राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

डिसी नेपाल
२१ जेठ २०७८ ११:३४

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मैजुदा मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका छन्। सरकारलाई समर्थन गर्दै आएको जनता समाजावादी पार्टी (जसपा) सरकारमा सहभागी हुने तय भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरेका हुन्।

स्रोतका अनुसार जसपा आजै सरकारमा सहभागी हुने संभावना छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने पक्का भएको हो।

स्रोतका अनुसार महताले उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहाभागी हुने तय भएको हो। यद्यपी मन्त्रालय परिवर्तन हुन सक्ने बताइएको छ।

बिहीबार राति प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच लामो छलफल भएको थियो। उक्त छलफल पनि जसपा आजै सरकारमा सहभागी हुने तय भएको हो। जसपालाई आठ मन्त्रालय दिने यसअघि नै सहमति भइसकेको छ। जसपाले आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा पठाउने तयारी गरेको छ।

स्रोतका अनुसार राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भएको जसपाबाट नेताहरु शरतसिंह भण्डारी, विमल श्रीवास्तव, अनिल झा, उमशंकर अरगरिया सरकारमा सहभागी हुने तय भएको छ। अन्य नेताहरुका विषयमा छलफल जारी रहेको जसपा स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच आज फेरि छलफल भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारलाई राष्ट्रिय सरकारको स्वरुप प्रदान गर्ने गरी तयारी गरिरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

जसपा सरकारमा सहभागी हुने तय भएपनि सो विषयमा राष्ट्रपति कार्यालयलाई कुनै जानकारी गराइएको छैन। नयाँ मन्त्री नियुक्त हुने दिन सपथको तयारीका लागि राष्ट्रपति कार्यालयलाई पूर्व जानकारी दिने चलन हुनछ।

‘अहिलेसम्म नयाँ मन्त्रीको सपथ ग्रहणका लागि भनेर प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी आएको छैन,’ राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले भने।

त्यसका लागि प्रधानमन्त्री ओलीले नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहाभागी हुन आग्रह गरेका छन्। नेमकिपाले भने आफूहरुको सरकारमा सहभागी हुने नीति नरहेको जवाफ दिएको छ। तर राप्रपा भने सरकारमा सहाभागी हुन सकारात्मक रहेको बताइएको छ।

राप्रपाबाट अध्यक्ष कमल थापा आफैं सरकारमा सहभागी हुन इच्छुक रहेका छन्। तर अध्यक्षद्वय पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनी त्यसका लागि तयार नभएको स्रोतले जनाएको छ।

थापाले गृह वा परराष्ट्र मन्त्रालय दाबी गरेका छन्। तर ती दुवै मन्त्रालय दिन नसकिने प्रधानमन्त्रीले जवाफ दिएका छन्। यसअघि ओली नेतृत्वको पहिलो सरकारमा थापा परराष्ट्रमन्त्री थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *