वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम : ठाकुर

डिसी नेपाल
२७ वैशाख २०७८ २३:५३

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउन खोज्नु मधेश विरोधी काम भएको बताएका छन्। संसदमा विश्वासको मत नपाएपछि ओली सरकार ढलेसँगै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै सँयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि ठाकुरले विज्ञप्ति जारी गरेका छन्।

सोमबार राति विज्ञप्ति जारी गर्दै ठाकुरले ओली सरकारले जसपाका माग पूरा गरिरहेको बताएका छन्। यस्तो अवस्थामा सरकार बनाउने गतिविधमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उनले बताएका छन्। उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्।

सोमबार प्रतिनिधिसभामा विश्वासको मतमाथि मतविभाजन हुँदा पनि ठाकुर समूह तथस्ट बसेको थियो भने यादव समूहले विपक्षमा मतदान गरेको थियो। ओली सरकारलाई समर्थन गर्ने वा विकल्प खोज्ने भन्ने विषयमा आन्तरिक विवादमा फसेको जसपा सोमबारको घटनापछि विभाजनको डिलमा पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *