बागमतीमा मुख्यमन्त्री नपाएपछि प्रचण्डमाथि श्रेष्ठको प्रश्न: ‘सरकारको नेतृत्व बाँडफाँट कुन आधारमा गरियो?’
काठमाडाैं। बागमती प्रदेश सरकारको नेतृत्व भागबन्डाप्रति असन्तुष्टि जनाउँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रश्न उठाएका छन्।
बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपाको भागमा मुख्यमन्त्री नपरेपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश व्यक्त गरेका हुन्। उनले नेतृत्वलाई प्रश्न गर्दै भनेका छन्, “प्रदेश सरकारको नेतृत्व बाँडफाँट कुन-कुन आधारमा गरियो? त्यसको जवाफ भने नेतृत्वले जनतालाई दिनैपर्छ।”
श्रेष्ठले बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि आफ्नो मुख्य दाबी रहँदै आएको स्पष्ट पारेका छन्। तर, सरकारको भागबन्डामा मुख्यमन्त्री नै अर्को दललाई परेपछि उनले मन्त्री बन्न आफू इच्छुक नरहेको पनि प्रस्ट पारे। “मेरो दाबी सुरुदेखि अहिलेसम्म मुख्यमन्त्रीमा थियो, एकथान मन्त्रीका लागि मेरो कुनै दाबी छैन,” उनले भनेका छन्।
यस्तै, हाल कम्युनिस्ट आन्दोलन निकै कमजोर अवस्थाबाट गुजरिरहेको उल्लेख गर्दै उनले रूपान्तरणसहितको कम्युनिस्ट एकताका लागि एमालेसँग मिलेर प्रदेश सरकार बनाउनु उपयुक्त हुने धारणा व्यक्त गरे। यद्यपि, सरकार गठन र नेतृत्व भागबन्डाको आधार भने ठोस, वस्तुनिष्ठ र वैज्ञानिक हुनुपर्ने उनको तर्क छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment