वाग्मती सफाइ महाअभियान ४२३औँ हप्तामा

डिसी नेपाल
५ असार २०७८ १६:१०

काठमाडौं । पशुपति र शङ्खमूल क्षेत्रको वाग्मती किनारमा भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ४२३औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा भएको सफाइमा छ अभियानकर्मीले सफाइ गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् ।

पशुपति क्षेत्रको सफाइमा अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौं महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, अभियानकर्मी केशवप्रसाद पुडासैनी, चक्रबहादुर चन्द, दुर्गा रावल र समितिका सञ्चालक सदस्य खरेलको सक्रियता थियो ।

शवदाहका दाउरा र बाँस पशुपति क्षेत्रको वाग्मती किनारमा

पशुपति क्षेत्रमा कोरोनाबाट निधन भएका लगायतको दाहसंस्कार गर्ने क्रम निरन्तर चलेकाले त्यस क्षेत्रको सफाइ अभियानलाई पनि निषेधाज्ञाका बाबजुद निरन्तरता दिइएको सफाइ महाअभियानले जनाएको छ । पशुपति क्षेत्रमा शव जलाएपछिका दाउरा र बाँस पनि घाट क्षेत्रमा फालेको पाइएको सफाइ अभियानकर्मीले जनाएका छन् ।

पशुपति क्षेत्रमा पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर मात्र सफा देखिने गरेको अभियानकर्मीको गुनासो छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले सफाइ कर्मचारी बिरामी परेकाले सफाइमा प्रभाव परेको जानकारी दिएको अभियानकर्मी खरेलले सुनाए ।

यसैगरी शङ्खमूल क्षेत्रमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । सफाइमा त्यस क्षेत्रका टोल सुधार समिति र अभियानकर्मीको सक्रियता थियो । विष्णुमती सफाइ अभियानको ३५५औँ हप्तामा टोखा नगरपालिका–९ मनमैँजु पुलबाट शिवमन्दिरसम्म वृक्षरोपण गरिएको छ । रिठो, पैँयुलगायत जातका ४० बिरुवा रोपिएको सफाइ संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । यस स्थानमा गत वर्ष पनि बिरुवा रोपिएकामा केही निर्दयीले उखेलेर फालेकाले पुनः रोप्नु परेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका निर्देशक डिलाराम सुवेदी, सफाइ अभियानकर्मी चक्रबहादुर चन्दलगायत त्यस क्षेत्रका विभिन्न टोल सुधार समितिको सक्रियता थियो । यसैगरी काठमाडौँ उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।

कोरोनाबाट बच्न सफाइ एवं भौतिक दूरी कायम गर्नु नै सबैभन्दा राम्रो उपचार हो भन्ने चेतना जगाएर धेरै स्थानमा सफाइ अभियानले जागरण फैल्याएको जनाइएको छ । निषेधाज्ञाका कारण सफाइ अभियानका लागि नदी किनारमा जान नसकेका अभियानकर्मीले यस्तो जागरण फैल्याउन सहयोग गरेका हुन् ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदीझैँ चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यकाबाहिर मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ ।

‘हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला भने नदी किनार नजीकै निवास भएका अभियानकर्मीले सफाइ महाअभियानलाई निरन्तरता दिएक्ँ छन्् । अन्य अभियानकर्मीले भने घर टोलअघिको सफाइलाई निरन्तरता दिएको महाअभियानले जनाएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *