कोरोना कहर : भदौमा कांग्रेस महाधिवेशन हुनेमा शंका

सम्भव सिंह ठकुरी
५ जेठ २०७८ १४:१९

काठमाडौं। आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रयास असफल भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो सम्पूर्ण ध्यान महाधिवेशन तयारीमा केन्द्रित गर्ने नेताहरुले बताएका छन्।

कांग्रेसको विधान अनुसार २०७२ सालमा भएको महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने सुविधा कांग्रेसले प्रयोग गर्दै आएको छ।

पार्टीको आन्तरिक विवाद, कोरोना भाइसर र पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरकणमा ढिलाई भएपछि गत वर्षको फागुन ७ देखि १० गतेसम्म गर्ने भनिएको १४ औं महाधिवेशन स्थगित भयो।

उक्त समयमा महाधिवेशन हुन नसकेपछि संविधानको राजनीतिक दलसम्बन्धी प्रावधानमा रहेको धारा २६९ को उपधारा ४ (ख) को व्यवस्था अनुसार छ महिना समय थप गरेर यही वर्षको भदौ ७ देखि १० गते सम्म गर्ने गर्ने मिति तय भएको छ।

उक्त धारा अनुसार तय भएको मितिमा पनि महाधिवेशन हुन सकेन भने पार्टीको वैधानिकता र अस्तित्व नै सङ्कटमा पर्ने सम्भावना हुनेछ। कोरोना भाइरसको दोस्रो लहरले सबै नेपालीको दैनिकी नै असहज बनेको छ।

राष्ट्रिय राजनीतिमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन सकेनन् र विपक्षी गठबन्धनले पनि बहुमतको सरकार गठन गर्न नसकेपछि ओलीनै पुन प्रधानमन्त्रीमा नियुक्त भएका छन्। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओलीले ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ।

कोरोनाको कारण अधिवेशन गर्न चुनौती नै छ। तीन महिना पुरै समय भएकाले कोरोना नियन्त्रण भयो भने तय भएकै मितिमा हुन्छ। परिस्थति हाम्रो नियन्त्रणमा छैन। त्यसकारण सम्भवत जेठ अन्तिममा केन्द्रीय कार्यसमितिको बैठक बस्छ, सो बैठकबाट गर्ने निर्णयले कार्यतालिका फेरबदल हुन सक्छ। तर भदौमा नै अधिवेशन गर्ने हाम्रो प्रयत्न हुन्छ।

अहिलेको राजनीतिक समीकरण अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना न्यून छ। यो अवस्थामा मुलुक निर्वाचनतर्फ जान सक्ने भनेर आंकलन हुन थालेको छ। उता आवधिक रुपमा अर्को वर्ष स्थानीय निकायको निर्वाचनको रौनक सुरु हुनेछ।

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका राख्ने कांग्रेसका लागि १४ औं महाधिवेशन भदौमा जसरी पनि सम्पन्न गर्नु पर्ने बााध्यता छ। यो अवस्थामा कांग्रेसको आवश्यक तयारी कस्तो भइराखेको छ?

कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार अहिले कोरोनाको महामारीका कारण मानिसको दैनिकी एकदमै असहज बनेको अवस्था छ। निषेधाज्ञाका कारण केन्द्रीय पार्टी कार्यलय पनि बन्द रहेको अवस्था छ भने केही जिल्लाको पार्टी कार्यलयहरु कोभिड अस्पतालका रुपमा संचालन भइराखेको छ। त्यसैले यो अवस्थामा कांग्रेसले प्राविधिक रुपमा गर्न पर्ने तयारी पनि गरिराखेको छ।

त्यो भन्दा पनि कांग्रेसको प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु पर्ने भएकाले अहिले नेता,कार्यकर्ताको सम्पूर्ण शक्ति त्यतातिर खर्च भएको साउदको भनाइ छ।

‘भदौमा हामीले महाधिवेशन गर्नै पर्ने संवैधानिक व्यवस्था छ। तर कोरोनाको महामारीले स्वस्थ्यका दृष्टिकोणले चुनौती पनि उच्च छ,’ उनले भने, ‘यो समस्या कांग्रेसलाई मात्र हैन,नेपाललगायत देशका सबै राजनीतिक दललाई लागेको अवस्था छ। त्यसकारण अधिवेशन कसरी सम्पन्न गर्ने भन्ने विषयमा अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निकाश खोज्ने छ।’

उनले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाए पनि नपाए पनि मुलुक निर्वाचनतर्फ गइसकेको उल्लेख गर्दै भने, ‘किनभने गएको निर्वाचनमा जनप्रतिनिधिहरुले जुन म्यान्डेटका साथ चुनिएका थिए त्यो म्यान्डेट खण्डित भएको अवस्था छ। गठबन्धन पनि टुटिसकेको छ। पार्टीहरु पनि विभाजित भएका छन्। यो अवस्थामा ताजा जनादेशका लागि निर्वाचननै हितकर हुन्छ र अहिलेको राजनीतिक अन्यौलताको उच्चतम निकाश भनकै निर्वाचन हो।’

कोरोना कहरले कांग्रेसलगायत सबै राजनीतिक दललाई प्रभावित पारेको उल्लेख गर्दै साउदले यस्तो अवस्थामा कांग्रेस महाधिवेशनको विषयमा निर्वाचन आयोगले केही कानूनी निकाश खोज्जेमा विश्वास व्यक्त गरे।

कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा क्रियाशील छानबिन समितिका सदस्य कल्याण गुरुङका अनुसार कोभिडको दोस्रो लहरका कारण चार जिल्ला सोलुखुम्वु, सप्तरी, बारा र रौतहटको क्रियाशील सदस्यता तथा नवीकरणको तथ्याङ्क पार्टी कार्यलयलय आउन र दर्ता हुन सकेको छैन। तर अन्य जिल्लाका छुटपुुछट केही व्यक्ति बाहेक बाँकी सबै जिलाहरुको तथ्याङ्क पार्टी कार्यलयमा आइसकेको छ।

‘कोरोनाको कारण अधिवेशन गर्न चुनौती नै छ। तीन महिना पुरै समय भएकाले कोरोना नियन्त्रण भयो भने तय भएकै मितिमा हुन्छ। परिस्थति हाम्रो नियन्त्रणमा छैन,’ उनले भने, ‘त्यसकारण सम्भवत जेठ अन्तिममा केन्द्रीय कार्यसमितिको बैठक बस्छ, सो बैठकबाट गर्ने निर्णयले कार्यतालिका फेरबदल हुन सक्छ। तर भदौमा नै अधिवेशन गर्ने हाम्रो प्रयत्न हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *