बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा
साँकेतीक तस्वीर
गलकोट । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। लगातारको वर्षापछि आएको बाढी पहिरोले जिल्ला सदरमुकामसँग जोडिएका अधिकांश ग्रामीण सडक बन्द भएका छन्। जिल्लाको ताराखोला गाउँपालिकामा घर माथीबाट पहिरो खस्दा वडा नम्बर–५ स्थित भिरकुना भन्ने ठाउँका लिलाबहादुर विकको, मिठे विकको, टिकाराम विकको घरमा क्षति पुगेर विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिरोले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । पहिरोका कारण स्थानीय रबिलाल गौतमको घर गोठ भत्काएको र गोठमा रहेको भैसी पुरिएको छ भने सोही स्थानका महेन्द्र गौतमको घर उच्च जोखिममा परेर परिवार विस्थापित भएका छन्।
यस्तै, वर्षात्का कारण बागलुङ नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको, सोही स्थानका प्रदीप शेरचनको दुई तले पक्की घर पहिरोको कारण घर उच्च जोखिममा परेको छ। माया जिसीको इटाले बनेको एक तले कच्ची घर पहिरोको कारण घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हवारीले जानकारी दिए।
बागलुङ नगरपालिका १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घर वरीपरी पहिरो खसेपछि घर उच्च जोखिममा परेको, बरेङ गाउँपालिका–१ भ्युडाडा बस्ने विशाल बिकको घर जोखिममा रहेकाले विस्थापित भएका छन्। गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घर पछाडीबाट पहिरो खस्दा ढुङ्गा माटोले बनेको ढुङ्गाको छानो भएको दुई तले कच्ची घर उच्च जोखिम परी विस्थापित हुनुभएको र सोही स्थानको डाँडाखेतमा देवबहादुर खत्रीको घर अघीबाट पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको हवारीको भनाइ छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment