हलिउडबाट पनि नेपालमा फिल्म सुटिङ गर्न चासो व्यक्त भएको छ :राजदूत खतिवडा

डिसी नेपाल
४ असार २०७८ ८:२४

बाल्टिमोर, अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाललाई प्राकृतिक स्टुडियोका रुपमा विकास गर्ने परिकल्पना गरिएको र त्यसअनुरुपको काम अघि बढाउन थालिएको बताएका छन्। उनले हलिउडका फिल्म निर्माता, निर्देशक र फिल्म लेखकहरु समेत केहीले नेपालमा फिल्म सुटिंग गर्नका लागि चासो दिएको बताए।

नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलको जुन १७ साँझ शुभारम्भ गर्दै राजदूत खतिवडाले सो कुरा बताएका हुन्।

उनले आफू अर्थमन्त्री र संचार तथा सूचनाप्रविधि मन्त्री हुँदा नेपाली फिल्मको विकासका लागि प्रयास गरेको जानकारी दिँदै नेपाललाई प्राकृतिक स्टुडियो बनाउन बजेटसमेत विनियोजित गरेको र अहिलेको बजेटमा पनि ती कार्यक्रमहरुलाई निरन्तरता दिइएको बताए।

केही दिन पहिले आफू कामको सिलसिलामा क्यालिफोर्निया पुग्दा हलिउडका केही फिल्म लगानीकर्ता, निर्देशक र लेखकहरुसँग कुराकानी भएको प्रसंग सुनाउँदै राजदूत खतिवडाले नेपालका सुटिंगका लागि उनीहरु आकर्षित भएको पाएको बताएका थिए।

उनले नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको फिल्म फेस्टिभलले नेपाली भाषा, संस्कृति, सभ्यता र परम्परालाई विश्वसामु परिचित गराउन योगदान दिने विश्वास पनि व्यक्त गरेका थिए।

सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीको अध्यक्षतामा सम्पन्न भर्चुअल उद्घाटन कार्यक्रममा मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका अध्यक्ष सनील साह, सल्लाहकार हरिबोल भण्डारी, एनआरएनएका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ, पूर्वअध्यक्ष डा.केशव पौडेलले फिल्म फेस्टिभलको सफलताको शुभकामना व्यक्त गरेका थिए।

मेरिल्याण्ड राज्यसभाका सदस्य नेपाली मूलका ह्यारी भण्डारीले आफू पहिलोपल्ट नेपाली मूलको अमेरिकीका हैसियतले राज्यसभामा प्रतिनिधित्व गर्दा आफ्नो साथमा नेपालीहरुको इतिहास, संस्कृतिका अनेकौं कथाको प्रतिनिधित्व गरेको अनुभव गरेको बताउँदै नेपाली अमेरिकनका कथाहरुलाई समेटेर फिल्महरु बनुन र प्रदर्शित होऊन् भन्ने शुभकामना व्यक्त गरे।

कार्यक्रममा बनाका अध्यक्ष सुबोधविलास पन्त, प्रवासी नेपाली मञ्च,अमेरिकाका अध्यक्ष प्रभु थापा, इन्जाका अध्यक्ष गुणराज लुइटेल, परशुराम भण्डारी र पाण्डव खत्रीसहितले फिल्म फेस्टिभलको सफलताको शुभकामना दिंदै नेपाली भाषा र संस्कृतिको उत्थानमा उल्लेखनीय पहल भएकोमा खुसी ब्यक्त गरेका थिए।

जुन १७ सांझदेखि जुन २० सम्म चल्ने यो फेस्टिभलमा नेपालीसहित विभिन्न भाषाका ३० फिल्महरु प्रदर्शित हुने र प्रष्पिर्धी फिल्महरुको मूल्यांकन गरी उत्कृष्ट फिल्महरुलाई पुरस्कृत गरिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *