कोभिडले तुहाई दियो एमबीबीएसका सयौं विद्यार्थीको डाक्टर बन्ने सपना

रिता बस्नेत
१९ जेठ २०७८ ११:११

काठमाडौं। लाहानका निरज नारायण महतो छिमेकी देश चीनबाट एमबीबीएस गरेर घर बसेको १७ महिना भयो। उनी एमबीबीएसको पढाई सकेर २०७६ पुस २४ गते नेपाल आएका थिए। ३५ दिनको जाडोको छुट्टिमा घर परिवारसँग केही दिन बिताएर इन्टर्नसिपको लागि पुनःचाइना जाने तयारीका साथ उनी घर आएका थिए।

तर, उनी चीनबाट सुरु भएको कोरोना संक्रमण (कोभिड–१९) का कारण नेपालमै अड्किए। चाइनाले आफ्नो देशमा संक्रमण फैलिन नदिन गरेको लकडाउनले गर्दा उनी रनभुल्लमा परे। त्यतिबेला नेपालमा चहलपहल भएपनि उता (चाइना)को लकडाउन खुल्ला र जाउला भन्दा भन्दै अन्ततः कोरोनाले विश्वलाई आक्रमण गर्यो र एक पछि अर्को देशको हालत पनि लकडाउनको स्थितिमा पुग्यो।

लकडाउन आज खुल्छ भोलि खुल्छ अनि गएर आफ्नो कोर्ष पूरा गर्छु भन्दा भन्दै उनको सपना एकाएक तुहियो। कतै डाक्टर बन्ने सपनानै त तुहिने होइन भन्ने स्थितिमा पुगेका छन्, उनी यतिबेला।

लाखौं खर्चेर एमबीबीएसको पढाई त सके तर पढेकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने नियमले गर्दा अन्तिम अवस्थामा आएर बाध्यतावश चुपचाप लागेर बस्नु सिवाय उनले अहिले केही सोच्नै सकेका छैनन्।

यो घटनाको उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । उनका ब्याच (२०१५) का सयौं विद्यार्थीले उनी जस्तै घरबारी बेचेर वा धितोराखेर कलेजलाई लाखौं बुझाए। तर अन्तिममा आएर उनीहरुले न त इन्टर्नसिप गर्न नै पाए न त पढेको कलेज अर्थात् यहाँको नेपाल मेडिकल काउन्सिलले नै कुनै चासो देखायो।

यता आफ्नै देशका विद्यार्थीको पढाइलाई लिएर नेपाल सरकारले समेत कुनै चासो नदेखाएका कारण अझ उनीहरु थप दुखी बन्न पुगेका छन्। ‘अब त डिप्रेशनमा जान मात्र बाँकी छ’, भन्दै तिनै निरज महतो आफ्नो र साथीहरुको बेथा बेलिबिस्तार सुनाउँदै डिसी नेपालमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गर्छन्।

उनी भन्छन्, ‘हाम्रो पढाइको अन्तिम बिदा थियो, त्यसपछि इन्टर्नसिप हुन्छ भनेर म, जनकपुरको रजनिश कुमार र रोशन यादव गरी एकैपटक तीन जना घर आएका थियौं। तर फर्किने बेलामा चाइनामा कोभिड सुरु भयो र केही दिनपछि नै चाइनाले पुरै लकडाउन गरिहाल्यो। त्यसअगाडिसम्म अरु साथीहरु पनि नेपाल आइसकेका थिए।’

उनका अनुसार उनका ब्याच (२०१५)मा डेढ सयभन्दा बढी विद्यार्थी भएपनि उनको ग्रुपमा भने ८६ जना विद्यार्थी थिए। ती ८६ जना नै अहिले नेपालमा छन्। उनीहरु सबै चीनको विभिन्न कलेजमा पढेका हुन्। महतो र उनका केही साथीहरु भने त्यहाँको सिङसाङ मेडिकल युनिभर्सिटी (हेनान) मा पढेका हुन्।

उनी सिङसाङ कलेजमा पढेका साथीभाइका बारेमा कुरा गर्दै भन्छन्, ‘हाम्रो कलेजमा त १४ जना नेपाली थियौं, त्यसमा १२ जना अहिले नेपालमा छौं। दुई जना चाहीँ फ्लाइट बन्द भएर उतै फसेका हुन्। एउटाले चाहीँ सस्पेंस गरेका कारण हामी जस्तै भएर बसिराखेको छ र अर्कोले चाहीँ इन्टर्नसिप पनि गर्यो अब उसको ग्राजुएसन अर्को महिना हुँदैछ। हामीहरुको केही छैन, १७ महिनादेखि घरमा बसिराखेका छौं।’
पुनःदुखेसो गर्दै उनी भन्छन्, ‘कसैले जमिन बचेर, कसैले घर राखेर लोन लिएका छन्, कसैले घरै बेचिदिएका छन्। कसैले जमिन राखेर लोन लिएका छन् भने कसैले शेयर मार्केटहरु बेचेर छोराछोरीलाई पढाएका छन्। अहिले कतिपयको घरमा गार्जन पनि डिप्रेशनमा र विद्यार्थी पनि डिप्रेशनमा छन्।’

प्रत्येकले करिब ३५ देखि ४० लाखको हाराहारीमा खर्च गरेर पढेका ति विद्यार्थीहरुको अहिले घरपरिवार नै बर्बाद भएको बताउँछन् महतो। उनी भन्छन्, ‘लगभग २४–२५ लाखजति कलेजले लियो अरु पकेट खर्च, घर आउजाउ खर्च, खानेपिन यताउती गरी करिब ३५ देखि ४० लाखसम्म खर्च भएको छ।’

इन्टर्नसिपको लागि पढिराखेको कलेजले के भन्यो त भन्ने जिज्ञासामा उनी भन्छन्, ‘अहिलेसम्म केही भनेको छैन्। खाली एउटै कुरा भन्यो, यदि आफ्नो देशमा इन्टर्नसिप गर्ने सुविधा छ भने त्यही गर भनेर। बरु यहाँबाट केही निवेदनहरु दिनु परेको खण्डमा दिन्छौं पनि भन्यो।’

उनका अनुसार जुन कलेजमा पढेको हो त्यसैमा इन्टर्नसिप गर्नुपर्ने नियम भए पनि कोभिडले गर्दा चाइनामा पढ्ने भारत, पाकिस्तानका विद्यार्थीहरुले भने आ–आफ्नै देशमा इन्टर्नसिप गरिराखेका छन्। सो कुरा साथीहरुमार्फत थाहा पाएको बताउँदै उनले भने, ‘उनीहरुलाई कलेजले सिफारिस गरिदिएकाले आफ्नो देशमा इन्टर्नसिप गरिराखेका छन् रे। उनीहरुले मज्जाले आ–आफ्नो देशमा इन्टर्नसिप गरिराखेका छन् तर हाम्रै देशको सरकारले भने केही गरेन्, सरकारलाई आफ्नै लागि सोच्दैमा फुर्सद छैन्।’

देशको सम्बन्धित निकायलाई थाहा नदिएकाले पो तपाईंहरुले पीडा भोग्नु परेको हो कि?, भन्ने प्रश्नमा उनी भन्छन्, ‘माग गरेको हो। हामीभन्दा अगाडिका २०१४ ब्याचका विद्यार्थीहरुको चार–पाँच महिना मात्रै इन्टर्नसिप गर्न बाँकी थियो। उनीहरुले माग गरेका हुन्। उनीहरुले एक–डेढ महिना पहिला आन्दोलन पनि गरेका थिए। आन्दोलन गर्दा चाहीँ एक्टिभमा आउने रहेछन्, त्यतिबेला केही गरौला भने र फेरि आन्दोलन शान्त भएपछि उनीहरुले बिर्सिहाले।’

महतोका अनुसार आफू भन्दा अगाडिका अर्थात २०१४ ब्याचका विद्यार्थीहरुसमेत उनीहरुजस्तै पीडामा छन्। उनीहरुले पनि इन्टर्नसिप गर्न पाएका छैनन्। महतोले भने, ‘म चाहीँ २०१५ को ब्याच हो । हामीहरुले पनि माग गरेका थियौं। हामी दुबै ग्रुप मिसिएर पनि इन्टर्नसिप गर्न पाउनु पर्छ भनेर माग गरेका हौं।’

उनी आफ्नो उमेर पनि हर्किँदै गएकोमा दुःख पोख्दै भन्छन्, ‘इन्टर्नसिप गरेपछि एनएमसी त नेपालमै गर्दा पनि हुन्छ। २९ वर्ष लागिसके अहिलेसम्म केही गर्न सकेको छैन। अब कहिले एमडी गर्ने हो। यो भन्दा अझ टेण्सन त घरको छ। घरमा पनि कोही कमाउनेवाला मान्छे छैनन्। बुबाआमाले भएको सम्पत्ति पनि सबै बेचेर मलाई पढाएका हुन्। यस्तो अवस्थामा हामी भन्दा अझ घरको मान्छे डिप्रेशनमा जाने अवस्था भइसक्यो।’

घरमा आमा, बुबा र पढ्दै गरेका भाई बैनी रहेको बताउने उनले बुबाले जोडेको घडेरी बचेर पढेको सुनाए। उनले गुनासो गर्दै भने, ‘म किसानको छोरा हुँ। बुबाको सानो क्लिनिक पनि छ। कमाइ भनेको त्यही क्लिनिकबाट हो। त्यो पनि बैनी, भाई पढिराखेका छन्। उनीहरुको लागि पनि खर्च गर्नु पर्यो।’

उनी नेपाल सरकारप्रति दुखेसो गर्दै भन्छन्, ‘हाम्रो नेपाल भनेको राम्रो नेपाल हो। तर, सरकारले राम्रो कुरामा ध्यान नै दिँदैन। औषतमा ४० लाख मेरो खर्च भयो। म नपढेर ब्याजमा लगाएको भए त्यो पैसाले जति खाए पनि पुग्थ्यो, अझ उब्रिन्थ्यो पनि। देश र देशका जनताकै लागि केही गरौं भनेर न पढेको हो। मलाई बुबाले घर बनाउन ठिक्क पारिराखेको रोड छेउको १ कठ्ठा ६ धुर जग्गा बेचेर पढाउनु भएको हो। त्यसले नपुगेर शैक्षिक लोन पनि लिएको छु।’

उनी थप्छन्, ‘अब हामी के गर्ने? सरकारले कि त हामीलाई चाइनाकै बासिन्दा बनाइदिनु पर्यो। चाइनाले त स्वीकार गरि हाल्छ होला नि।’
इन्टर्नसिप गर्न नपाइराखेका सन् २०१४ र २०१५ ब्याचका सयौं विद्यार्थीहरुको डाक्टर बन्ने सपना अहिले करिब १२ देखि १५ प्रतिशतको पढाई र प्राक्टिकल आदिले अड्किएको छ। ती विद्यार्थीहरुले एनएमसी (नेपाल मेडिकल काउन्सिल) लाई इन्टर्नसिप गर्ने व्यवस्था मिलाइदिनु भन्दै धेरै पटक इमेल गरेका छन्। तर, एनएमसीले भने कुनै प्रतिक्रिया नदिई केही थाहा नभएजस्तो गरी बसेको छ।’

सोही कुरालाई लिएर महतो दुखेसो गर्दै भन्छन्, ‘यहाँ (नेपाल) त अगाडि बसेर भनिराख्नु पर्छ कि त आन्दोलन नै गर्नुपर्छ अनि मात्रै अलिअलि ध्यान दिन्छन्। १० पटक बोलायो भने बल्लबल्ल एकपटक अ वा ह भन्छन्। अझ फोन गरेर गुनासो गर्यो भने त झन कसैले सुन्दै सुन्दैन्। हामीले बारम्बार एनएमसीलाई इमेल गरिराखेका छौं । केही कुराको रेस्पोन्स नै आएको छैन।’

अब देशमा लकडाउन खुकुलो हुनासाथ आन्दोलन गर्ने सोच बनाएको बताउने उनले अगाडि भने, ‘अहिले त हामीलाई पढ्नु र इन्टर्नसिप दिनुसँग मलतब छ। नेपालमा नियम छैन भने र नियम परिवर्तन गर्नु हुन्न भने हामीलाई त्यही (चाइनामा) सुरक्षित तरिकाले पुर्याइदिएर इन्टर्नसिप गर्ने वातावरण गराइदिनु पर्यो। कि त यही नियम बनाएर सुविधा गराइदिनु पर्यो। कमसेकम यति गरिदिएको भए हामीले अहिलेसम्म इन्टर्नसिप त गरिसकेका हुन्थ्यौं।’

पढ्दै गरेको कलेजले चाहीँ केही निर्णय लिएको छैन त? भन्ने जिज्ञासामा महतो भन्छन्, ‘सबभन्दा पहिला उता(चाइना)को कलेजलाई म के भनौं। उताको कलेज भनेको अरुको घर हो। आफ्नो लाई त केही भन्न सकिराखेका छैनौं भने अरुलाई हामी के भनौं। उसले त तिमीहरुको देशमै इन्टर्नसिप गर्न मिल्छ भने लेटर लेखिदिन्छु भनिराखेको छ नि। तर, यताकोले मान्नु पर्यो नि।’

यतिबेला उनीहरुको पहिलो माग भनेको जहाँ भएपनि इन्टर्नसिप गर्न पाउनु पर्यो भन्ने नै हो। तर विश्वलाई कोभिडले तहसनहस पारिरहेको अहिलेको अवस्थामा ती विद्यार्थीहरुलाई पनि क्षमताले भ्याएसम्म सरकारले स्वास्थ्य क्षेत्रमा खटाइदिएको भए संक्रमितलाई धेरै राहत मिल्ने थियो। र, कतिपय अस्पतालमा भएको स्वास्थ्यकर्मीको अभावलाई पूर्ति गर्ने थियो। तर, त्यतातिर सरकारको ध्यान जान सकेको छैन् र सो विषयप्रति सम्बन्धित निकायले पनि सरकारको ध्यान केन्द्रित गराउन सकेको देखिँदैन।

यही विषयलाई लिएर महतो यसो भन्छन्, ‘यो कोभिडको बेला हाम्रो बारेमा सबभन्दा पहिला हाम्रो नेपाल मेडिकल काउन्सिलले, कि त सरकारले सोच्नु पथ्र्यो। अहिले धेरै इन्टर्नसिपका विद्यार्थी छन्। यिनै विद्यार्थीमार्फत पनि जनतालाई सेवा दिन सक्छौं भन्ने हुनुपर्ने हो। मान्छेहरु डाक्टर खोजिराखेका छन् तर हामीहरु अहिले घरमा त्यतिकै बसिराखेका छौं। हामी चाइनामा त्यतिकै बसेर त आएका होइनौ नि । हामीलाई इन्टर्नसिप कोभिड वाडमै दिएको भए पनि त हुन्थ्यो।’

उनले गुनासो गर्दै भने, ‘मान्छेलाई जन्मिनासाथ केही थाहा हुन्छ र? यो बेलामा हामीले पनि मज्जाले सिक्थ्यौं। कोभिड वाडमा पठाउँदा रिक्स हुन्छ तर पनि हाम्रो पढाइ, गराई नै यही हो भने जस्तोसुकै रिक्समा पनि काम गर्न तयार हुन्छौं। कतिपय डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी कोभिडका कारण मरिराखेका छन्। तरपनि उनीहरुले डरले काम गर्दिन, छुट्टिमा बस्छु भनेर आजसम्म भनेका छैनन्। त्यसैले हामी पनि मौका दिएको भए काम गर्न खुसीसाथ तयार हुन्थ्यौं।’

अहिले पनि संक्रमितको सेवा गर्ने मौका पाएमा गर्नुहुन्छ?, भन्ने जिज्ञासामा उनी भन्छन्, ‘यस्तो अवस्थामा हामीलाई सरकारले खटाइदियो भने त हामी आफूलाई भाग्यमानी नै ठान्छौ नि। यस्तो समस्यामा हामीले पनि केही सेवा गर्न पायौ भनेर। यो त सरकारले सोच्ने कुरा हो। अहिले कोभिडको लागि राम्रो राम्रो डाक्टर व्यस्त हुनुहुन्छ। उनीहरुको काम त हामीले अहिले नै गर्ने त होइन तर हामीलाई उहाँहरुको हेल्परको रुपमा राखियो भने ती डाक्टरले अरु बिरामी पनि हेर्न भ्याउनु हुन्थ्यो।’

अन्त्यमा, ‘विवाह गर्नु भएको छ कि छैन?, परिवार पनि पाल्नु पर्ने होला भन्ने जिज्ञासामा महतो दुःखी हाँसो मज्जाले हाँस्दै भन्छन्, ‘कहाँ बिहे गर्नु? यहाँ आफ्नो त यस्तो हालत छ, अरुलाई कसरी पाल्नु नि।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *