जालसाँझी गरेको आरोपमा एक नेपालीले अमेरिकामा सजाय पाए

डिसी नेपाल
२१ जेठ २०७८ ६:५७

वासिंगटन डिसी। अमेरिकाको भर्जिनिया राज्यमा व्यापार गरेर बसेका एकजना नेपालीलाई गैरकानूनीरुपले राज्यको रकममा जालसाझी गरेको आरोपमा ठूलो रकम सजाय भएको छ।

उनले २ लाख ३० हजारभन्दा बढी रकम सजायस्वरुप फिर्ता गर्नु परेको संधीय अभियोजनकर्ताद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

इष्टर्न डिष्ट्रिक भर्जिनियाका एक्टिंग युएस एटर्नी राज पारेखद्वारा जारी विज्ञप्तिमा केसी इन्भेष्टमेण्ट्स ग्रुप,इन्क(केसी इन्क)ले पे चेक प्रोटेक्सन प्रोग्राम(पीपीपी) अन्तर्गत धेरै लोन लिएर जालसाँझी गरेकोमा जालसाँझी गरेको रकम अमेरिकी सरकारलाई फिर्ता गर्नु परेको उल्लेख गरिएको छ।

सुनु पी. केसी नाम गरेका ती नेपाली मुलका व्यापारी भर्जिनियाको च्यान्टलीमा कम्पनी खोलेर व्यापारमा संलग्न थिए। उनले कोरोना महामारीमा अप्ठेरोमा परेका साना लगानीका व्यापारीहरुलाई अमेरिकी सरकारले सुविधास्वरुप दिने पीपीपी प्रोग्रामअन्तर्गतको रकममा जालसाझी गरेर बढी रकम लिएको आरोप लागेको छ।

केसीले सञ्चालन नरहेको केसी इन्भेष्टमेन्ट ग्रुप र हालको केसी इन्क दुबैका नाममा पीपीपी अन्तर्गतको सुविधा लिएको तर दुबैको रकम एउटै कम्पनी केसी इन्कको खातामा जम्मा भएको देखिएको आधारमा उनको अनुसन्धान भएको थियो।

अनुसन्धानका क्रममा जालसाझी प्रमाणित भएपछि उनलाई २ लाख ३० हजार ४ सय १४ डलर ६५ सेन्ट जरीमाना गर्ने निर्णय जुन २ बुधबार गरिएको थियो। उनलाई सो रकम ३० दिनभित्र फिर्ता गरिसक्न आदेश दिइएको छ।

आर्थिक अपराध गरेको भए पनि सजायसहित रकम फिर्ता गर्न केसी राजी भएपछि यो प्रकरणलाई आपराधिक मुद्धातिर नलगिएको र सिभिल फ्रडका रुपमा रकम सजाय गरेर सल्टाइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *