सुनसान ठमेलका व्यवसायीहरुको चिन्ता : अब त उठिबास होला जस्तो छ

फुर्पा शेर्पा
२४ वैशाख २०७८ ९:२६

काठमाडौं। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिरहेको छ। संक्रमण रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकारहरुले ५० बढी जिल्लामा निषेधाज्ञा जारी गरेका छन्। उद्योग, कलकारखाना, यातायात, होटेल लगाएत सम्पूर्ण व्यापार व्यवसाय बन्द छन्।

भाइरसको प्रभावले थलिएर पुर्नजिवीत हुन लागेको व्यापार व्यवसायमा पुन: यसपालीको निषेधाज्ञाका कारण उठ्नै नसक्ने अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता व्यवसायीहरुको छ। नेपालको पर्यटकीय हव ठमेलका व्यवसायीहरु निषेधाज्ञा लम्बिए आफूहरुको उठिबास हुने त्रास र चिन्तामा छन्।

‘म पर्यटन क्षेत्रमा लाग्दा देशमा जनयुद्ध चलेको थियो,’ उन्नाइस वर्षदेखि पर्यटन क्षेत्रमा संलग्न लिफ होलिडे ट्राभलका सञ्चालक गोपाल थापा सम्झिन्छन्, ‘जनयुद्ध ताका पनि त्यति गाह्रो भएन। त्यसपछि २०७२ सालमा विनाशकारी भूकम्प जाँदा पर्यटन व्यावासाय र मजदुरलाई त्यति गाह्रो भएको थिएन। तर यो कोरोना–१९ माहामारीले अति नै गाह्रो बनायो।’

उनका अनुसार भाइरसको पहिलो लहरको प्रभाव कम हुँदै गएपछि साउदी, कतार, खाडी मूलकमा जाने भारतीयहरु नेपाल हुँदै जान्थ्ये। केही मात्रामा भएपनि ठमेलको व्यवसायमा त्यसले राहत मिलेको थियो। तर, अहिले सरकारले अन्तराष्ट्रिय उडान बन्द गरेकोले बीस हजार भन्दा बढी भारतीय पर्यटकहरु ठमेलमा फसेर बसेको छन्। अहिले पनि ठमेलमा धेरै पर्यटकहरु बिचल्लीमा रहेको बताउँदै उनले सुरक्षाका मापदण्डाहरु अपनाएर सुविधा दिनु पर्ने बताए।

उनले निराश हुँदै भने,  ‘यदि कोराना नरोकिए र निषेधाज्ञा बढ्दै गयो भने, गाउँबाट जसरी काठमाडौं छि-यौं त्यसैरी नै धेरै व्यवसाय फेरी गाउँ जानु पर्न अवस्था नआउला भन्न सकिँदैन।’

रसुवा ट्रेकका डाइरेक्टर गगनराज न्यौपानेले कोरोना महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको बताए। ‘अहिले सम्म ऋण धन लिएर व्यवसाय थेगिरहेको थिए। यहि स्थिति रहे भोलिका दिनमा आफ्नो घरवार बेच्न पर्ने हुन्छ। एक त ठमेलमा भाडा धेरै महंगो छ। कमाई हुने बाटो छैन् तर, भाडा, बत्ती, ब्याज गरेर खर्च मात्रै बढीरहेको छ। सधैंभरी यसरी कोठाको भाडा मात्र तिरेर त कसरी बस्नु ? कमाई एक सिक्को छैन।’

उनले एउटै आश सरकारले राहत र सहयोगको हात दिएर उठाउँछ कि भन्ने रहेको बताए।

गत वर्षको लामो लकडाउन सम्झिँदै, नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले भने, ‘पोहोर साल पनि नेपाल सरकारले भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै ६ महिना लकडाउन गर्यो। काठमाडौं र पोखराका हजारौँ ट्रेकिङ र टूर कम्पनीका व्यपार बन्द भयो। पर्यटन मजदुरहरु कामविहिन भए, उनीहरुको रोजिरोटी छिनियो। त्योसँगै ठमेलका क्षेत्रका सयौँ होटल, पसल, रेस्टुरेण्ट, पुस्तक पसल लगाएत सबै व्यापार व्यवसायी ठप्प भयो।’

‘त्यसपछि भ्याक्सिन आउँछ अब त संक्रमण पनि कम भयो कोरोना सकियो भन्दै गर्दा पुन : त्यो भन्दा धेरै डरलाग्दो भाइरस आएको छ। तंग्रिन खोजिरहेको व्यवसायमा अझ कति मार पर्ने हो।’

उनले गत सालको भोगाइ र सिकाइबाट सरकारले ठाउँ–परिस्थिति हेरेर निषेधाज्ञा खकुलो बनाउँदै लग्नुपर्ने बताए।

नेपाल व्यवसायी क्लाइम्विङ एडभेञ्चरका प्रबन्ध निर्देशकको कृष्णबहादुर सुवेदीको पीडा पनि उस्तै छ। उनले भने ‘गत साल पहिलो चरणको कोरोना फैलिदा सुरुमा एक, दुई हप्ता भनिएको लकडाउन ६ ७ महिनासम्म लगाइयो। त्यो अप्ठायारो अवस्था झेलेपछि अब त केही राम्रो होला भन्ने सोचेको थिए। तर, दोस्रो लहरले उठीबास लगाउला भन्ने चिन्ता बढ्दै गएको छ।’

नेपालकै दोस्रो ठूलो उद्योग पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै उनले भने,  ‘कोरोना महामारीले पर्यटन व्यवसाय धराशायी बनेको छ। करोडौ पुँजी लगानी भएको क्षेत्रलाई छोडेर जाने स्थिति पनि छैन। धेरै व्यवासायीले पहिलेको लकडाउनले थला पारेर व्यावासाय परिवर्तन गरेका छन्।ठूला व्यवसायीले बैंकबाट ऋण लिएर व्यावासाय थालनी गरेका हुन्। पहिलो चरणको प्रतिबन्धले घर भाडा, कर्मचारीको तलब, बिजुली, पानी आदीको विलले हैरान पारेको थियो। सरकारले भन्यो मात्रै गरेको केही थिएन। दोस्रो लहरको संक्रमणले झन त्रास बढाएको छ। अवस्था लम्बिए र सरकारले पर्यटन व्यवसायको संरक्षण नगरे ठमेल ठमेल नरहला भन्ने खतरा बढेको छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *