माधव समूहको भेलाः वार्ता र संघर्षसँगै लिने रणनीति

डिसी नेपाल
२१ जेठ २०७८ १९:०२

काठमाडौं। दुई दिनसम्म चलेको एमालेको माधव समूहको केन्द्रीय सदस्यहरुको भेलाले तत्काल पार्टी विभाजन नगर्ने निष्कर्ष निकालेको छ। विहीबार शुरु भएर शुक्रबार सकिएको भर्चुअल भेलाले पार्टीलाई एकतावद्ध बनाउन वार्ता पनि गर्ने र संघर्षको कार्यक्रम पनि जारी राख्ने निष्कर्ष निकालेको एक केन्द्रीय सदस्यले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘यो दुई दिने भेलाको औपचारिक निष्कर्ष भोलि (शनिबार) जारी गर्छौ। आजभन्नुपर्दा वार्ता र संघर्षलाईसँगै लाने कुरा भएको छ।’

उनले संघर्षबारे थप प्रस्ट्याउँदै भने, ‘अहिले हामीले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीका संरचना बनाएका छौं। ती संरचनालाई सुदृढ बनाउने, संरचना नभएका जिल्लाहरुमा संरचना बनाउने ओली प्रवृत्तिको भण्डाफोर गर्ने कुरा छन्।’

भेलाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली वार्ताप्रति सकरात्मक नभए पनि आफ्नो तर्फबाट हरसम्भव पहल गर्ने निष्कर्ष निकालेको छ। तर, यस्तो वार्ता पार्टीबाट निष्कासन गरिएका नेताहरुको कारबाही फुकुवा भएपछिमात्र सम्भव हुने ती केन्द्रीय सदस्यले बताए। उनले भने, ‘अहिले भइरहेका वार्ता अनौपचारिक हुन्। कारबाही फिर्ता भएपछि औपचारिक वार्ता हुन्छ।’

दुई दिने भेलामा ओली समूहका नेताहरुसँग औपचारिक वार्ता गरेका घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले अनौपचारिक वार्तामा भएको छलफलबारे व्रिफिङ गर्नुका साथै आफूहरु ओली समूहमा नगएको स्पष्ट पारेका थिए।

ती केन्द्रीय सदस्यले भने, ‘आजको बैठकबाट हाम्रो समूह एकजुट छ भन्ने स्पष्ट भएको छ। उहाँहरु (वार्तामा सहभागी)ले वार्ताबारे स्पष्ट पार्नु भएको छ। ओली वार्ताप्रति सकरात्मक नभए पनि आफूहरुले पहल गर्नुपर्ने उहाँहरुको कुरा आयो।’

एमालेमा चर्किरहेको विवादका बीच वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाटसमेत हटाइएको छ। र माधव समूहले देशभर समानान्तर गतिविधि गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *