अर्थमन्त्री डा. वाग्लेको अभिव्यक्तिप्रति प्रदीप ज्ञवालीको आपत्ति
काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्याउने खालको भएको बताएका छन्। ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन्। नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने धारणा मान्न नसकिने उनको भनाइ छ।
नेपाल र भारतबीच रहेका विभिन्न समस्याबारे चर्चा गर्दै ज्ञवालीले सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्यालाई उठाएका छन्। नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा पनि भारतले आनाकानी गरिरहेको उनको आरोप छ।
छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन्। उनका अनुसार यी विषय उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो। राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उनले बताएका छन्।
ज्ञवालीले नेपाल र भारतबीचका समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्। यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने भन्दै उनले सम्बन्ध सुधारका लागि समस्याको स्पष्ट पहिचान र समाधान आवश्यक रहेको बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment