प्रदेश २ सरकारमा सहभागी हुने विषयमा माओवादीमा विवाद

सम्भव सिंह ठकुरी
३१ जेठ २०७८ १४:३०

काठमाडौं। प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष समूहका ४ मन्त्रीलाई जेठ २४ गते बर्खास्त गरेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संग सत्ता साँठगाठ गर्ने सहमति भएको थियो।

सोही सर्त अनुरुप कांग्रेस तीन मन्त्रालयसहित बुधवार सरकारमा गइसकेको छ। माओवादी केन्द्रलाई पनि दुई मन्त्रालय दिने सहमति भए पनि सरकारमा जान नसकेपछि मुख्यमन्त्री राउत नेतृत्वको मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन।

माओवादी केन्द्रले सरकारमा जाने विषयमा प्रदेश कमिटिबाट नै छिनोफानो गर्न निर्देशन दिएको थियो। तर दुई मन्त्रालय दिने सहमति भएपनि सरकारमा को–को जाने भन्ने विषयमा अहिलेसम्म छिनोफानो नभएको प्रदेश संसदीयदलका नेता भरतप्रसाद साहले बताए।

सरकारमा जाने विषयमा अझै किन अनिर्णित बनेको त? भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामी नैतिक समर्थन गरिराखेका छौँ। सरकारले हामीलाई कुन मन्त्रालय दिने भन्ने निर्णय हुन सकेको छैन। र हामीलाई पनि सम्मानजनक मन्त्रालय दिन साथ हामी सरकारमा जान्छौँ। त्यसका लागि हामी सरकार र पार्टी भित्र गृहकार्य गर्दै छौँ।’

सो प्रदेश संसदीय दलका उपनेता जगतप्रसाद यादवका अनुसार सुरुमा पार्टीको केन्द्रीय निर्देशन अनुसार प्रदेशसभा संसदीय दलको बैठकबाट भरतप्रसाद यादव र जगतप्रसाद यादव उनी (स्वमं) सरकारमा जाने निर्णय भएको थियो। र उक्त कुराको जानकारी अध्यक्ष प्रचण्डलाई पनि दिइएको थियो।

सोही निर्णय अनुसार जेठ २८ गते कांग्रेस संगै शपथग्रहण गर्ने तयारी भएपनि केन्द्रको दवाबमा स्थगित हुन पुगेको उनले बताए।
उनका अनुसार केन्द्रका नेताहरुको आन्तरिक कुरा नमिलेर नै यो अवस्था सृजना भएको हो। पार्टी एकता भएको यति धेरै समय पश्चात पनि केही नेताहरु अझै पनि गुटगत र भागबण्डाको व्यवहार देखाएको भन्दै उनले पूर्वजनमोर्चाका नेताहरुलाई इन्गित गरे।

साहले अगाडि भने, ‘हामीहरु र प्रदेश सरकारबीच मन्त्रालयको वाँडफाँड लगायत सबै जिम्मेवारी मिलिसकेको थियो। तर केन्द्रका नेताको गुटगत व्यवहारका कारण सरकारमा जान ढिलाइ भएको स्विकारे।

यसरी प्रदेश सरकारमा जाने विषयमा केन्द्रको हस्तक्षेप हुनुले माओवादी केन्द्रमा पूर्व माओवादी र पूर्व जनमोर्चाको दुई धार प्रष्ट भएको संकेत देखिन्छ। भरत साह र जगत साह दुबै नेता भने अध्यक्ष प्रचण्ड निकटका नेताका रुपमा चिनिन्छन्।

माओवादी केन्द्रका नेतृ पम्फा भूसाल भने प्रदेशको विषयमा खासै जानकार नभएको बताइन्। नेता मातृकाप्रसाद यादवपनि उक्त कुरा खासै थाहा नभएको र पार्टी भित्र छलफल हुँदैगरेको छ भन्ने छोटो प्रतिक्रिया दिए।

सो प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवका अनुसार पनि माओवादी केन्द्र सँग सहमति भएका कुराहरुमा कुनै असमझदारी नभएको र उनीहरुको पार्टीको आन्तरिक कुराले सरकारमा आउन ढिलाई भएको हुनसक्ने बताए।

यस अघि सात मन्त्रालय भएकोे उक्त प्रदेशमा जसपा एक्लैको बहुमतको सरकार थियो। केन्द्रीय राजनीति ध्रुबिकरण भए संगै गठबन्धनको सरकार बनेको छ।

सात मन्त्रालय फुटाएर १० मन्त्रालय बनाएको उक्त प्रदेशमा जसपा अध्यक्ष उपेन्द्र यादव समूहका मुख्यमन्त्री सहित ५ मन्त्रालय लिएको छ। कांग्रेस ३ मन्त्रालय सहित सरकारमा भईसकेको छ। भने दुई मन्त्रालय माओवादी केन्द्रलाई दिने सहमति भएको थियो।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *