कोभिडको मारमा परीक्षा : एसईई र १२ को परीक्षा कहिले र कसरी हुन्छ ?

सम्भव सिंह ठकुरी
१७ जेठ २०७८ १५:२४

काठमाडौं। कारोना भाइरसको दोस्रो महामारी फैलिएपछि वैशाख २७ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई र १२ कक्षाको परीक्षा अर्को सूचना नआउनुजेल सम्म स्थगित गरेको थियो।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ गतेबाट सुरु हुने तय भएको थियो। अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा तय भएको मितिमा हुन सकेको थिएन।

त्यसैले एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजानिक गरेको थियो भने कक्षा १२ को परीक्षा आफ्नै शैक्षिक संस्थामा गरेको थियो।

यो वर्ष करिब ५ लाख १७ हजार एसईईका र कक्षा १२ का ४ लाख विद्यार्थी परीक्षको तयारीमा रहेको बोर्डले जनाएको छ। कोरोना भाइरस संक्रमितको संख्या केही स्थिर हुन थाले पछि नेपालको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयले बाँकी रहेका विभिन्न शंकायका परीक्षाको अनलाइन फारम जेठ मसान्त सम्म भर्न मिल्ले व्यवस्था गरिसकेको छ भने साउन अन्तिम साताबाट परीक्षा सञ्चालन गर्ने तयारी समेत भइसकेको छ।

तर एसईई परीक्षाको प्रश्नपत्र समेत छापिसकेको बोर्डले कोभिडका कारण स्थगित गरेको परीक्षा कहिले र कसरी हुनेमा धेरै विद्यार्थी अन्यौलमा परेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार वोर्डको शनिवार बसेको बैठकले स्थगित दुबै परीक्षालाई वैकल्पिक माध्यमबाट गर्ने निर्णय भएको छ। उनका अनुसार, कोरोनाको महामारी र स्वस्थ्य मापदण्ड अपनाएर परम्परागत परीक्षा शैली भन्दा फरक तरिकाको वैकल्पिक माध्यम अपनाएर परीक्षा सञ्चालन गर्न सकिने भनि अनुमति पत्र आइतबार शिक्षा मन्त्रालय पठाइएको छ।

‘अब मन्त्रालयको स्वीकृति आएपछि हामी चाँडै परीक्षाको नयाँ मिति तय गर्नेछौँ,’ पौडेलले डिसी नेपालसँग भने, ‘वैकल्पिक माध्यमको परीक्षा भन्नाले अनलाइन, भर्चुअल, आन्तरिक मुल्याङ्कनलगायत सुगम, दुर्गम ठाउँको अवस्था हेरेर निर्धारण हुने कुरा हो। सोही अनुसारको तयारी गर्दैछौँ।’

उनले थपे, ‘अहिले हामी मन्त्रालयको निर्णय पर्खेका छौँ। मन्त्रालयलको के निर्णय आउँछ। सोही अनुरुप हामी चाँडै परीक्षा सञ्चालन गर्ने छौँ।’

मन्त्रालय के भन्छन् ?

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार राष्ट्रिय परीक्षा वोर्ड कार्यदलको बैठकले परीक्षा कसरी सञ्चालन गर्ने भन्ने अध्ययनको प्रतिवेदन आइतबार मन्त्रालय आइसकेको छ।

उक्त प्रतिवेदनमा विभिन्न माध्यमबाट परीक्षा सञ्चालन प्रस्तावहरु उल्लेख गरिएको छ। ती प्रस्तावहरु कुन उचित, कुन अनुचित भनेर अहिले मन्त्रालयले विज्ञहरुको सल्लाह अनुसार अध्ययन गरिरहेको शर्माले बताए।

ती कुनै कुनै प्रस्तावहरुमा कानूनी जटिलता देखिइन पनि सक्ने शर्माको भनाइ छ। त्यस्तै कुनै प्रस्तावहरु मन्त्रिपरिषद्को बैठकबाट पनि निर्णय गर्नु पर्ने हुन्छ। त्यसकारण अब कम्तिमा पनि एक हप्ता भित्र मन्त्रालयले अध्ययन गरि परीक्षा कसरी र कुन माध्यमबाट सञ्चालन गर्ने भन्ने विषयको निकास दिनेछ। ‘अहिलेको अवस्थामा यो उत्कृष्ट माध्यम र अरु जटिल भन्ने यकिन भएको छैन। सबै कुरा छलफल पछि निर्णय हुन्छ,’ प्रवक्ता शर्माले भने।

शिक्षाविद् के भन्छन्?

शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाका अनुसार अहिलेको वर्तमान अवस्थामा कोरोना महामारीले परीक्षा सञ्चालन गर्न नसक्नु बहाना मात्र हो।
‘हाम्रो शिक्षा प्रणाली र शैली परिवर्तन हुन सकेन। कर्मचारीतन्त्र देशमा अझै हावी भएको छ। हरेक कुरामा परिवर्तन र क्रान्तिकारी हुँ भन्ने धेरै कम्युनिष्टहरुले सरकार चलाए तर व्यवहार र शैलीमा कुनै पनि परिवर्तन आएन। हाम्रो शिक्षा प्रणालीलाई आधुनिक र व्यवहारिक बनाउन सकेनन्,’ उनले भने।

कोइराला भन्छन्, ‘कक्षा १२ सम्मलार्ई माध्यमिक तह मान्ने हाम्रो शिक्षा नीति एसईई भनेको १० कक्षा हो। त्यसकारण १० कक्षाको परीक्षा सञ्चालन गर्न स्थानीय तह वा सम्बन्धित विद्यालयबाट नै गर्न सकिन्छ। अझै पनि केन्द्रीकृत अभ्यासले हाम्रो शिक्षा कहिले सुधार हुने?’

भौगौलिक बिविधता र प्रयाप्त स्रोत साधन नभएको देशमा आफ्नो मौलिकता अनुसारको पाठ्यक्रम र शिक्षा नीति नलिएसम्म र काठमाडौं र जुम्लाका विद्यार्थीको लागि समान प्रश्न बनाएरसम्मे शिक्षा प्रणाली सुधार नहुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *