हावाहुरी र चट्याङको जोखिम बढ्दो: उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह
काठमाडौं। पछिल्लो समय देशभर हावाहुरी र चट्याङका घटनामा वृद्धि हुन थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ। प्राकृतिक प्रकोपबाट हुन सक्ने जनधनको क्षति कम गर्न प्राधिकरणले जनहितमा जारी गर्दै विभिन्न सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गरेको हो।
प्राधिकरणले जारी गरेको सूचना अनुसार, तीव्र वेगमा हुरी चलेको समयमा घरका झ्याल–ढोका राम्ररी बन्द गर्न र आगलागीको जोखिम न्यूनीकरणका लागि आगोका स्रोतहरूलाई सुरक्षित रूपमा निभाउन वा बन्द गर्न भनिएको छ।
यस्तो मौसमी प्रतिकूलताको समयमा खुला मैदान, रूखमुनि वा असुरक्षित ठाउँमा नबस्न समेत सुझाव दिइएको छ। बाटोमा यात्रा गरिरहेका वा सवारीसाधन (विशेष गरी मोटरसाइकल) चलाइरहेका व्यक्तिहरूलाई यात्रा स्थगित गरी तत्काल सुरक्षित आश्रयस्थलमा ओत लाग्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले विपद्को समयमा मानिसहरू आत्तिएर भागदौड गर्दा थप क्षति हुन सक्ने भएकाले संयमित रहनुपर्नेमा जोड दिनुभएको छ। भीडभाड भएका स्थानमा शान्त रहँदै सुरक्षित स्थानतर्फ जान र सरकारी निकायले जारी गरेका सूचनाहरूको पालना गर्न उनले आग्रह गरे।
वैशाख महिनामा मौसममा आउने यस्तो फेरबदल र हावाहुरीको प्रभाव अझै केही समय रहन सक्ने भएकाले पूर्वतयारी र सचेतना नै सुरक्षित रहने मुख्य उपाय भएको प्राधिकरणको निष्कर्ष छ।







डिसी नेपाल







Facebook Comment