भारतमा फैलिएको र नेपालमा देखिएको कालो ढुसी के हो? यसो भन्छन् विज्ञ – Dcnepal

भारतमा फैलिएको र नेपालमा देखिएको कालो ढुसी के हो? यसो भन्छन् विज्ञ

काठमाडौं। केही हप्ता पहिला भारतमा कोरोनासँगै जोडिएर अर्को रोगले चर्चा पायो। म्युकोर्माइकोसिस जसलाई कालो ढुसी भनेर पनि चिनिन्छ, उक्त रोगका कारण धेरैले ज्यान गुमाए। नेपालमा पनि यसको प्रकोप देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा केही स्थानमा, केही व्यक्तिहरुमा कालो ढुसी प्रमाणित भयो भनेपछि काठमाडौं उपत्यकाका विभिन्न अस्प्तालमा काम गर्ने डाक्टरहरुसँग कुरा गरेका छौं।

के हो कालो ढुसी ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन कालो ढुसीलाई अवसरवादी रोगको संज्ञा दिन्छन्। डा. पुनले डिसी नेपालसँग भने, ‘यो अवसरको खोजीमा हुन्छ। यसलाई अवसरवादी रोग पनि भन्न मिल्छ। जव मानिसको रोगप्रतिरोधी क्षमता कम हुन्छ तब यो सक्रिय हुन्छ।’

अस्पतालहरुमा कोरोना भएका र स्टेरोइड धेरै प्रयोग गरिएका विरामीहरुलाई यो रोग बढी देखिएको छ। स्टेरोइडले शरीरमा सुगरको मात्रा बढाउँछ भने रोगप्रतिरोधी क्षमतालाई घटाएको हुन्छ। हालसम्म यसको मृत्युदर पनि बढी रहेको डा. पुनको भनाइ छ।

‘ढुसी भनेपछि सरल रुपमा बुझ्न सकिन्छ,’ डा. पुनले भने, ‘जसरी हाम्रो वरपर अरु ढुसीहरु ओसिलो ठाउँमा हुन्छ, बोटविरुवामा हुन्छ त्यो नै मानिसमा हुने हो। सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट मानिसमा सर्ने गर्दछ।’

विशेष गरी भारतमा स्टेरोेइड र अक्सिजन हरेक व्यक्तिले आफ्नो तरिकाले प्रयोग गरे। अक्सिजनको अभाव भएकाबेला जहाँ भेटियो त्यही लगाएका कारण र बढी मात्रामा स्टेरोइड प्रयोग गरेकाले पनि यो रोग सुपर इन्फेक्सनका रुपमा देखिएको डा. पुनको भनाइ छ।

लक्षणहरु के हुन् ?

कालो ढुसीले हाम्रो शरीरमा आक्रमण गर्न थालेको अवस्थामा धेरै लक्षण देखिने भए पनि सबै भन्दा पहिला अनुहारबाट यसको सुरुवात हुने डा. पुनको भनाइ छ। सिभिल अस्पतालका डा. सुमनबाबु मरहठ्ठा पनि यसले सबै भन्दा पहिला अनुहारमा नै आक्रमण गर्ने बताउँछन्।

उनले भने, ‘अनुहारबाट यसको लक्षण देखिन्छ। सामान्यतः हाम्रो अध्ययन अनुसार हालसम्म भारतमा विकराल रुप लिए पनि नेपालमा धेरै देखिएको छैन। वीर अस्पतालमा देखिएको भन्ने छ। सिभिलमा छैन।’

विषेश गरी आँखामा सम्स्या देखिनु, मुख सुनिने, आखाको ढकनी तल झरे जस्तो, ज्वरो आउने, आखाको वरिपरी कलर देखिने, छातिमा पनि समस्या हुनु यसका लक्षण हुन्। डा. पुनले झै डा. मरहठ्ठाले भने, ‘नाकबाट कालो चिज आउने, रगत आउने, अनुहार फुलेर आउने, खोकी लाग्ने, निमोनियाका लक्षणहरु पनि देखिने हुन्छन् अन्ततः ब्रेनलाई पनि यसले असर गर्ने गर्छ।’

अन्य देशमा यसको प्रकोप नदेखिएकाले यसलाई कोरोनाकै कारण आएको हो भन्ने पक्षमा डाक्टरहरु देखिँदैनन्। ‘भारतमा यो देखियो, भारतको प्रभाव नेपालमा परेको हो। हामी धेरै कुराहरु भारतमा देखिएपछि नेपालमा आएको देख्न पाउँछौं। त्यस्तै यो पनि त्यहाँ देखिएको हो नेपालमा पनि आयो,’ डा. मरहठ्ठाले भने।

यसबाट बच्ने उपाए के हुन् त ?

भक्तपुर अस्पतालका फिजिसियन डा. सुनिल ढुङ्गेल अस्पतालमा भर्ना भएका विरामीहरुमा यो रोग बढी देखिएको सुनाउँछन्।

डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘हामीले अस्पतालमा भर्ना भएर बसेका कोभिडका विरामीहरुलाई यो रोग धेरै देखिएको भेटेका छौं। भारतलाई पनि अध्ययन गर्ने हो भने धेरै जसो विरामीहरु अस्पतालमा भर्ना गरिएका थिए र उनीहरुमा विशेष देखिएको छ।’

त्यसैले यसबाट बच्च ब्यक्तिगत भन्दा पनि अस्पतालहरुले नै यि विषयमा अलि बढी गम्भिर हुने की भन्ने पनि हुन्छ। यसो त सिभिल अस्पतालका डा. मरहठ्ठा पनि यसको रोकथाम तथा बच्ने उपाए ओभरअल म्यानेजमेन्ट सिस्टमको हातमा भएको बताउँछन्।

‘तर पनि, हामीले सरसफाइमा ध्यान दिनु पर्छ,’ डा. ढुङ्गेलले भने, ‘हामीले व्यक्तिगत र सामुहिक सरसफाइबाट यसको रोकथाम गर्न सक्छौं। घाममा बस्ने, बाहिर छोएपछि सिधै हातमुख नछुने, अझ विशेषगरी रोगप्रतिरोधी क्षमता कम भएलाई लाग्ने भएकाले उनीहरुले ख्याल गर्नु पर्छ।’

भारतको अध्ययनबाट जथाभावी अक्सिजन र स्टेरोइड औषधिको प्रयोग भएकाले धेरै देखिएको भन्दै डा. ढुङ्गेलले त्यस्ता जथाभावी औषधि खाने बानीलाई हटाउनु पर्ने बताए।

‘ढुसी बढ्दै गएको अवस्थामा छालाहरु र हड्डी पनि खाने गर्छ। फोक्सोमा पुग्यो भने निमोनिया, फोक्सोलाई पुरै ध्वस्तै पार्छ,’ डा. ढुङ्गेलले भने, ‘ढुसी लागेपछि जुनसुकै विधिबाट उपचार गरे पनि ५० प्रतिशत मान्छेको ज्यान गएको देखिन्छ। त्यसैले यसको मृत्युदर पनि धेरै छ भन्ने हो।’

डाक्टरहरुको अनुमति विना औषधि सेवन गर्नै नहुने हो। हामीले प्रयोग गर्ने अक्सिजनको पानी पनि शुद्ध नहुन सक्छ त्यसैले पनि यस्ता समस्याहरुको विकास हुने विज्ञहरुको भनाइ छ। गर्मी महिनामा ढुसीको अलि बढी प्रकोप हुने डा. पुनको भनाइ छ। डा पुन कोरोना निको भएपछि पनि हरेकले आफूलाई ख्याल गर्नु पर्ने बताउँछन्।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो