सङ्गीत साधक दियालीको जीवन : कष्टबाट शुरु, साधनाबाट मक्ख

डिसी नेपाल
१२ जेठ २०७८ ८:१३
96
Shares

इलाम । ‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ। दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्‍यो दियालीलाई मात्र थाहा छ। कुरा २००६ सालको हो। अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला। समाजमा उच्च र निचको बहस चल्थ्यो। विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो।

शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे। एक दिनको कुरा हो, इलाम नगरपालिकाका दलित समुदायका राम दियालीसहित पाँच बालक सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय (हालको) पुगे।

सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षामा पस्न भने पाएनन्। आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए तर ती बालकलाई न कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उनको नजिक आए।

कक्षाकोठामा प्रवेश नपाएकामा कौतुहलता जागिरहेको थियो तर कारण पत्ता लागेन। एक दिन होइन, दुई दिन होइन, हरेक दिन त्यो व्यवहार दोहोरिरह्यो। “हामीलाई बाहिर किन राखियो थाहा भएन । धेरैदिन बाहिर राखेपछि घर गएर भन्यौँ”, दियालीले भने, “हिउँदको समयमा बाहिर बस्दाको पीडा कम भए पनि बर्खामा भने कष्टकर बन्दै गयो। खरले छाएको विद्यालय चुहिएर बाहिर बसेका विद्यार्थीलाई भिजाउन थाल्यो तर कक्षाकोठामा प्रवेश पाइएन।”

परिवारलाई सुनाएपछि भने विद्यालय जानै बन्द भयो । विसं १९९५ मा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिक स्थिति कमजोर थियो। पुख्र्यौली पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै परेको थियो। यसैको प्रभावले दियालीलाई विद्यालय पठाउने काम भयो। विद्यालयमा त्यो हदसम्मको हर्कत बेहोरे पनि दियालीलाई पढाउनका लागि अनेक विकल्प सोचियो। उनका बुबाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाए। करिब छ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो।

दियालीको वाद्यवादनतर्फको यात्रा

बाल मनोविज्ञानले आफूमाथि भएको विभेद नबुझे पनि उमेर बढ्दै जाँदा बुझ्न सक्ने बनायो । यसकै असरले दियालीलाई जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो। उतिबेला फाट्टफुट्ट मात्र सङ्गीतकार र गायक हुने भएकाले दियालीलाई त्यतै तानिन मन लाग्यो।

एकदिनको कुरा हो, दियालीले कसैले बाँसुरी बजाइरहेको देखे। एउटा बाँसको ठुटोबाट सुमधुर धुन निस्किरहेको देखेपछि दियाली त्यतैतिर तानिए। नजिक पुगेर हेर्दा एउटा बाँसमा केही खाल्डा पारिएको देखे । “बाँसबाट आएको आवाजले मलाई अचम्म लागिरहेको थियो । सामान्य चिज बाँसबाट पनि यस्तो आवाज आएको देख्दा जान्न मन लाग्यो”, दियालीले भने, “त्यही देखेर घर गएर बाँसुरी बनाउन थालेँ । बाँसुरी बन्यो तर बजेन । अघि सुमधुर बजेको बाँसुरी र अहिले बजाएको बाँसुरी तुलनै नगर्ने किसिमको भयो । मलाई हुनसम्म तनाव भयो।”

अब दियालीलाई खपिनसक्नु भएन । जसरी पनि बाँसुरी बजाउनु थियो तर कसरी बजाउने पत्तो थिएन । पहिले बाँसुरी बजेकै ठाउँमा दिनानुदिन धाउन थाले। ती व्यक्ति भेटिए पनि तर बाँसुरी बजाएको अवस्थामा भेटिएनन् । ती व्यक्ति थिए, तत्कालीन जिल्ला प्रशासन कार्यालयका बडाहाकिमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी।

एक दिन नारायणस्थानबाट बजार जाने क्रममा दियालीसँग ती व्यक्तिको जम्काभेट भयो। दियालीसँग भेटमात्र भएन बोलचाल पनि भयो। यसै मेसोमा दियालीले बाँसुरी सिकाइ मागे। त्यस दिनको त्यो क्षणबाट दियाली बाँसुरी बजाउन थाले। जति बाँसुरी बज्दै गयो दियालीलाई बाँसुरीप्रतिको आशक्ति बढ्दै गयो। केही समयपछि दिदीभिनाजुसँग दियालीलाई भारतको दार्जिलिङ जाने अवसर मिल्यो।

सङ्गीतको उर्वरभूमि दार्जिलिङमा केही समय बस्दैमा धेरै कुरा ख्याल हुँदै गयो । दियालीको लगाव देखेर चार आना भारुमा भिनाजुले बाँसुरी किनेर बिदा गरे। दियालीको मन बाँसुरीमा मात्र होइन, हारमोनियमतिर पनि तानिन थाल्यो। सदरमुकाममै बसेर हारमोनियम बजाउने श्यामकृष्ण श्रेष्ठकोे ज्ञान र सीपले दियालीलाई हारमोनियम बजाउन आतुर पारेको थियो । समयान्तरमा श्रेष्ठकै सङ्गतमा दियालीले हारमोनियम पनि धेरथोक सिक्नुभयो तर भइ दियो के भने बाँसुरी बजाउन भने छाड्नु पर्ने भयो।

“बाँसुरी बजाउँदा दाँत झर्ने, छाती दुख्ने समस्या हुने भनेर मलाई एक जना विद्वानले भने। साह्रै डर लाग्यो । अनि बजाउनै छाडिदिएँ”, दियालीले भने, “बाँसुरी छाडेँ तर हारमोनियम बजाउन थालेँ । सिक्ने ठाउँ पनि गज्जबकै थियो । अहिलेको इलाम बजारको एक घरमा पुरानो किसिमको हारमोनियम थियो । त्यही बजाउथ्यौँ ।”

वाद्यवादनमा जित, गायकीमा हार

बाँसुरीबाट साङ्गीतिक खुड्किला उक्लिएका दियालीले अनेक वाद्यवादन समाउन पाए। समाएर आफ्नो मन र स्रोतको मनोविज्ञानअनुसारको धुन निकाल्न सक्ने भए तर गायकी भने सुध्रिएन।

वाद्यवादकसँगै असल गायक बन्ने दियालीको धोको कहिल्यै पूरा भएन । “बाह्र/पन्ध्र वर्षकै उमेरमा सिकेको भए हुने थियो । ठूलो उमेरमा सिक्दा गाउन सकिनँ । मैले एककिसिमले गायकीमा हारेँ”, उनले भने। स्वर बनाउनका लागि दियालीले अनेक प्रयत्न गरे। गायक अमर गुरुङ, जितेन्द्र बर्देवालगायतलाई गुनासो पोखे तर भएन । अहिले पनि दियाली प्रयत्नरत छन् तर मिल्दैन।

वाद्यवादन क्षेत्रमा दियालीको नाम अग्रपङ्क्तिमा आउँछ । उनकै कारण भाइ र छोरासमेत अहिले सङ्गीत क्षेत्रमा छन्। “बुबाकै कारणले अहिले सङ्गीतमा छु । बुबाको पूरा नभएको धोको पनि पूरा गर्ने योजनामा लागेको छु”, जेठा छोरा सुमनले भने, “म मात्र होइन भाइसहित हाम्रो परिवार पनि यसैमा छ । पहिले जस्तो असहज छैन । केही गर्न सकिन्छ कि ?”

फेरि जन्म होस् तर दलितको कोखबाट नहोस्

बाल्यकालमा विभेद खेपेका दियालीलाई समयान्तरमा पनि विविध विभेद आए । बालकमा जस्तो सिधै नभने पनि बङ्ग्याएर दियालीमाथि विभेदका स्वर खनिए। वाद्यवादक भए पनि दलित भएकाले अनेक जिम्मेबारीबाट हट्नुपरेको दियाली सुनाउँछन्। कुनै संस्थाको अध्यक्ष भएको भन्दै अस्वीकार गरे भने कहिले आफू उच्च पदमा हुँदा संस्था विघटन गरेको भन्दै विवादमा तानिए। कहिले भ्रष्टाचार गरेको आरोप लगाइयो भने कहिले संस्थाबाटै निकालियो।

दियाली भने, “मेरो यो धर्तीमा फेरि जन्म भए दलितको कोखबाट चाहिँ नहोस् ।” कुनै बेला ‘देवकोटा प्रतिष्ठान’का अध्यक्ष थिए दियाली । राजाका कार्यक्रममा प्रोत्साहन गरेको आरोप लागेपछि सबै वाद्यवादनबाटै दियालीले हात धुनुप¥यो । “राजाको राज्याभिषेक गर्ने बेलामा काम गर्नुप¥यो भनेर सिडिओ साहेबले भन्नुभयो, मैले सक्दिनँ भन्दाभन्दै बाजा नभए हामी मिलाइदिन्छौँ भन्नुभयो र कार्यक्रम राखियो”, दियाली भन्छन्, “त्यसपछि फेरि अर्को संस्था जन्मियो देवकोटा कलाकुञ्ज, हामी खुसीले रमायौँ तर मलाई कार्यक्रममा प्रोत्साहन नगरेको पाएँ । अनि वाद्यवादनप्रति वितृष्णा पाएँ ।” अनेक समयमा विभेद सहनुपरेको दियाली सुनाउँछन्।

इलाम प्रगतिशील साहित्य समाज काठमाडौँले २०६३ सालमा गरेको सम्मान चाहिँ उनको सबैभन्दा प्यारो छ । यो सम्मान दियालीका लागि सम्मान मात्र होइन, पारिश्रमिक समेत हो । उनको पहिलो पारिश्रमिक नै सम्मानबाट आएको रु एक हजार हो । उहाँ त्यसपछि भने अन्य संस्थाबाट पनि सम्मानित भए। उनी सनलाइट सङ्गीत विद्यालय तथा रेकर्डिङ स्टुडियो बिर्तामोड, फूलपाती कार्यक्रम आयोजक समिति बरबोटे, माउन्ट मेरिया वेन्ड देउरालीलगायतबाट समेत सम्मानित भएका छन्।

यस्तै २०५५ सालमा नारायण गोपाल स्मृति पुरस्कार, इलाम नगर (२०५५)बाट अभिनन्दित भए। यसैबीचमा दियालीले ‘व्यथा र अनुभूतिहरू’ नामक पुस्तक निकालेका छन्। गीतीकविता सँगालोमा दियालीको भोगाइ र गीत छन् । यस्तै दियाली गत वर्ष इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानबाट समेत पुरस्कृत भएका छन्।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *