२५ औं पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता भन्छन् ‘ट्राफिक जाम नभएपछि चढ्न सहज भयो’

फुर्पा शेर्पा
२५ वैशाख २०७८ १६:५४

काठमाडौं। वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही विश्वकीर्तिमानधारी कामिरिता शेर्पासहितको टोली शनिबार सगरमाथाको आधार शिविर आइपुगेको छ। सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ बजे शिखर पुगेको र शनिबार मध्यान्ह आधार शिविर आइपुगेको किर्तीमानधारी आरोही कामिरिता शेर्पाले बताए।

उनले डिसी नेपालसँग सगरमाथा आधार शिविरबाट कुरा गर्दै भने ‘हामी हिजो साँझ ६ बजे सगरमाथा पुगेका थियौँ। म सहितको १२ जनाको टोली आधार शिविर पुगेका छौँ। राम्रै सँग माथि चढियो र तल झरियो। अलिकति हावा चलिरहेको भएपनि समग्रमा मौसम राम्रो थियो।’

उनले आफ्नो शरिरमा सामान्य समस्या देखिएको भन्दै केही दिनमा आफ्नो शरिरको अवस्था हेरेर पुन ः आरोहण गर्ने कि नगर्ने भन्ने कुरा निर्धारण हुने बताए। पहिले ट्राफिक जामको समस्या हुने गरेकोमा अहिले ट्राफिक जाम नभएपछि सहज भएको उनको भनाई छ।

कामिरिता शेर्पाले आफ्नै नामको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने २४ औं पटकको किर्तीमान तोड्दै सबैभन्दा धेरै २५ औं पटक सगरमाथा आरोहणको विश्वकिर्तीमान कायम गरेका थिए।

यो समूहले सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको हो। अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन्।

यसैक्रममा आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली छ। विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *