राधास्वामी भवनमा कोभिड आइसोलेशन सञ्चालन

डिसी नेपाल
७ जेठ २०७८ १८:५७

काठमाडौँ। काठमाडौँको सामाखुशीस्थित राधास्वामी भवनमा कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर शुरु भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार सेन्टरको शुभारम्भ गरे। त्यस अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रधान सेनापति पूर्णचन्द्र थापा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसहित अधिकारीहरु उपस्थिति थिए।

सेन्टर सञ्चालन गर्न गएको बर्ष २०७७ साल कार्तिक १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। त्यसपछि कोभिडको संक्रमण घट्दो क्रममा गएकाले आइसोलशन निर्माण कार्यान्वयनमा ढिलाइ भएको थियो। जब कोभिडको दोस्रो लहर शुरु भयो त्यसपछि काठमाडौँ महानगरले कोभिड रोकथाम र नियन्त्रणका लागि छलफल गर्न २०७८ बैशाख १४ गते विशेष कार्यपालिका बैठक बोलाएर राधास्वामी भवनमा आइसोलेशन सेन्टर सञ्चालन गर्नेलगायत विभिन्न निर्णय गरेको थियो।

काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा शुरु भएको सेन्टर नेपाली सेनाले सञ्चालन गर्नेछ। नेपाल सरकार, कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, काठमाडौँ महानगरपालिका, नेपाली सेना उपत्यका पृतना हेडक्वाटर, वीरेन्द्र अस्पताल छाउनी, राधास्वामी सत्संग व्यास र अमेरिका–नेपाल मेडिकल फाउन्डेसन सेन्टरका सरोकारवाला हुन्। अहिले ८८ वेड अक्सिजन र ९६ साधारण सामान्यबाट शुरु भएको हो। आवश्यकताका आधारमा ९६ वेडलाई पनि अक्सिजनसहितको बनाउँदै लगिनेछ।

सेन्टर सञ्चालनका लागि छलफल गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बैशाख २२ गते उपत्यका पृतना हेडक्वाटर गएर अधिकारीहरुसँग छलफल गरेका थिए। त्यसपछि बैशाख ३१ गते वीरेन्द्र सैनिक अस्पतालसँग सम्झौता भएको थियो। सम्झौताबमोजिम काम थालनी गर्न महानगरले पहिलो किस्तास्वरुप २ करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसपछिको खर्च सेन्टर सञ्चालनमा भएको लागतका आधारमा महानगरले अनुदान स्वरुप उपलब्ध गराउनेछ।

सेन्टर सुरु गरिसकेपछि उपप्रधानमन्त्री पोखरेलले भने, ‘अक्सिजनको सहज व्यवस्थापन र भ्याक्सिन ल्याउने कुरालाई सरकारले जसरी पनि पूरा गर्नेछ। महामारी नियन्त्रण गर्नका लागि सरकारले नेतृत्व गर्छ, अभिभावकत्व निर्वाह गर्छ। यसबाट छुट्कारा पाउन सबैको सामूहिक प्रयत्न चाहिन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *