प्रशंसा पाउन मृत्यु हुनै पर्ने हो ?

सम्भव सिंह ठकुरी
२० जेठ २०७८ १५:२०

काठमाडौं। मृत्यु पछिको प्रशंसा र जिउँदो हुँदाको अनावश्यक आलोचना नेपाली राजनीतिको पुरानै संस्कार हो। पञ्चायतकालमा शासक र निरंकुश देख्ने संसदवादी नेताहरुनै अहिले स्वर्गीय राजा वीरेन्द्रलाई लोकतान्त्रिक र संवैधानिक राजा मान्छन्।

त्यसैगरि जनप्रिय नेताको छवि बनाएका कम्युनिष्ट नेता मदन भण्डारीले प्रतिवादन गरेको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)  लाई वुर्जुवा वर्गको सिद्धान्त मान्ने सोही पाटीको केही नेताहरु पनि थिए।

तर सोही  सिद्धान्त र विचारको आलोकमा नेकपा एमाले ले पटक पटक देशको वागडोर सम्हालिसकेका छ । हाल संसदमा सबै भन्दा ठूलो दलको रुपमा नेतृत्व गर्ने एमाले सोही धरातलमा छ।

जिउँदो हुँदा गुण र दोष ठम्याउन नसक्ने नेपाली समाजमा मृत्यपश्चात गुणमात्र देखेको र देवत्वकरण गरेको उदाहरण धेरै छ। यसरी बुझ्दा नेपालीहरु के साँच्चिकै भावनात्मक हुन् ? यो प्रश्न निकै पेचिलो बनेको छ।  सत्ता र सरकारको लागि जस्तो सुकै मूल्य चुकाउने नेपालको राजनीतिक खेलमा भावनालेमात्र केही अर्थ राख्ला र ? यहाँ यही प्रश्नको उत्तर खोज्ने जमर्को गरिएकाे छ  ।

मंगलबार विवेकशील नेपाली दलको संस्थापक तथा विवेकशील साझाका पूर्व संयोजक युवा नेता उज्ज्वल थापाको कोरोनाका कारण ४४ वर्षको अल्पायुमै मृत्यु भयो। नेपालमा परम्परागत राजनीतिको एकाधिकार भएको र भ्रष्टचार मौलाएको भन्दै त्यस्को सिन्डिकेट तोड्न र देशमा वैकल्पिक राजनीति शक्तिको आवश्यकता ठानेर रचनात्मक प्रदर्शनबाट युवाहरुको मन थापाले जितेका थिए।

थापाको नेतृत्वमा धेरै पटक सडकमा शान्तिपूर्ण प्रदर्शन भयो। कुनै हिंसात्मक कार्य भएन । सडकमै बसेर प्लेकार्ड देखाएर आफ्नो अधिकार र कर्तव्य निर्वाह गरे ।

अरु कसैलाई समस्या नपारी शान्ति पूर्वक प्रदर्शन गर्ने उनको कार्य प्रसंशनीय थियो । प्राय जनजीविकाका मुद्दामा लगातार प्रदर्शन गर्ने हुँदा धेरै शहरिया युवाहरुलाई राजनीतिको महत्व र सरकारको गलत कदममा प्लेकार्ड बोकेर राजनीतिप्रति आकर्षण गर्न सिकाउने उनै थापा थिए।

उनको मृत्युमा देशका प्रमुख दलहरु एमाले, कांग्रेस, माओवादीलगायतले वक्तव्य नै निकालेर शोक ब्यक्त गरे। त्यस्तै राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीलगायत विभिन्न दलका नेता,मन्त्री र लाखौँ नागरिकले देशले योग्य र परिवर्तकारी युवा नेता गुमाएको भन्दै सामाजिक सञ्जालका भित्ताहरु समवेदनाले भरिएका छन्।

जनताको मनमा बस्न कुनै सार्वजानिक पद धारण गरेको हुनुपर्ने, चर्को भाषण र अर्काको विरोध गर्नुपर्ने भन्ने मान्यता उनको मृत्युले तोडेका छ।उनी बिरामी हुँदा नागरिहरुले स्वतस्फूर्त रुपमा दुई दिनमै करिब ५० लाख आर्थिक सहयोग जुटेको विवेकशील साझा पार्टीले जनाएको छ।

करिव एक दशक देखि वैकल्पिक राजनीति गरेका थापा ०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर ५ बाट विवेकशील साझा पार्टीका रुपमा उमेद्वार बनेका थिए। तर उक्त निर्वाचनमा विपक्षी उमेद्वार बिरुद्ध प्रतिस्पर्धात्मक मत ल्याउन सकेनन्।

सो क्षेत्रबाट उमेद्धावार भई विजयी बनेका एमाले महासचिव ईश्वर पोखरेल अहिले देशको उपप्रधानमन्त्री  छन्। पोखरेल विरुद्ध चुनावमा प्रतिस्पर्धी उमेद्वार थिए कांग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महत।

देशका ठूला दलका ठूला नेतासँग प्रतिस्पर्धा गरेका थापाले मत पाएनन्। तर बिरामी भएयता देखिनै लाखौँ शुभेच्छुकको मन पाए, सद्भावको फूलको वर्षा भयो।

पुराना दलले देश बिगा-याे,  देशमा आर्थिक समृद्धि हुन सकेन, भ्रष्टचार मौलायो भनेर ठूला दलको नेतालाई गाली गर्ने जमात हाम्रो समाजमा ठूलो छ।  तर चुनावमा तिनै दलका नेतालाई जिताउन आफ्नो शक्ति किन खर्च गर्छन् ? देश बनाउने सक्षम नेतालाई मृत्यु पछिको प्रशंसा गर्ने संस्कारले देश बन्ला ?

संसदीयय व्यवस्थामा देश बनाउन पक्कै पनि निर्वाचन जिताउनै पर्छ। मुत्यु पछिको प्रशंसा र श्रद्धाञ्जलि मानवीय दृष्टिकोणले राम्रो हो। तर असल नेतालाइ,मुल्याङ्कन गर्न उनले मृत्यु वरण गर्नै पर्ने हो र ?

राजनीतिक विश्लेशक पुरञ्जन आचार्यका अनुसार नेपाली समाजमा चुनावमा लोकप्रिय मत पाउनु र व्यक्ति लोकप्रिय हुनुमा धेरै फरक छ। अव हुने चुनावमा पनि वैकल्पिक शक्तिलाई परम्परागत दलका सानै नेताले हराउन सक्छ।

राजनीतिक विश्लेशक पुरञ्जन आचार्य

‘किनकि हाम्रो व्यवस्था र हाम्रो समाजको मनोविज्ञान हत्तपत्त नयाँलाई स्वीकार्न सक्ने खालको छैन,’ आचार्यले डिसी नेपालसँग भने, ‘मान्छे असल हुनु र निर्वाचनमा विजय हुनु यो वहसको विषय बन्छ। जस्तो अहिलेका प्रधानमन्त्री केपी ओलीको सर्वत्र विरोध भएको छ,तर विकल्पमा शेरबहादुर देउवा छन्। ओली, देउवा दुवै पुरानो नेता हुन् र दुवैको कार्य कौशलता हामीले हेरेको हो नि?’

नेपाली समाजको परम्परागत मनोविज्ञानका कारण कुनै पनि व्यक्ति राम्रो हो भन्ने थाहा हुँदा हुँदै पनि नयाँ युवा शक्तिलाई अझै पनि चुनौती हुनक्ने उनको तर्क छ।

उनले अगाडि भने, ‘उज्ज्वल थापाले युवाहरुको नेताका रुपमा आफूलाई प्रमाणित गरेर संसार छोडे। अहिले पुराना र स्थापित दलका अधिकांश नेता भनेको पार्टीका नेता मात्र छन्। जनताको नेता कोही पनि छैनन्। जनताको नेता पार्टीभन्दा बाहिरको पाउन मुस्किल छ। थापाले परम्परागत नेताको भन्दा फरक पहिचान बनाएका थिए।’

उज्ज्वल व्यक्ति भन्दा पनि जनजीविकाको मुद्दामा केन्द्रीत देखिने गरेको आचार्यले बताए।  ‘उज्ज्वल सडकबाटनै युवालाई आकर्षित गर्न सकेका थिए। अहिले केपी शर्मा ओली वा शेरबहादुर देउवा उनीहरु सडकमा हिँडे भने आफ्नो कायकर्ता बाहेक कोहीलाई आकर्षण गर्न सकेका छैनन्,’ उनले भने।

उज्ज्वलको लागि लाखौं उपचार खर्च नागरिकले जुटाईदिनु र उनको मृत्युमा ठुलाे संख्यामा नागरिकबले सक्षम नेता गुमाएको भन्दै दुःख व्यक्त गर्नुले अब विस्तारै परम्परागत दलप्रतिको मोह कम भन्न सकिने उनकाे भनाइ छ ।

युवा नेत्री मानवी पौडेल

युवा नेत्री मानवी पौडेल लामो समय उज्ज्वल थापाको अभियानमा संगल्न थिइन्। उनको बुझाइमा पनि नेपाली समाज बिचित्रको छ। भन्छिन्,
‘समाज परिवर्तनका लागि स्वदेशमा केही गर्छु भनेर फर्केको युवालाई बाताबरण नदिने। अहिले भौतिक रुपमा नरहेपछि तिनीभन्दा असल कोही थिएन भन्ने।’

नेत्री पौडेलका अनुसार यो दिखावा प्रवृत्तिले देशलाई , समाजलाई त नोक्सान हुन्छ नै ब्यक्तिका परिवारलाई कति ठूलो पिडा हुन्छ होला भन्ने तर्फ कसैको ध्यान गएको देखीएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *