दक्षिण कोरियाली शेयर बजारमा भूकम्प, ‘कोस्पी’ ११ प्रतिशतभन्दा बढीले ओरालो
काठमाडौं । मङ्गलबारको दिन दक्षिण कोरियाली शेयर बजारमा लगानीकर्ताहरूका लागि निकै निराशाजनक साबित भएको छ। कारोबार सुरु हुनासाथ बेन्चमार्क सूचक ‘कोस्पी’ मा भारी गिरावट देखियो र कारोबार समय बढ्दै जाँदा गिरावट अझ तीव्र बन्दै गयो।
कारोबारको मध्याह्नसम्म (करिब ११ बजे) दक्षिण कोरियाली सूचक कोस्पी ११ प्रतिशतभन्दा बढीले ओरालो लागेर कारोबार भइरहेको थियो। विश्वव्यापी रूपमा सेमीकन्डक्टर (चिप) निर्माता कम्पनीहरूको शेयरमा आएको ठूलो गुरावटका कारण दक्षिण कोरियाली शेयर बजारमा यो हाहाकार मच्चिएको हो।
चिप कम्पनीहरूको शेयरमा आएको तीव्र गिरावटले कोस्पीको यात्रामा ठूलो धक्का पुर्याएको छ। हप्ताको दोस्रो कारोबार दिन मङ्गलबार कोस्पी अघिल्लो कारोबार बन्द हुँदाको ६,७५५.७५ विन्दुको तुलनामा घटेर ६,४०० विन्दुमा खुलेको थियो। त्यसपछि थप घट्दै यो सूचक ५,९९२.९१ को विन्दुसम्म झरेको थियो।
दिग्गज कोरियाली चिप निर्माता कम्पनीहरूको शेयर मूल्य हेर्दाहेर्दै खस्किएको थियो। चीनका चिप निर्माता कम्पनीहरूबाट बढ्दो प्रतिस्पर्धा र ‘एसके हाइनिभक्स’ को शेयरमा १२ प्रतिशतभन्दा बढीको भारी गिरावट आएपछि समग्र बजारमा दबाब बढेको हो।
दक्षिण कोरियाको विशाल चिप बजारमा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिभक्सले आधाभन्दा बढी हिस्सा ओगट्छन्। यी दुवै विशाल कम्पनीहरूको शेयरमा एकैसाथ गिरावट आउनाले सिङ्गो कोरियाली बजारमा भूकम्पको स्थिति सिर्जना भएको हो।
चिप स्टकको यो भारी गिरावटको असर दक्षिण कोरियामा मात्र सीमित रहेन। यस क्षेत्रमा ठूलो भूमिका खेल्ने ताइवान र जापानका शेयर बजारहरूमा पनि यसको प्रत्यक्ष प्रभाव देखियो। जापानको निक्केई-२२५ र ताइवानको ताइएक्स सूचक पनि ४ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।
चिप स्टक क्र्यासको मुख्य कारण उच्च मूल्याङ्कन सम्बन्धी चिन्ताका बीच चिप निर्माता कम्पनीहरूको शेयरमा लगानीकर्ताहरूले तीव्र रूपमा नाफा सुरक्षित गर्न खोज्नु हो। विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा भइरहेको ठूलो लगानीको निरन्तरता र प्रतिफललाई लिएर लगानीकर्ताहरूमाझ चिन्ता बढेको छ।
विश्वव्यापी रूपमा एआई पूर्वाधारमा भइरहेको लगानीको गति सुस्त हुन सक्ने र चिप उद्योगमा प्रतिस्पर्धा तीव्र बन्दै गएको आशङ्काले गर्दा प्रविधि क्षेत्रका लगानीकर्ताहरू शेयर बिक्री गरेर बाहिरिन थालेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment