विश्वासको मतमा प्रधानमन्त्री ओलीविरुद्ध मतदान गरेका चौधरी बने राज्यमन्त्री

डिसी नेपाल
२१ जेठ २०७८ २३:२८

काठमाडौं। शुक्रबार पुनःगठन गरिएको मन्त्रिमण्डलमा दुईजना राज्यमन्त्री पनि छन्। दुबै राज्यमन्त्री जनता समाजवादी पार्टीबाट भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका थिए। शुक्रबार मन्त्रिमण्डल विस्तारपछि नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथसमेत ग्रहण गरेका छन्।

यसरी शुक्रबार शपथ ग्रहण गर्ने मध्ये एक हुन राज्यमन्त्रीमा नियुक्त जसपाका चन्द्रकान्त चौधरी। उनी ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्। चौधरी ती व्यक्ति हुन जसले गत वैशाख २६ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दा विपक्षमा मतदान गरेका थिए।

तत्कालिन सांसद चौधरीले शुरुमा तटस्थमा मतदान गरेका थिए। तर उनले पनि आफ्ने मत सच्याउँदै विश्वासको मतको विपक्षमा मतदान गरे। शुरुमा तटस्थमा मतदान गरेका चौधरीलाई पछि उपेन्द्र यादव पक्षधर सांसदले विपक्षमा मतदान गर्न दबाव दिएपछि उनले विपक्षमा मतदान गरेको स्रोतले दाबी गर्यो।

विपक्षमा मतदान गरेलगत्तै उनले अध्यक्ष महन्थ ठाकुरलाई भेटी आफूले विपक्षमा मतदान गरेर गल्ती गरेको भन्दै माफी मागेका थिए। जवाफमा ठाकुरले अहिले पक्ष विपक्षमा मतदान गर्दा केही फरक नपर्ने भन्दै ‘तपाइँले गल्ती महसुस गर्नु भयो, ठिकै छ’ भन्ने जवाफ दिएको स्रोतको दाबी गरेको छ। अहिले महन्थ ठाकुरकै सिफारिसमा चौधरी राज्यमन्त्री बनेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *