माधव समूहको निष्कर्ष: ओलीले वार्ताको जालमात्र फालिरहेका छन्

डिसी नेपाल
२० जेठ २०७८ १९:०१

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेमा विगत लामो समयदेखि चर्किएको विवादका बीच विहीबार माधव नेपाल समूहको केन्द्रीय सदस्यहरुको भेला भयो। जूम प्रविधिबाट भएको भेलामा विहीबार अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ता गरिरहेका नेताहरु र केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेका छन्।

यो बैठक शुक्रबारसम्म चल्ने केन्द्रीय सदस्य जगनाथ खतिवडाले जानकारी दिए। उनका अनुसार विहीबार केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्नेक्रम जारी छ। उनले डिसी नेपालसँग भने, ‘बैठक भोलि पनि चल्छ, आज केन्द्रीय सदस्यहरुले बोल्नु भएको छ। बोल्ने सबै केन्द्रीय सदस्यहरुको एउटै मत आएको छ। पार्टी एक ढिक्का बनाउन हुने वार्तालाई स्वागत नै गर्नुपर्छ। तर आफ्नो दृष्टिकोण पनि स्पष्ट राख्नुपर्छ भन्ने कुरा आयो।’ ओली समूहबाट वार्ताका नाममा जाल फाल्ने काम भएकोसमेत केन्द्रीय सदस्यहरुले बताएका छन्।

उनका अनुसार विहीबार बैकठमा केन्द्रीय सदस्यहरुले ओली समूहसँग भइरहेको अनौपचारिक वार्ताबारे जानकारी मागेका थिए। त्यसपछि वार्तामा सहभागी सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले वार्ताबारे ब्रिफिङ गरेका थिए। उनीहरुले वार्तामा कुनै प्रगति भइनसकेको तर अन्तिम समयसम्म पनि पार्टी एकताका लागि पहल गर्ने जनाएका थिए। तीनैजनाको भनाइ एउटै आएको खतिवडाले जानकारी दिए। वार्तामा नाममा ओली समूहले आफूहलाई अल्झ्याउने, कमजोर पार्ने रणनीति लिएकोसमेत बैठकमा कुरा उठेको थियो।

पछिल्लो केही दिन यता मावध समूहमै फुट आएको समाचारहरु बाहिरिएका थिए। सो विषय विहीबारको बैठकले स्पष्ट भएको खतिवडाले बताए। उनले भने, ‘हाम्रो समूह एक ढिक्का छ। आजको बैठकबाट सबै भ्रमहरु निवारण भएका छन्। बाहिर हल्ला चले जस्तो हाम्रो समूहमा कुनै समस्या छैन।’ विहीबार बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेका योगेश भट्टराई पनि सहभागी थिए।

विहीबार र शक्रबार केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखेपछि वरिष्ठ नेताहरुले निष्कर्ष सुनाउने तय भएको छ। माधव समूह एमालेमा संघर्ष गरेर बस्ने कि नयाँ पार्टी खोलेर अगाडि बढ्ने भन्ने द्विविधामा छ।

उता माधव समूहको यो बैठकलाई अवैधानिक भन्दै एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले विहीबार एक विज्ञप्ति जारी गरेका थिए। उनले एमालेको बैठकका नाममा गुटको भेला भन्दै भत्र्सनासमेत गरेका थिए। तर विहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी अनिश्चितकालका लागि स्थगित भएको छ। ओलीले पार्टीका ११ जना नेताहरुलाई पार्टीबाट निष्कासन गरेर बाँकी १२ जनासँग स्पष्टीकरण सोधेका थिए। तर, ती १२ जनाले जवाफ नदिए पनि कुनै निर्णय भने भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *