वैशाखयता विपदका घटनामा ७३ जनाको मृत्यु, ४१ करोडको क्षति

डिसी नेपाल
६ असार २०७८ १७:३६

काठमाडौं। गएको वैशाखदेखि आइतबारसम्म विपदका घटनामा परी ७३ जनाको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि आइतबार असार ६ गतेसम्म देशमा ८२७ विपदका घटना भएका छन्।

यो अवधिमा २३ जना बेपत्ता भएका छन्। बेपत्ता हुने सबै सिन्धुपाल्चोकको हेलम्बुमा गत मंगलबार आएको बाढीमा परेकाहरु हुन्। यस्तै यो अवधिमा २०५ जना घाइते भएका छन्। विपदमा परी ३८८ चौपाए पनि मरेका छन्।

यी विपदका घटनाका कारण ४१ करोड ६७ लाख ४ हजार १९० रुपैयाँ बराबरको धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। ४१० आगलागीका घटनामा ११ जनाको मृत्यु भएको छ। यस्तै डढेलोका ६२ घटनामा ३ जनाको मृत्यु भएको छ भने चट्यांगका १०६ घटनामा २२ जनाको मृत्यु भएको छ।

जनावर आक्रमणका ४८ घटनामा १० जनाको मृत्यु भएको छ भने बाढीको ३८ घटनामा १० जनाको मृत्यु भएको छ। यस्तै पहिरोका ८३ घटनामा ८ जनाको मृत्यु भएको छ। अविरल वर्षाका ४६ घटनामा ३ जना, हावाहुरीका २९ घटनामा १ जना र सर्पदंशका ५ घटनामा ५ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *