आचारसंहिता उल्लघंन नगर्न निर्वाचन आयोगको चेतावनी

डिसी नेपाल
५ जेठ २०७८ १५:१०
56
Shares

काठमाडौं। निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले आचार संहिता पालना नगर्नेलाई कारबाहीको चेतावनी समेत दिएको छ । एकातर्फ निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचार संहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने आयोगका भनाइ छ ।

मौन अवधि शुरू भएपछि राष्ट्रियसभाका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मंगलबार साँझ अबेर फेसबुकमार्फत मत मागेका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक अपील जारी गर्दै बादलका पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तरवार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यस तर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचार संहिता समेत लागू भइसकेको सन्दर्भमा आचार संहिता विपरितका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *