। पहिले नै लघु घरेलु उद्योग धेरै प्रभावित थिए। अहिले सरकारले गरेको अघोषित निषेधाज्ञामा सास फेर्न लागेका उद्योगले पनि स्वास बन्द हुने अवस्थामा पुगेका छन्।

पहिले नै पनि धेरै उद्योग कलकारखाना सञ्चालनमा आउन सकेका थिएनन्। ४० प्रतिशत भन्दा धेरै उद्योग बन्द भएको अवस्था थियो। ४० प्रतिशत जति यस्ता उद्योग तानतुन गरेर सञ्चालनमा आएका थिए। २० प्रतिशत जति चाहि विस्थापित भइसकेका थिए।

श्याम गिरी केन्द्रीय अध्यक्ष, नेपाल घरेलु तथा साना उद्योग महासंघ

बन्द उद्योग त बन्द नै थिए। त्यसपछि सट डाउनमा खुलेका उद्योगहरुले केही गति लिन लागेको अवस्थामा पुन: बन्द भएका छन्।
यसको सबैभन्दा ठूलो समस्या भनेको यी उद्योगमा कार्यरत कामदार धेरै जस्तो तराई बाट आउँछन्। जसै सरकारले निषेधाज्ञा गर्ने घोषणा गर्यो उनीहरु सबै परिवारसहित घर तिर फर्किएका छन्।

यी उद्योगमा मेसनरी कम प्रयोग भएको हुन्छ र कामदारमा पूर्ण रुपमा निर्भर हुन्छन्। एक त गाउँ घर गएका कामदारहरु राम्रोसँग शहर फर्किएकै थिएनन्। फर्किएका मानिसहरुमा पनि कारोनाको दास्रो संक्रमण अझ धेरै कडा हुन्छ भन्ने चिन्ता थियो।

त्यसैले धेरै जसो मजदुर पनि घर फर्किएको अवस्था छ। यो पनि ठूलो चुनौति हो। सरकारले निषेधाज्ञा घोषणा गरेपछि देशभरकै शहरी क्षेत्रमा कार्यरत मजदुरहरु घर फर्किएका छन्।

सरकारले धेरै प्रभावित उद्योगहरुलाई पुर्नकजा र राहत कोषबाट राहत रकम दिने भनेको छ। सरकारले घोणणा गरेका योजनाहरु प्रक्रियाकै चरणमा रहँदा अहिले पुन कोरोनाको दोस्रो लहर आएको छ। यसले अब त्यही पनि नपाउने हो कि भन्ने चिन्ता बढेर गएको छ।

कोरोनाका कारण व्यापार व्यवसाय ठप्प नै बनेको छ

अशोक श्रेष्ठ  अध्यक्ष, नेपाल हिमालय सीमापार वाणिज्य संघ

कोरोनाका कारण व्यापार व्यवसाय ठप्प नै बनेको छ। समस्या सबैलाई जटिल छ। सबै जोगिुननि पर्यो। व्यापारीहरुले धेरै समान मगाएका छन्। त्यो समयमा आउन सकेको छैन्। आएको समान बिक्री भएको छैन। यसले व्यावसायीहरुलाई त असर गर्छ नै तोकिएको राजस्व उठ्दैन र सरकारको कमाउने बाटोमा पनि संकुचन आउँछ।

अशोक श्रेष्ठ  अध्यक्ष, नेपाल हिमालय सीमापार वाणिज्य संघ

अलिकति भएपनि लयमा फर्किन थालेको व्यापार व्यवसाय पुन: दास्रो संक्रमण फैलिन थालेसँगै व्यवसायीहरुलाई धेरै चिन्तित बनाएको छ। एक त भन्सारमा समयमा समान पुग्दैन बल्ल बल्ल बजारमा पुग्छ, त्यसपछि बजारमा माग हुँदैन र गोधाममै थन्क्याउनु पर्ने अवस्था छ।

आउने कुनै बाटो छैन् तर सरकारलाई कर तिर्नै पर्यो, विजुलिको बिल, घर भाडा लगाएत, कर्मचारी पाल्दा त कसरी सर्भाइभ गर्न सकिन्छ। धेरै ठूलो चुनौती छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *