पशुपति आर्यघाट : ‘त्यो किनारमा जल्दै गरेको मेरो आमाको चिता हो’ – Dcnepal

पशुपति आर्यघाट : ‘त्यो किनारमा जल्दै गरेको मेरो आमाको चिता हो’

काठमाडौं । कोरोनाको दोस्रो लहर आएसँगै नेपालमा कोभिडले सबैभन्दा बढी मृत्यु भएको दिन हिजो(सोमबार)  मलिन र स्तब्ध अनुहार लिएर जलिराखेकी मृत आमालाई एकनासले हेरिराखेका थिए, करिब २२ वर्षे एक युवा।

जलिसकेपछि आमाको शरीरको खरानी(अस्तु) लिनको लागि हातमा दुई वटा घडा बोकेका उनी भन्दै थिए, ‘मेरो ममी हो। कोभिड र निमाेनियाले बित्नु भयाे। दुई हप्ता अगाडिदेखि बिरामी हुनुहुन्थ्यो।’

जल्दै गरेकी ती आमाको जेठो छोरा उनी भन्दै थिए, ‘उहाँ (शवहरुलाई जलाउँदै गरेका व्यक्तिलाई देखाउँदै) ले मृतकको नाम फलानो हो भन्यो भने खरानी दिनु हुन्छ। उ (औंलाले देखाउँदै)  त्यो तल्लो पट्टि जल्दै गरेको मेरो आमाको चिता हो। खोलाको किनारको।’

विद्युतीय शवदाह गृहको पूर्वपट्टी बाग्मती नदीको किनारमा अर्थात् भस्मेश्वर घाटमा त्यो दिन जलिरहेका खचाखच शवमध्ये ती आमाको शव खोलाको तल्लो किनारमा दन्दनी बलिरहेको थियो। एकैछिनमै जलिरहेका शवहरु नजिकै रहेका एक व्यक्ति आएर तिनै जल्दै गरेकी मृत आमाको छोराले बोकेको दुईवटा घडा लगे।

तिनै छोरा, जसले चाहेर पनि आमालाई दागबत्ती दिन र अन्तिम क्षणमा अन्तिम पटक आमालाई अँगालोमा बाधेर रुन पनि पाएनन्। कारण थियो, कोभिडले मृत्यु भएकाहरुको शव आफन्तले छुन पनि पाउँदैनन्, सिवाय परबाट प्लाष्टिकले बेरेको शवलाई हेर्न बाहेक।

कस्तो समय आयो, मान्छेदेखि मान्छे डराउनु पर्ने है?  भन्ने प्रश्नमा ति युवाले भने,  ‘के गर्ने, भाइरस नै त्यस्तै खालको छ। सरकारले नै अलिकति बुद्धि नपुर्याएर पनि यस्तो अवस्था आएको हो क्या। त्यत्रो इण्डियामा माहामारी आउँदा नेपालमा एक महिनासम्म नराम्रो अवस्था थिएन। नाका नखोलिदिएको भए अहिले यस्तो भयावहको स्थिति आउने थिएन।’

उनले भने, ‘आमा बिरामी हुनासाथ अस्पताल लैजादा निमाेनिया भएको भनियो र भन्नासाथ हामीले भर्ना गर्यौं। आमाले अक्सिजन त पहिलेदेखि नै पाउनु भएको हो। जोरपाटीको थाङ्ग्री हस्पिटलमा राखेका थियौं।’

उनलाई साथ दिइ सँगै उभिइराखेका मामा (छिमेकी मामा)ले लगत्तै भने, ‘जति कोसिस गर्दा पनि बचाउन सकिएन। त्यो हस्पिटलमा कोभिड बाहेकका बिरामी त जाँदैनन् होला ? त्यो हस्पिटलभरि पूरै कोभिडका बिरामीहरु राखिएका छन्। अहिले त अलिअलि ज्वरो, रुघा खोकी आउना साथ कोभिड हुँदो रहेछ।’

कोरोनाका कारण मृत्यु भएकाहरुको शव जलाउने विद्युतीय शवदाह गृहको पूर्वपट्टी अर्थात् बाग्मती नदीको किनारको उत्तरतिरबाट घडा दिएपछि उनीहरु (मामा, भान्जा)  त्यहाँबाट पश्चिमतिर रहेको तिलगंगास्थित पुलबाट हेरिरहेका आफन्त भएतिर लागे।

मामा  (पावल सुनुवार) ‘उता (पुललाई देखाउँदै) यो बाबुको भाइ, बैनी र बुवा हुनुहुन्छ। भर्खरको हुनुहुन्छ उहाँ (मृतकका श्रीमान्) ।’ उनी पनि दुखेसो गर्दै थिए, सरकारले इण्डियासँगको सिमाना खुल्ला नगरिदिएको भए आज नेपालमा कोरोनाको यस्तो भयावह स्थिति आउँदैन थियो, भनेर।

उनका अनुसार मृतक आमाको उमेर ५० वर्षको हाराहारीमा थियो। उनले मृतक आमाको परिवारबारे सुनाए, ‘यो (मृतक आमाको ठूलो छोरालाई देखाउँदै)  बाबु २२ वर्षको भयो होला। सानो छोरी नर्स पढ्दै छिन्। छोरा चाहीँ जोरपाटीमा सुन पसल धानेर बसेको हो। यो भाइको बुबा लिम्बू र आमा चाहीँ सुनुवार थरका हुन्। म उहाँहरुको छिमेकी हुँ । यिनीहरुले मलाई बच्चैदेखि मामा भन्दै आएका हुन्।’

ओखलढुंगा जन्मघर भएपनि सानैदेखि काठमाडौं बस्दै आएका व्यवसायी पावल सुनुवारले जोरपाटीमा पसल, साइबर, बट्टाई फर्म खोलेर बसेको बताए। गोकर्णमा होटलसमेत खोलेको बताउने उनले दुखेसो गर्दै भने, ‘अहिले त कोभिडले गर्दा सबै बन्द छन्।’

कोभिड बिरामी भनेपछि सित्तिमित्ति मान्छेको छेउ पर्न नखोज्ने र छेउ पर्न नहुने मान्छेको व्यवहारलाई चुनौती दिँदै उनी भने छिमेकीको नाताले हस्पिटलदेखि आर्यघाटसम्मको यात्रामा मृतक आमाको परिवारलाई साथ दिँदै आएका रहेछन्। उनले भने, ‘अहिले बच्चाहरुलाई के कस्तो गर्ने भन्ने कुरामा पनि साथ दिइराखेको छु ।’

माथिको घटनाको प्रत्यक्षदर्शी भएर अन्त्यमा बिदा हुँदै जलिरहेकी मृत आमालाई टोलाएर एकहोरो हेरिरहेको छोरो र तिनै आमालाई कल्पना गर्दा गर्दै आफ्नै एक घटनालाई सम्झना गरायो।

एक दिनको घटनाः एक्कासी खबर आयो तिम्रो आमा यो संसार छाडेर जानु भयो। दुई–तीन जना साथीसहित बसिराखेकी म जुरुक्क उठेँ र भित्तामा अडेस लागेँ। स्तब्ध म न रुन सके न त बोल्न नै। स्तब्ध भएर भित्तामा अडेस लागेर उभिएकी म एकछिनमै बिस्तारै भुईँमा थचक्क भएँ। लगत्तै साथीहरुले ढाडस दिँदै तीनतिरबाट समाते।

टिलपिल मरो आँखाबाट बलिन्द्र धारा आँसु झरेसँगै मैले भने, यो संसारमा अब मेरो कोही छैन। म एक्लो भए, एक्लो…। यो संसारमा म एक्लै अब कसरी बाचौं ? फेरि चिच्याए, रोएँ। बलिन्द्र आँसु झार्दै सकिनसकी साथीहरुले सम्झाउन खोजे चिन्ता नगर।

फेरि चिच्याउँदै भने म अब कसरी बाँचु ? अब मेरो यो संसारमा कोही पनि छैन । अब म के गरौं, कहाँ जाऔं । मेरो लागि यो संसार अन्धकार भयो। उनीहरुलाई हेर्दै फेरि रुदै भने अब म के गरुँ। मेरो कोही पनि छैन, मेरो कोही पनि छैन…. भनिरहेको अर्धबेहोस मेरो टाउकोमा चिसो पानी खन्याइयो।

झसङ्ग भएर जुरुक्कै उठे र पसिनै पसिना भएकी म पलङ्गमा बसेर बत्ती बाले र मोबाइल हेरेँ। रातको एक बजेको रहेछ। गाउँमा रहेका मेरा बुबा आमालाई फोन गर्न खोजेँ। फेरि सम्झे सपना त सपनानै हो नि। मध्य रातमा फोन गरेर निद्रा खलबलाइदिन नचाहेकी म बिहानको प्रतिक्षामा जागा बसेँ।

चिन्तामै बिहान भयो र फोनमा कुराकानी पनि। सबै कुशलै रहेछ भनि सपना त आखिरी सपना नै हो नि, चित्त बुझाएँ। तर, बारम्बार विपनामा रोएको त्यो सपना भोलि विपना नहोला भन्न पनि सकिन्न।

आजसम्म कसैलाई नसुनाएको त्यो सपनाले पशुपति आर्यघाटमा जलिरहेकी ति मृत आमाको चिताले फेरी एक पटक झस्काइ दियो र त्यो रातको झै अनिदो बनाइदियो। पशुपतिनाथले सबै प्राणीको रक्षा गरुन्।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो