प्रदेश दुई : चार मन्त्री बर्खास्त पार्टी विभाजनको सन्देश हो?
काठमाडौं। आइतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर पक्षीय एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरे। जसपा व्यवहारिक रुपमा दुई समूहमा विभाजित बनेपछि जसपा अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा मुख्यमन्त्री राउतले ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेका थिए।
बर्खास्तीमा पर्नेमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग, वन पर्यटन राज्य मन्त्री सुरेश मण्डल छन्।
प्रदेश २ मा जसपाकै उपेन्द्र यादवका मुख्यमन्त्री लालबाबु राउत रहेका छन्। सोही दिन यादव पक्षले राउतलाई संसदीय दलको नेता चयन गरेको थियो। जसपाको पार्टी भित्रको विवाद केन्द्र हुँदै प्रदेशसम्म देखिएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएसँगै अर्का अध्यक्ष उपेन्द्र यादवपक्ष मुख्यमन्त्री राउतले दुई नम्वर प्रदेशका चार मन्त्री बर्खास्त गर्नु र संसदीयदलको नेतामा समेत राउत आफैं बिजयी हुनुले ठाकुर पक्षलाई तरङ्गित बनाएको छ।
राजनीतिक रुपमा विभाजन नभएपनि व्यवहारिक रुपमा फुटेको जसपा केन्द्रीय तहमा पनि शक्ति संघर्षका कारण एकले अर्कालाई कारबाही गरिसकेको छ भने पार्टीको आधिकारिकता बारे ठाकुर, यादव दुबै नेता निर्वाचन आयोग गएका छन्।
केन्द्रको यो झगडाले अप्रत्यासित रुपमा प्रदेश मन्त्रीहरु बर्खास्त हुनुले पार्टी फुटको सन्देश त हैन? यो प्रश्न सबैलाई कौतुहलताको विषय बनेको छ।तर प्रदेश सांसद भन्छन्, पार्टी एकताको सम्भावना कायमै छ।
प्रदेश नम्वर २ का सांसद तथा जसपा महन्थ ठाकुर समूह कार्यकारिणी सदस्य मनिष सुमनका अनुसार मुख्यमन्त्री राउतले मन्त्रिमण्डल पुर्नगठन र मन्त्री बर्खास्त गर्ने अधिकार दिएको हुनाले सो अधिकार प्रयोग गरेको हुनसक्ने बताए।
उनका अनुसार प्रदेश २ मा एकदमै भ्रष्टचार मौलाएको छ। त्यसकारण मन्त्रिमण्डल फेरबदल गर्ने हो भने चार जनालाई मात्र हटाएर हुँदैन। धेरै मन्त्रीहरु असक्षम र अयोग्य छन् ती सबैलाई हटाएर नयाँ गठन गर्नुपर्ने उनको तर्क छ। आफ्नो अधिकार प्रयोग गर्दैमा केही सीमित मान्छेहरु हटाएर संघीयता कमजोर बनाउने प्रयास भएको सुमनको आरोप छ।
यद्यपी पार्टी एकताको सम्भावना भने कायमै रहेको उनको भनाइ छ। ‘राजनीति भनेको अनन्य खेलको सम्भावना हो। त्यसमाथि मधेसको राजनीतिको इतिहास धेरै टुट फुट र एकताको उदहरण धेरै छ,’ उनले भने, ‘अहिले पूर्व राजपा र पूर्व समाजवादी भन्ने पार्टीको अस्तित्व छैन,’ उनले भने।
तर आइतबारनै मुख्यमन्त्री राउत संसदीयदलको नेतामा चयन भएको भन्ने विष्य सञ्चार माध्यमबाटनै थाहा भएको उनले बताए। उनले भने, ‘हामीलार्ई थाहा पनि छैन, कुनै खबर पनि आएको छैन र हुन पनि सक्दैन।’
उपेन्द्र यादव समूहका सांसद तथा दुई नम्वर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव भने संसदीय दलको नेतामा मुख्यमन्त्री राउत बहुमतबाट चयन भएको र सबै सांसदलाई खबर गरेर नै चयन गरिएको बताउँछन्।
मन्त्री बर्खास्तको सवालमा भने पार्टीमा आउने जाने क्रम निरन्तर चल्ने उनले बताए। ‘कार्यक्षमता, असन्तुटिका कारण मुख्यमन्त्रीले बर्खास्त गर्नुभएको हो। त्यसकारण चार जना मन्त्री बर्खास्त हुँदैमा पार्टीनै विभाजन हुने वा विभाजनको लागि मन्त्री बर्खास्त गरिएको होइन,’ उनले भने।
पार्टीले कारबाही गरेको महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ल बाहेक सबै नेता तथा सांसद जसपाको भएको उनले दाबी गरे।
बर्खास्त भएकी भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झाले आफूलाई मन्त्रीबाट किन हटाइयो भन्ने कुराबारे धेरै जाकारी नभएको र समय आएपछि बोल्ने बताइन्।
उनले अगाडि भनिन्, ‘यो कुरामाले हामीले पार्टी विभाजन चाहेका छैनौँ र कानून अनुसार हामी एकै पार्टीका छौँ। हामीप्रति मुख्यमन्त्रीजीको कुनै असन्तुष्टि थियो भने पार्टी भित्र छलफल गर्न पनि सकिन्थ्यो तर यो अप्रत्यासित समाचारले आश्चर्यमा परेकी छु।’
Facebook Comment