किन सुटुक्क शीतलनिवास छिरे महन्थ ठाकुर ? राष्ट्रपतिले पत्र मागिन्

डिसी नेपाल
२८ वैशाख २०७८ ८:४९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबक सिकाउन उनकै दल नेकपा एमालेका शीर्ष नेताहरु रस्साकस्सी गर्दै ओली विरोधी क्याम्पेन चलाइरहेका बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भने हिजो विहान सबैरै शीतलनिवास सुटुक्क छिरे।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित हुँदै थियो। त्यही दिन एकाविहानै मधेस केन्द्रित दलका नेता ठाकुर भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अचानक शीतल निवास पुगेका थिए।

शीतलनिवास स्रोतका अनुसार, जसपा अध्यक्ष ठाकुरले आइतवार राति अबेर प्रधानमन्त्री केपी शर्मालाई भेटेका थिए। प्रधानमन्त्री निवासबाटै भोलिपल्टलाई अर्थात् विश्वासको मत लिने दिन विहानलाई राष्ट्रपति भण्डारीसँग भेटको समय मिलाइएको थियो।

समाचार स्रोतका अनुसार, जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव नगर्ने र कसैले जसपाका सांसद भनी हस्ताक्षर ल्याएमा ती हस्ताक्षरहरु आधिकारिक नहुने जानकारी अध्यक्ष ठाकुरले राष्ट्रपति भण्डारीलाई दिएका थिए।

देउवाको नाम प्रस्ताव गरेर राजपा सांसदहरुको हस्ताक्षर शीतलनिवास पठाइए ती हस्ताक्षरहरु बैध नभएको दावीसहित ठाकुरले राष्ट्रपतिलाई पत्र पठाउने तयारी गरेका छन्।

अहिलेको सत्ताको खेलमा मुख्य साँचो बोकेर बसेको जसपा ओलीलाई समर्थन गर्ने र विरोध गर्ने गरी दुई खेमामा विभाजित भएको छ। पार्टीभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई समूहका १५ जना सांसदले खुलेरै ओलीको विपक्षमा मतदान गरे भने महन्त ठाकुर समूहका १५ जना तटस्थ बसेका थिए।

३२ सांसदमध्ये ठाकुर समूहका दुईजना सांसदहरु बैठकमा अनुपस्थित थिए। भावी प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव गर्दै बैकल्पिक सरकार बनाउन जसपाका सांसदहरुको हस्ताक्षर पनि हुने कुरामा शंका छैन।

शीतल निवासको एक उच्च स्रोतका अनुसार, यसरी प्रस्ताव गर्दा आफू पक्षीय सांसदहरुको हस्ताक्षर पनि मिसाइन सक्ने, पहिला नै हस्ताक्षर गरिएका खाली कागजको प्रयोग हुन सक्ने भन्दै महन्थ ठाकुरले कांग्रेस सभापति देउवालाई आफ्नो पार्टीको समर्थन नरहेको जानकारी नयाँ सरकारको गठन प्रक्रिया शुरु नहुँदै राष्ट्रपति भण्डारीलाई गराउने उद्देश्यले शीतल निवास गएका थिए।

अध्यक्ष ठाकुरले आफूसँग १९ सांसद रहेको र थप तीनजनाले पनि देउवाको विपक्षमा मतदान गर्ने कुरा हिजो विहान राष्ट्रपतिलाई जानकारी गराएका थिए। उनको यो भनाइपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया शुरु भएपछि नयाँ प्रधानमन्त्रीको प्रस्ताव आएसँगै आफ्नो दावी पनि लिखितरुपमा पत्र नै पठाएर गर्न ठाकुरलाई सुझाव दिएकी थिइन्।

राष्ट्रपति भण्डारीको सुझावअनुसार नै ठाकुरले आफ्नो दल बैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै सोमबार राति अबेर प्रेस विज्ञप्ति नै प्रकाशित गरिदिएका छन्।

स्रोतका अनुसार, देउवाको नाम प्रस्ताव गरेर राजपा सांसदहरुको हस्ताक्षर शीतलनिवास पठाइए ती हस्ताक्षरहरु बैध नभएको दावीसहित ठाकुरले राष्ट्रपतिलाई पत्र पठाउने तयारी गरेका छन्। नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति भण्डारीले बैशाख ३० गते साँझसम्मको समय दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *