कोरोना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन
सांकेतिक तस्वीर
ओखलढुङ्गा। कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ। कोभिड– १९ बाट संक्रमित भई काठमाडाैंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो।
एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए। उनले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक व्यक्त गरेको छ। पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गुमाएको बताइएको छ।
कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुंगाले जनाएको छ। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment