गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख पौडेल र यादवले लिए सपथ

डिसी नेपाल
२० वैशाख २०७८ १८:५६

काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६७ अनुसार उनीहरुलाई सपथ ग्रहण गराएकी हुन्।

 

चितवनकी पौडेल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष हुन। उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार समेत हुन् ।

त्यस्तै, सप्तरीका यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए। राप्रपा नेपालबाट उपसभामुख बनेका यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए।

मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति भण्डारीले आजै गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी थिइन् । मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

शेरचन र त्रिपाठी दुबैजना माओवादी केन्द्र निकट हुन्। यसअघि प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पनि पदमुक्त गरिएको थियो। परियारको स्थानमा राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *