कांग्रेस महाधिवेशन : के गर्दै छ संस्थापन इतर पक्ष ?

सम्भव सिंह ठकुरी
७ असार २०७८ १४:३५

काठमाडौं। शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजानिक गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा आफू अझै एक पटक सभापतिमा उम्मेद्वारी दिने भन्दै नेताहरुसँग छलफल गर्न थालेका छन्।

सभापति देउवाले शनिबार आफू निकटका प्रदेश एक र दुई, आइतबार बाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन्। देउवाले सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेतासँग छलफल गरिराखेका छन्।

तर संस्थापन इतर सभापति देउवाको विरुद्धमा सभापति लड्ने आकांक्षी धेरै देखिएता पनि सक्रियता कम र अलमलमा परेको देखिन्छ। देउवाइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगाएतका नेताहरु सभापतिको आकांक्षीमा देखिएका छन्।

यसरी सभापति देउवाले आफ्नो सक्रियता बढाइरहँदा संस्थापन इतर के गर्दै छन् त? यो प्रश्न निकै पेचिलो बनेको छ। कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीका अनुसार अहिले संगठित छलफल भएको छैन तर केही साथीहरुबीच छलफल चलिरहेको छ।

‘अहिलेको चुनौती सामाना गर्न र पार्टीलाई एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता हो,’ केसीले डिसी नेपालसँग भने, ‘अब सहमतीय नेतृत्व चयन गर्नुपर्छ। तर सभापतिाले केही गुटगत छलफल सुरु गरेर सहमतिको बाटो छोडिसक्नु भयो।’

सिंगो पार्टीको सभापति भएपछि सामूहिक छलफल गर्नुपर्नेमा सीमित मान्छेमात्र बसेको भेलाले पार्टीको हित नहुने उनको भनाइ छ।

‘हामीले भदौमा महाधिवेशन त गर्नै पर्छ। त्यसका लागि कोरोना भाइरस, प्राकृतिक विपत्ति राष्ट्रिय राजनीतिको अन्यौलता सबै चुनौती बनेको छ,’ उनले भने, ‘यसको सहज निकाश खोज्न र महाधिवेशन कसरी गर्ने हो त्यो विषयमा सामुहिक छलफल आवश्यक छ।’

उनका अनुसार पार्टी अहिले जुन गतिमा चल्नुपर्ने त्यो गतिमा चल्न नसक्नुको सबैभन्दा प्रमुख दोषी सभापति देउवा हुन्। देउवाइतर पक्षमा सभापतिको आकांक्षी झनै धेरै देखिनथालेको छ,अधिवेशनमा देउवालाई नै सहज होला नि? भन्ने प्रश्नमा केसीले भने, ‘प्रजातान्त्रिक पार्टीमा धेरै आकांक्षी हुनु स्वभाविक प्रकिृया पनि हो। पार्टी अहिले सहि बाटोमा पनि छैन त्यसकारण समकालीन साथीहरु आकांक्षी हुन्छन् भने म किन नहुने? भन्ने एउटा प्रश्न हो।’

तर अधिवेशनसम्म एउटा समूह सभापति देउवासँग सहमति राख्ने र अर्को समूह उनीसँग विमति राख्ने दुई समूहमात्र हुने केसीको भनाइ छ। केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार संस्थापनइतर पक्षका नेताहरुबीच पनि अनलाइन र भर्चुअल माध्यमबाट निरन्तर छलफल र संवाद चलिरहेको छ।

‘पहिला हामी अधिवेशनको सुनिश्चितामामै जोड दियौं। शुक्रबाार नयाँ कार्यतालिका आएसँगै अब त्यतै तिर ध्यान केन्द्रीत भएको छ,’ उनले भने।

‘परम्परागत सोचाइले सभापतिको आकांक्षी दुईजना मात्र हुनुपर्छ भन्ने होइन। पार्टीलाई प्रभावकारी र सशक्त बनाउछु भनेर धेरैजना नेतृत्वको आकांक्षा लिनु र तयार हुनु लोकतान्त्रिक अभ्यास हो,’ घिमिरेले डिसी नेपालसँग भने, ‘तर इतरपक्षबाटनै धेरै आकांक्षी हुँदा कस्तो परिणाम हुन्छ भन्ने मुख्य कुरा हो। मलाई लाग्छ नेतृत्वकर्ता यो विषयमा सचेत पनि छन्।’

उनका अनुसार रामचन्द्र पौडेलले सभापतिमै लड्छु भनेर भनेका त छैनन् तर इच्छुक भने देखिन्छ। ‘अब उहाँ नै सभापति लड्ने हो भने अरु नेताहरुसँग कसरी समझदारी गर्नुहुन्छ त्यसमै भरपर्छ’, घिमिरेले भने।

‘देशभरीका नेताकार्यकर्ताको मनोविज्ञान बुझ्ने हो भने सबै जना नेतृत्व परिवर्तन र पुस्तान्तरणको पक्षमा देखिएका छन्। सकेसम्म दोस्रोपुस्ताका नेताहरुलाईनै सभापति बनाउने हाम्रो प्रयत्न हुन्छ,’ उनले भने, ‘अहिलेको क्रियाशील सदस्यमा १८ देखि ४० बीचको उमेर समूह ३३ प्रतिशत रहेका छन्। ४१ देखि ६० उमेर समूहका ३७ प्रतिशत रहेका छन्। यो भनेको १८ देखि ६० वर्षसम्मको उमेर समूहको क्रियाशील सदस्यता ७० प्रतिशत हो।’

यसरी दुईतिहाई महाधिवेशन प्रतिनिधि पनि सोही उमेर समूहका आउने भएकाले उक्त उमेर समूहका नेता वा दोस्रोपुस्ताकै नेताले सभापतिमा दावा गर्दा प्रभावकारी हुने उनको तर्क छ।

अर्का केन्द्रीय सदस्य दीपक गिरीका अनुसार पनि छलफल र संवाद चलिरहेको छ। सोमबार उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालालगायतका नेताहरु भेटघाट भएकाे छ।

‘नेतृत्वको आकांक्षी धेरै देखिनथालेका छन्, यो अनौठो कुरा होइन,’ उनले भने, ‘संस्थापन पक्षबाट पनि तीन जना देखिनुभएको छ। इतर पक्षबाट पनि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला देखिनु भएको छ।’ तर संस्थापनइतर पक्षबाट सहमतिमा नै सभापतिको उम्मेद्वार घोषणा हुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *