अस्पतालको सेवा नरोकेर संवादबाटै समस्याको समाधान खोज्न कांग्रेस सभापति थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य सेवा अतिसंवेदनशील क्षेत्र भएकाले सेवा नरोक्न र संवादका माध्यमबाट मात्रै समस्याको समाधान खोज्न अपिल गरेका छन्। पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि स्वास्थ्यकर्मीहरूले आन्दोलनस्वरूप आकस्मिकबाहेकका सेवा बन्द गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यो आग्रह गरेका हुन्।
मंगलवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले स्वास्थ्य सेवा बन्द हुँदा हजारौं नागरिक र बिरामीहरूले अनावश्यक दुःख भोग्नुपरेको उल्लेख गरेका छन्। उनले नेपाल चिकित्सक संघलगायत आन्दोलनरत सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर सेवा प्रवाह नरोक्न विशेष अनुरोध गरेका छन्।
सभापति थापाले नारायणी अस्पतालको घटनामा संलग्न दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। साथै, वार्ताका क्रममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने अधिकारी र प्रहरीमाथि पनि निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।
“विगतमा चिकित्सक र स्वास्थ्यकर्मीको पटक-पटकको आन्दोलनको दबाब र नेपाली कांग्रेसकै पहलमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनमा आइसकेको छ। अतः यस घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरियोस्,” थापाले भनेका छन्।
सभापति थापाले स्वास्थ्यकर्मीहरूको पेसागत सुरक्षाका मागहरू अविलम्ब सम्बोधन गर्न र ओपीडी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरू तत्काल सुचारु गर्ने वातावरण बनाउन सरकारलाई विशेष पहलकदमी लिन आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment