संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको आग्रह

डिसी नेपाल
२५ वैशाख २०७८ १७:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रचण्डले शनिबार प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन्। उनले संवैधानिक परिषदको बैठकमा नजान संवैधानिक परिषदका सबै सदस्यहरुलाई अनुरोध समेत गरेका छन्।

संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै उनले भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

प्रचण्डले लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक फेरि संवैधानिक परिषदको बैठक मार्फत आफ्नो स्वेच्छारी चरित्र प्रदर्शन गर्न लागेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक आयोगको रिक्त पद नियुक्तिका लागि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।

सरकारले संवैधानिक आयोगको रिक्त पद पूर्तिकै लागि संवैधानिक परिषदका तीन सदस्यहरु मात्र उपस्थित भए बैठक बस्न मिल्ने गरी अध्यादेश जारी गरेको छ । यसअघि पनि अध्यादेशमार्फत नै बैठक बसेर सरकारले विभिन्न संवैधानिक आयोगमा ३७ जनालाई नियुक्ति गरिसकेको छ । यद्यपी सर्वोच्च अदालतमा उक्त नियुक्तिको विरुद्धमा रिट परेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *