पार्टीविरुद्धको दुष्प्रचार र राज्य संयन्त्र दुरुपयोग विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने कांग्रेसको घोषणा

डिसी नेपाल
१८ कार्तिक २०८३ १८:२९

काठमाडाैं। नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भइरहेको षड्यन्त्र, दुष्प्रचार तथा राज्य संयन्त्रको दुरुपयोगविरुद्ध कानुनी र राजनीतिक दुवै ढङ्गले सशक्त प्रतिवाद गर्ने घोषणा गरेको छ। पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी ६ बुँदे धारणामा सरकारलाई भय र भ्रमको सिर्जना गरी सत्ता चलाउने धन्दा बन्द गर्न चेतावनी दिइएको छ।

पार्टीको वैधानिकता स्पष्ट र महाधिवेशन सम्पन्न

नेपाली कांग्रेसको २०८२ पौषमा सम्पन्न विशेष केन्द्रीय महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भइसकेको विज्ञप्तिमा उल्लेख छ। सोपश्चात् २०८३ असोज १६-२३ मा १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेकाले पार्टीको वैधानिकतामाथि दुष्प्रचार गरी निर्मित ‘कृत्रिम भाष्य’  लाई कांग्रेसले पूर्ण रूपमा खारेज गरेको छ।

स्वतन्त्र छानबिनको माग

तथाकथित अडियो बयान र आरोपहरू निराधार, कपोलकल्पित तथा नियोजित भएको दाबी गर्दै कांग्रेस जुनसुकै प्रश्नको सामना र छानबिनका लागि तयार रहेको जनाइएको छ। यस प्रकरणसँग जोडिएका सम्पूर्ण घटनाहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न कांग्रेसले माग गरेको छ।

 ‘इनम सापकोटा प्रकरण’ र राज्य संयन्त्रको दुरुपयोग

‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री कार्यालय र उच्चपदस्थ अधिकारीको नाम जोडेर अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि अनधिकृत नियन्त्रण तथा छेडखानी गरिएको विषय बाहिर आएको प्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ। प्रहरी महानिरीक्षक हटाउने घटनालाई समेत यसैको कडीका रूपमा व्याख्या गर्दै कांग्रेसले राज्यका निकायहरूलाई सत्ता स्वार्थका लागि ‘शस्त्रीकरण’ गरिएको आरोप लगाएको छ।

संविधान र विधिको शासनमा दृढता

विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र शक्ति पृथकीकरण जस्ता लोकतान्त्रिक मूल्य मान्यतामा कांग्रेस कहिल्यै सम्झौता नगर्ने अडान पुन: दोहोर्‍याइएको छ।

कानुनी र संसदीय पहलकदमी

सरकार स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको र पत्रकारमाथि धरपकड तथा अलोकतान्त्रिक व्यवहार बढाएको भन्दै कांग्रेसले पार्टीलाई ‘डिफेम’ गर्ने षड्यन्त्रविरुद्ध उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श र संसदीय दलका नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा सशक्त पहल गर्ने जनाएको छ।

 जनसरोकारका मुद्दामा ध्यान दिन आग्रह

सरकारले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने वा प्रतिपक्षलाई दबाउने हर्कत छाडेर विपद् पीडितको राहत, अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटजस्ता मूल मुद्दामा केन्द्रित हुनुपर्ने कांग्रेसको भनाइ छ। साथै, सरकारका गलत क्रियाकलापविरुद्ध दृढ रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई अपिल गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *