सरकारकाे प्राथमिकतामा दन्त चिकित्सा परेन : डा.आकांक्षा – Dcnepal

सरकारकाे प्राथमिकतामा दन्त चिकित्सा परेन : डा.आकांक्षा

जसले पनि क्लिनिक खोल्न पाउने व्यवस्थाको अन्त्य गरिनुपर्छ

काठमाडौं। विश्वभरि फैलिएको कोरोना संक्रमणका कारणले गर्दा यतिबेला धेरैलाई आफूले गर्दै आएको काम, व्यापार, व्यवसाय छोडेर घरभित्रै बस्नु पर्ने वाध्यात्मक अवस्था छ। तर, स्वास्थ्य क्षेत्रमा लागेका डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई भने भ्याइनभ्याइ छ। संक्रमितको सेवा सुरक्षामा उनीहरु आफ्नै जिउ ज्यानको जोखिम मोलेर दिनरात खटिइराखेका छन्।

धेरै ठाउँका अस्पतालहरुमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीको अभावका कारण कतिपयले ज्यान गुमाउनु परेको समेत छ। कोरोनाका कारण भइरहेको मानवीय क्षतिको भयावह स्थितिमा स्वयम् डाक्टर नर्स लगायत चिकित्सककर्मीहरुले समेत ज्यान गुमाइराखेका छन्।

तिनै बेफुर्सदिला स्वास्थ्यकर्मीमध्ये दाँतका स्वास्थ्यकर्मीहरु भने आजभोलि फुर्सदिला छन्। यतिबेला प्राय डेन्टल अस्पताल, क्लिनिकहरु सुनसान छन् र त्यहाँ काम गर्ने डाक्टर, नर्स आदि चुपचाप लागेर घरमै बसिराख्नुपरेको अवस्था छ।

कोरोना कहरको यो अवस्थामा वाध्यतावस कामलाई थाति राखेर घरमै बसिराखेका दन्त चिकित्सकहरुमध्ये एकजना दन्त चिकित्सक डा.आकांक्षा प्याकुरेलको अवस्था पनि त्यस्तै छ।

अन्य चिकित्सकहरुको अभाव खड्किरहेको यो अवस्थामा फुर्सदिलो भएर घरमा बसिराखेकी उनै डा.प्याकुरेल भर्खरै प्रस्तुत भएको बजेटमा दाँतका स्वास्थ्यकर्मीको बारेमा सरकारले ध्यान नदिएको बताउँछिन्।

र, भन्छिन्, ‘अहिले दाँत सम्बन्धिका मात्रै अस्पतालहरु प्राय बन्द छन्। भर्खरै प्रस्तुत भएको बजेट भाषणमा पनि दाँत, मुख सम्बन्धी केही कुरा भएन। सरकारले स्वास्थ्यकर्मीहरुको पनि अनिवार्य बिमाको व्यवस्था गरिदिनु पथ्र्यो। प्राइभेट सेक्टरसँग मिलेर होस या कसरी हुन्छ स्वास्थ्य क्षेत्रमा पनि स्वास्थ्य बीमाहरुको व्यवस्था निकाल्नु पथ्र्यो। त्यसले गर्दा स्वास्थ्यकर्मीहरुलाई पनि केहि राहत हुन्थ्यो।’

उनी अगाडि भन्छिन्, ‘दाँतको उपचार अलिकति महङ्गो मै पर्छ त्यो भएर बिमा निकाल्यो भने धेरै सजिलो हुन्छ। भर्खरै मात्र पत्रकारहरुलाई बिमावापत सुविधा दिइएको छ, त्यो एकदमै राम्रो हो। त्यस्तै डाक्टरहरु दिनरात काम गरिराखेका हुन्छन्, उनीहरुको लागि निःशुल्क भनेर केही गरिएको छैन। न डाक्टरलाई निःशुल्क उपचार या बिमा नै छ, न त डाक्टरको परिवारलाई नै। यस्ता कुराहरुमा पनि सरकारले नीति नियम बनाउदा ध्यान पुर्याउनु पर्ने हो। अलिकति स्वास्थ्य क्षेत्रलाई चाहीँ सरकारले बेवास्था गरेकै देखिन्छ।’

उनी दाँतको कामलाई कलासँग दाज्छिन्। कला क्षेत्रमा काम गर्न सानैदेखि रुची भएकाले पनि आफू दाँतसम्बन्धी कै डाक्टर बनेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘मलाई सानैदेखि आर्टहरु गर्न तिरै इच्छा थियो। आर्ट पनि साइन्स क्षेत्रमै पढ्न र गर्न मन भएको भएर डेन्टिसतिर अझै राम्रो हुन्छ भन्ने लाग्यो र फेरि दाँतको काम कलाजस्तो पनि हुने।’ साथै, उनले मुखमा भएको सानो ठाउँमा रहेको दाँतहरुलाई हातले आकारहरु दिन सकिने बताइन्।

हामी पाँच–साढे पाँच वर्ष पढेर डाक्टर बनेका हुन्छौं। त्यो लेबलमा अब तीन महिना तालिम लिएका मान्छेहरुले डाक्टर हो भनेर डाक्टरले गर्ने काम गरिराखेका हुन्छन्। उनीहरुले सस्तोमा रिस्की काम गरिराखेका छन्। दाँतको उपचार गर्दा एकजनाले मुखमा लगाइसकेको सामान अर्को जनालाई प्रयोग गर्न मिल्दैन। धेरै प्रोसेस हुन्छ तर उनीहरु त्यस्तो केही गर्दैनन्। र, सस्तोमा काम गरिदिन्छन्।

ब्याचलर डेण्डल सर्जरी, ब्याचलर डिग्री गरिसकेपछि सन् २०१३ मा इन्टर्नसिपपछि उनी दन्त चिकित्सक बनिन् र निरन्तर काम गर्दै आएको उनी बताउँछिन्। उनले सुरुका चार वर्ष केएमसी अस्पतालमा काम गरेको बताइन्। त्यसपछि नेशनल डेन्टल अस्पताल र हाल गिजा विशेषज्ञ डा.रिता सिंहको कमल पोखरीस्थित क्लिनिक ओराकियरमा काम गरिराखेको बताइन्।

आठ वर्षअघिदेखि निरन्तर डेण्डल सर्जन भएर काम गर्दै आएकी उनी नेपालमा पहिलो पटक भएको लकडाउनमा पनि काम गरेको बताउँछिन्। तर, हाल भइराखेको निषेधाज्ञामा भने घरमै बसिराख्नु परेको अवस्था आएको बताउँदै उनी भन्छिन्, ‘दाँत सँगसँगै अरु मेडिकलहरु पनि भएको अस्पतालहरु त खुलेकै छन् । दाँतको चाहीँ एकदमै एमर्जेन्सी नपरिकन खुल्दैन। किनभने मुखभित्रै काम गर्नुपर्छ, त्यसैले यो बेला हाई रिक्स हुन्छ। यतिबेला बिरामीहरु पनि एकदमै गाह्रो नभइकन डेण्डल अस्पताल आउनु हुन्न र हामीहरु पनि एकदमै एमर्जेन्सी छ भने मात्र जाने गर्छौ।’

हाल काम गरिराखेको प्राइभेट क्लिनिकमा गिजा विशेषज्ञ डा.रिता सिंह भएकाले पनि त्यहाँ फाट्फुट् आउने पेसेन्टलाई हेर्न जानु नपरेको उनी बताउँछिन्। डा.प्याकुरेलका अनुसार अहिले प्राय खुलेका डेण्डलसम्बन्धी अस्पताल, क्लिनिकहरुले यो लकडाउन अथवा निषेधाज्ञाले धेरै घाटा व्यहोर्नु परेको छ। घरसमेत भाडामा लिएर डेण्डल चलाउनेहरुलाई त धेरै नै गाह्रो र समस्या भइराखेको छ।’

प्राइभेट सेक्टरले दिने तलबका बारेमा सोध्दा उनी भन्छिन्, ‘प्राइभेट सेन्टरमा काम गरे अनुसारको पैसा पाइने हो। काम नगरेको बेलाको पैसा पाइँदैन। सरकारी तबरमा पनि तोकेअनुसार तलब त पाइन्छ नै। तर, तलबको कुरा भन्दा पनि अहिले स्वास्थ्यकर्मीहरुलाई सेवा, सुविधाका साथसाथै सुरक्षा पनि सरकारले दिनु पर्यो।’

सरकारले भर्खरै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी माथि क्रमशःतोडफोट र कुटपिट गरेमा जरिवाना र सजाय दिइने कानुन ल्याएर राम्रो गरेको भन्दै उनी अगाडि थप्छिन्, ‘डाक्टर स्ट्रोङ भयो भने न अरुलाई बचाउने हो। त्यो भएर सरकारले नै सुरक्षा दिनु पर्यो, अहिलेको समयमा पेसेन्ट पार्टीले डाक्टरलाई धम्क्याउने कुट्ने हुनु भएन । कडा र विकृति नल्याउने खालको कानुनहरु हुनु पर्यो। डाक्टरलाई सेक्युरिटी दिएर, डाक्टर परिवारलाई पनि उपचारहरुमा यतियति छुट भनेर छुट्याउनु पर्यो।’

श्रीमान स्कलरसिपमा अष्ट्रेलिया पढ्न गएको बेला एक वर्ष जति त्यहाँको डेण्टल अस्पतालमा काम गरेको बताउँदै उनले त्यहाँको अनुभव सुनाउँदै भनिन्, ‘त्यहाँ काम गर्दा मैले देखेको भनेको सबैजनाको हेल्थ इन्स्युरेन्स गरिएको हुँदो रहेछ। त्यसले गर्दा पनि उनीहरु वर्षमा एक–दुई चोटी दाँत जचाउछन्। त्यसरी समय समयमा चेकअप गर्यो भने दाँतको केस धेरै गाह्रो अवस्थासम्म पुग्दैन। दाँतको उपचार सुरुमै भयो भने पैसा पनि थोरै पर्छ र काम पनि छिटो हुन्छ। जति ढिलो गर्यो त्यति नै पैसा पनि बढी पर्दै जान्छ र समय पनि लाग्ने हुन्छ ।’

उनका अनुसार विदेश र नेपालमा दाँतको समस्या भएकाहरुमा धेरै नै अन्तर हुन्छ। उनले भनिन्, ‘अष्ट्रेलियामा त अस्पताल आउने बिरामीहरु नै एक त एजुकेटेड हुन्छन्, उनीहरुलाई थाहा हुन्छ, मुखमा के गर्नु हुन्छ के गर्नु हुँदैन भनेर। उनीहरुले धेरै नै ज्ञान लिइसकेका हुन्छन्। अर्को कुरा उनीहरुको कल्चर नै बसिसकेको हुन्छ, समयसयममा डेन्टिसकोमा जानु पर्छ भनेर। अर्को सबैको इन्स्युरेन्स भएकाले पनि आफैले सबै पैसा तिर्नु पर्ने भन्ने हुँदैन।’

उनका अनुसार नेपालका प्राय मान्छेमा अझै पनि दाँतको विषयलाई लिएर अस्पताल नै जाने गर्दैनन्। साथै, किराले खाएर दाँत ठूलो खाल्डो नभइकन या नदुखिकन अस्पताल जादैनन्। हुनत कोरोना संक्रमण बढिराखेको यस्तो बेला विश्वभरि नै डेन्टिसकोमा जाने भनेको एमर्जेन्सी केसहरु मात्र हो। कोरोना पनि मुखबाटै सर्ने भएकाले अहिले नर्मल चेकअप नगर्नु नै वेस भएको उनको पनि बुझाइ छ। तर, उनी यस्तोबेलामा फोन या अन्य प्रविधिमार्फत दाँतका बिरामीहरुलाई दन्त चिकित्सकहरुसँग सल्लाह सुझाव लिन सुझाउँछिन्।

हाल निषेधाज्ञामा दाँतको कुनै पनि केस नहेरेको बताउने उनले एमर्जेन्सी परेका सर्वसाधारणलाई भने फोनमार्फत परामर्शहरु दिइराखेको सुनाइन्। कोरोना संक्रमणको अहिलेको अवस्थामा जनताको लागि मुख दाँत आदि सरसफाई गर्नुपर्छ भनेर सरकारले दाँत, मुख, गिजालगायतका विशेषज्ञहरु राखेर ठाउँठाउँमा क्लिनिक खोलिदिएर सर्वसाधारणमा सचेतना ल्याउनु पर्ने उनी बताउँछिन्।

त्यस्तै, देशमा जसले पनि जताभावी क्लिनिक खोलेकोप्रति गुनासो गर्दै उनी भन्छिन्, ‘यहाँ जो व्यक्तिले पनि क्लिनिक खोल्न पाउने भन्ने छ। त्यसैले तीन महिना तालिम लिएर बसेकाहरुले अर्थात् सीबिएस कोर्स, सिटिईभीटिबाट कोर्स गरेका व्यक्तिले क्लिनिक खोल्न पाउनु भएन। उहाँहरु गाउँगाउँ गएर डेन्टिस भनेर, डाक्टर भनेर दाँत उखालेर मान्छे मरिराखेको केसहरु पनि छन्। त्यस्तो गर्न दिनु भएन। यस्तो कुरामा विशेष सरकारले ध्यान दिनु पर्यो । यसमा सरकार नलागिकन डेन्टल एशोसियसनले मात्र गर्छु भनेर सफल हुँँदैन।’

सोही गुनासोलाई लिएर उनी अगाडि भन्छिन्, ‘हामी पाँच–साढे पाँच वर्ष पढेर डाक्टर बनेका हुन्छौं। त्यो लेबलमा अब तीन महिना तालिम लिएका मान्छेहरुले डाक्टर हो भनेर डाक्टरले गर्ने काम गरिराखेका हुन्छन्। उनीहरुले सस्तोमा रिस्की काम गरिराखेका छन्। दाँतको उपचार गर्दा एकजनाले मुखमा लगाइसकेको सामान अर्को जनालाई प्रयोग गर्न मिल्दैन। धेरै प्रोसेस हुन्छ तर उनीहरु त्यस्तो केही गर्दैनन्। र, सस्तोमा काम गरिदिन्छन्। मान्छेहरु पनि सस्तो छ भनेर र कतिपय थाहा नपाएर त्यस्तो ठाउँमा जानु हुन्छ। अनि पछि मात्र थाहा हुन्छ उहाँहरुले गरेको कामले असर गरेपछि।’

उनका अनुसार अहिले काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा मानिसहरु दाँतको विषयलाई लिएर धेरै सचेत भएका छन्। तर, गाउँघरतिर भने अझै मान्छेलाई थाहा नै छैन।

दाँतको चेकअप गर्दा शरीरमा भएका अन्य केही रोगहरु पनि थाहा हुने भन्दै उनले भनिन, ‘सुगरका बिरामीको मुख सुख्खा हुनेदेखि लिएर दाँत बढी किराले खाने हुने भएकाले कतिपय अवस्थामा मुख, दाँतको समस्याले जिउको अन्य रोगहरु पनि थाहा पाउन सकिन्छ।’

सरकारले पनि दाँत र मुखको स्वास्थ्यलाई ठाउँ दिनु पर्ने गुनासो गर्दै उनी भन्छिन्, ‘प्रस्तुत बजेटमा स्वास्थ्यसम्बन्धी मुख, दाँतको बारेमा केही कुरा नै भएन। त्यसले गर्दा यस विषयमा सरकार नै सचेत नभएको जस्तो देखियो।’

उनी सरकारसँग आग्रह गर्दै भन्छिन्, ‘जसले पनि क्लिनिक खोल्न पाउने र जसले पनि डाक्टर बनेर काम गर्न पाउने व्यवस्थाको अन्त्य गर्नु पर्यो। र, विदेशको जस्तै यहाँ पनि स्कुलदेखि नै डेन्टल प्रोग्रामहरु गर्ने, मान्छेमा जनचेतना बढाउने लगायतमा ध्यान दिनु पर्यो। मान्छेलाई सचेत गराएपछि उनीहरुलाई पनि वर्षमा एकचोटी भएपनि मुख, दाँत देखाउ भन्ने हुन्छ। मुख, दाँतको समस्या सुरुवातबाटै थाहा भयो भने मुख, दाँतको क्यान्सर जस्तो ठूलो रोगबाट बच्न सकिन्छ। निको हुन्छ, समय बच्छ र पैसा बच्छ।’

दाँत सफा र बलियो बनाइराख्न प्रत्येकले दैनिक गर्नुपर्ने कार्यबारे र नेपालीलाई देखिएको समस्याबारे उनी यसो भन्छिन्, ‘यहाँ दाँत किराले खाने त भइहाल्यो, गिजाको समस्या पनि धेरै देखियो। गिजाको समस्या राम्रोसँग दाँत नमाझ्ने, मुखको कियर नगर्ने भएरै भएको छ। मान्छेले बिहान बेलुका दाँत माझ्ने कुरालाई नै लापर्वाही गरेका छन्, दाँतको बीचमा धागो लगाउने र इन्टरडेण्टल ब्रसहरु भन्ने कुरा त परै जाओस्।’

उनी अगाडि भन्छिन्, ‘खाना खाइसकेपछि अड्किने फोहोरहरुमा ब्याक्टेरिया बसेर त्यसले एसिड निकालेर दाँत कुहाउने गर्छ, गिजाहरु सुनिने गर्छ। र, गिजाबाट रगतहरु आउने समस्या पनि हुन्छ । गिजाबाट रगत आउन थालेपछि मान्छेहरु झन ब्रस नै गर्न छाड्छन्। त्यसले गिजालाई झनै खराब गर्छ । गिजामा रहेको फोहोर कुहिदै, पाक्दै जान्छ र दाँत खिइदै जान्छ। त्यही भएर दाँत हातले माझेर केही फाइदा छैन, एकदिन ब्रस गरेन भने मुखमा सेतो लेउजस्तो बस्छ, त्यो एकदमै खराब हो। त्यसलाई डेन्टल प्लाक भनिन्छ। त्यसले दाँत कुहाउने र गिजामा समस्या आउने गर्छ।’

दाँतलाई सुरक्षित राख्न के गर्नु पर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सर्वप्रथम त बिहान बेलुका ब्रस गर्नु पर्छ। त्यसपछि दाँतको बीचबीचमा सफा गर्ने, आजकाल इन्टरडेण्टल ब्रस पाइन्छ। धागोलाई फ्लस भन्छौं, त्यो प्रयोग गर्नुपर्यो । त्यो सँगसँगै खानपिनमा पनि ख्याल गर्नु पर्छ । दाँतमा अड्किने खालको खानेकुरा खाइसकेपछि दाँत माझ्नु पर्यो। अमिलो, गुलियो खानेकुरा खानेवित्तिकै पनि दाँत माझ्नु हुँदैन । किनभने ति दुवै खानेकुरामा एसिड बढी हुन्छ। एसिडले मुखको पीएच लेबल घटेको बेला दाँत माझ्यो भने दाँतमा घस्रण बढी हुन्छ। त्यसले गर्दा दाँत खिइने र सिरिङसिरिङ हुने समस्या आउँछ। त्यसैले खाना खाएको आधा घण्टापछि मात्र ब्रस गर्ने गर्नु पर्छ।’

कोभिडको बेलामा धेरैले भिटामिन ‘सि’का ट्याबलेट, कागती पानी खाने हुनाले यस्तो बेलामा आधा घण्टा कुरेर मात्र ब्रस गर्नुपर्ने उनको सुझाव छ। साथै, दाँत सिरिङसिरिङ भइनै राख्यो भने सेन्सोडाइन टुथपेष्ट, ब्रस आदि प्रयोग गर्न अर्थात् चिकित्सकको सल्लाहबमोजिम प्रयोग गर्न आग्रह गर्छिन्। र, कोरोना साम्य भएपछि हरेक ६–६ महिनामा डेन्टिसकोमा गएर चेकअप गराउन सबैलाई आग्रह गर्छिन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो